कार्यकाल छँदै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत राईलाई फिर्ता बोलाइँदै


२६ कार्तिक २०७५, सोमबार
amrit rai

काठमाडौं, २६ कातिक । सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाउने भएको छ ।

amrit rai

आइतबार साँझ बसेको मन्त्री परिषद बैठकले राजदूत राईलाई फिर्ता बोलाउने निर्णय गरेको हो । राजदूत राईको कार्यकाल अझै १ बर्ष बाँकी भए पनि उनलाई अर्काे कुनै महत्वपूर्ण जिम्मेवारी दिन फिर्ता बोलाइएको जनाइएको छ ।

राजदूत राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका लागि नेपाली नियोगको प्रमुख बनाइने सम्भावना छ । उनले यसअघि सो नियोगमा उपनियोग प्रमुखका रुपमा काम गरिसकेका छन् ।

परराष्ट्र मन्त्रालयको सहसचिवका रुपमा राजदूत बनाइएका राई मन्त्रालयभित्र असल, इमान्दार र धेरै चलखेल नगर्ने कुटनीतिज्ञका रुपमा चिनिन्छन् ।

फिर्ता बोलाउने निर्णय गरिएका राजदूत राईलाई अर्काे मन्त्री परिषदले न्यूयोर्कका लागि नियोग प्रमुख बनाउने निर्णय गर्नासाथ उनी जिम्मेवारी सम्हाल्न जान सक्छन् । राष्ट्रसंघीय नियोगका लागि नेपालमा संसदीय सुनुवाई र राष्ट्रसंघबाट ‘एग्रिमो’ दुबै आवश्यक हुँदैन ।

राईलाई फिर्ता बोलाउने निर्णय गरेको आइतबार साँझको मन्त्री परिषद बैठकले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाललाई राजदूत बनाउने निर्णय गरेको थियो ।

यीमध्ये आचार्य श्रीलङ्काका लागि पूर्व नेपाली राजदूत हुन् भने पाण्डे साउदी अरबका लागि पूर्व नेपाली राजदूत । यस बाहेक आचार्य नेपाल–भारतबीचका सन्धि सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठन गरिएको प्रबुद्ध व्यक्ति समूहका नेपाली पक्षका सदस्य पनि हुन् । ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७