चलचित्र निर्माता धिमालको निधन


२६ कार्तिक २०७५, सोमबार
Gehendra Dhimal Photo1

काठमाडौं, २६ कातिक । निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र माइतीघरका छाँयाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो ।

Gehendra Dhimal Photo1

हृदयाघातका कारण छाँयाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो । उनले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गरेका छन् । विसं २००३ मा काठमाडौँको आलापोटमा जन्मिएका धिमाल निधन अघिसम्म पनि नेपाली चलचित्र क्षेत्रको उन्ननयनमा चिन्तन गरिरहेका थिए ।

कात्तिक १६ गते शुक्रबार उनले राजधानीको उत्तर पूर्वी भेगका रमणीय स्थललाई समेटेर चलचित्र छायाङ्कान स्थल बनाउने विषयमा छलफल कार्यक्रम आयोजना गरेको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले जानकारी दिए ।

गोकर्णेश्वर महादेव मन्दिर, राष्ट्रिय शहीद स्मारक, तारेभीर, श्वेतवाराही, सुन्दरीजल, सुन्दरीमाई, शिवपुरी, कागेश्वरी धाम, लोकतान्त्रिक शहीद उद्यान गागलफेदी, चिसापानी, गोल्सेभञ्ज्याङ, चौकीभञ्ज्याङ, जहरसिंहपौवा, नगरकोट, चाँगुनारायणलगायत क्षेत्रलाई समेटेर चलचित्र छायाङ्कन स्थल बनाउने निर्माता धिमालको सपना थियो ।

धिमालको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उनको पार्थिव शरीरमा प्रदेशसभा सदस्य फुयाँलले राष्ट्रिय झण्डा ओढाइ सम्मान प्रकट गरेका थिए । चलचित्र विकास बोर्ड, चलचित्र छायाँकार संघलगायत संस्थाले पनि आ–आफ्ना झण्डा ओढाइ उहाँप्रति अन्तिम श्रद्धाञ्जली प्रकट गरेका थिए ।

स्व धिमालका दुई छोरा र एक छोरी छन् । उनको अन्तिम इच्छा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुने भएकाले त्यो पूरा गर्न लागिपर्ने प्रदेशसभा सदस्य फुयाँलले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७