पर्यटकीय गुरुयोजना अन्तिम चरणमा


२६ कार्तिक २०७५, सोमबार
souraha

चितवन, २६ कातिक । पर्यटकीय नगरी सौराहालाई केन्द्रविन्दु मानेर जिल्लाको समग्र पर्यटकीय क्षेत्र जोड्ने गरी थालिएको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

souraha

आगामी २० वर्षमा सौराहासहित जिल्लाका पर्यटकीय गन्तव्यस्थलहरूको विकास कार्यलाई गुरुयोजनामा समावेश गरिएको छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले दुई वर्षअघि थालिएको गुरुयोजना निर्माणको काम फागुन ७ गते सार्वजनिक गर्ने तयारी गरिएको बताए । उनका अनुसार सौराहा आउने पर्यटकको बसाई लम्ब्याउने गरी पर्यटकीय पूर्वाधारको विकास गर्ने विषयमा गुरुयोजना केन्द्रित भएको छ । आउँदो ५, १०, १५ र २० वर्षमा के–कस्ता काम गर्ने भन्ने विषय गुरुयोजनामा समावेश गरिएको छ ।

क्षेत्रीय होटल संघका महासचिव राममणि खनालका अनुसार पर्यटन बोर्ड र क्षेत्रीय होटल संघको संयुक्त लगानीमा करीब रु २० लाख खर्च गरेर गुरुयोजना निर्माण गरिएको हो । सो क्रममा विभिन्न सरोकारवाला निकायसँग विस्तृत छलफल गरिएको छ ।

गुरुयोजनामा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरिने पर्यटकीय गतिविधिको विस्तार, पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास, पानीसँग सम्बन्धित क्रियाकलापको विकास, स्वदेशी र विदेशी क्षेत्रमा यहाँको पर्यटकीय महत्वको प्रचार प्रसारलगायतका विषय समावेश गरिएका छन् ।

माउण्टेन हेरिटेज प्रालिले गुरुयोजना निर्माणको काम गरिरहेको छ । प्रालिका विज्ञ विश्व सुवेदीका अनुसार सौराहा क्षेत्र शहरीकरण हुँदै गएकाले पर्यापर्यटनतर्फ लैजानुपर्ने गुरुयोजनामा उल्लेख छ । सौराहाका होटलमा प्रकृतिसँग मिल्दाजुल्दा एकै खालका रङ्ग प्रयोग गर्ने, हरियाली बढाउने जस्ता विषय गुरुयोजनामा उल्लेख छ ।

गुरुयोजनामा चितवनको प्रवेशद्वार सौराहालाई मानेर उकालो पदयात्राका लागि उपरदाङगढी, सिराइचुली जस्ता पहाडी क्षेत्र, धार्मिक पर्यटनका लागि देवघाट, मौलाकालिका, कृषि र पर्यापर्यटनका लागि माडी क्षेत्र, सूर्याेदय र दुर्लभ वन्यजन्तु अवलोकनका लागि सौराहासँगै पटिहानी, जगतपुर र मेघौली क्षेत्रको विकास गर्नुपर्ने उल्लेख छ ।

सुवेदीले गुरुयोजनाअनुसार काम गर्न सकेमा चितवनमा पर्यटकको बसाई लम्बिने र यहाँको पर्यटकीय क्षेत्रको विकास हुने बताए । हाल वार्षिक दुई लाख हाराहारी पर्यटक चितवन आउने गर्दछन् ।

यो संख्यालाई पाँच लाख पुर्‍याउने गरी गुरुयोजना निर्माण गरिएको छ । जिल्लामा १५० भन्दा बी पर्यटकीय होटल रहेका छन् । तीमध्ये सौराहामा ११० रहेका छन् । पछिल्लो समय जिल्लामा होटल थप्ने क्रम बढ्दै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७