डा.प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी अदालत कुद्ने चौधरीलाई झड्का


२५ कार्तिक २०७५, आईतवार
dr sushil


काठमाडौं, २५ कात्तिक । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेललाई आर्थिक तथा प्रशासनिक अधिकार सहितको निमित्त सचिवको जिम्मेवारी दिएको छ । उपप्रधानमन्त्री यादवले आइतबार मन्त्रीस्तरिय निर्णय गर्दै उनलाई निमित्त सचिवको जिम्मेवारी दिएका हुन् । डा प्याकुरेलले निमित्त सचिवको पत्र बुझिसकेका छन् । उनलाई अर्को ब्यवस्था नभएसम्मका लागि निमित्त सचिवको रुपमा कामकाज गर्ने गरी जिम्मेवारी दिइएको छ ।

dr sushil


गएको असोज २८ को मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयकी सचिव डा पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरेको थियो । मुख्यसचिव लोकदर्शन रेग्मीले उनलाई सरुवाको पत्र दशैंपछि कात्तिक ६ मा दिएका थिए । सरुवाको पत्र पाएपछि रमाना लिनुपर्नेमा नलिई उनले कामकाज गर्दैआइन् । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले डा चौधरीलाई रमाना बुझ्न अनुरोध गर्दा पनि कात्तिक १२ मा कार्यकक्षमा तालाबन्दी गरिएको थियो । उनले सरकारले गरेको सरुवाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिन् ।

सर्वोच्च अदालतले कात्तिक १६ मा उनलाई सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दियो । तर उनी सर्वोच्चले मन्त्रिपरिषद कार्यालय र स्वास्थ्य मन्त्रालयमा पत्र नपठाउँदै मन्त्रालयमा गएर कात्तिक १८ मा जबर्जस्ती हाजिर भएकी थिइन् । अन्तरिम आदेश मन्त्रिपरिषद्मा पुगेपछि मन्त्रिपरिषदको पत्र लिएर मन्त्रीसँग पेश गरी हाजिर हुनुपर्नेमा उनी पत्रविना नै हाजिर भएकी थिइन् । जसका कारण उनी विवादमाथि झन् विवादमा परिन् ।

सरकारलाई नै चुनौती दिने सचिव डा. चौधरीसँग काम गर्न नसक्ने जानकारी मन्त्री उपेन्द्र यादवले गराएपछि प्रधानमन्त्री केपी ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई डा. प्याकुरेललाई निमित्त सचिवको पत्र दिन निर्देशन दिएका थिए । मुख्यसचिवकै आडमा डा. चौधरीले रमाना नबुझेको र सर्वोच्च अदालतमा रिट दायर गरी अन्तरिम आदेश ल्याएको आरोप पनि छ । यद्यपि प्रधानमन्त्रीको निर्देशनपछि मुख्यसचिव रेग्मीले स्वास्थ्यसचिवका रुपमा डा. चौधरीलाई सरकारले नचिन्ने प्रतिक्रिया दिएर पानीमाथिको ओभानो हुन खोजेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७