स्वास्थ्य मन्त्रीमाथि खोजी खोजी यादव थरकालाई जिम्मेवारी दिएको आरोप


२७ कार्तिक २०७५, मंगलवार

काठमाडौं, २७ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्रालय अन्तर्गतका विभागको महानिर्देशकदेखि सिंहदरवार बैद्यखाना र आयुर्वेद अनुसन्धान तालिम केन्द्र, नरदेवी अस्पतालको प्रमुखमा यादववाद लागू गर्न खोजेका छन् ।

ती संस्थामा रहेका मधेशी समुदायका प्रमुखलाई समेत  हटाएर उनले यादवहरु खोजीखोजी नियुक्ति र सरुवा गर्न लागेका छन् ।

HealthMinistry 4


आयुर्वेद विभागको महानिर्देशक वासुवेद उपाध्यायलाई हटाएर डा. श्यामबाबु यादवलाई ल्याउन लागेका छन् । उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

हाल नरदेवी आयुर्वेद अस्पतालका प्रमुख डा. श्यामबाबु यादवले बिहारको सितामढीको एक कलेजको आइएसीको नक्कली प्रमाणपत्रका आधारमा ब्याचलर अफ आयुर्वेद मेडिसिन सर्जरी(बीएमएस) अध्ययन गरी एमडी समेत गरेको खुलेको छ । उनले नेपालमा आयुर्वेद सहायक अध्ययन गरिरहेको समयमा भारतको बिहारमा विज्ञान बिषयमा आइएससी अध्ययन गरेको देखिएको छ ।

जसका बारेमा अख्तियारले अनुसन्धान गरिरहेको छ । उनलाई आयुर्वेद विभागको महानिर्देशक बनाउने निश्चित भइसकेको स्रोतले बताएको छ ।

उपाध्याय आयुर्वेद समूहका बरिष्ठ चिकित्सक हुन् । तर उनलाई हटाई प्रमाणपत्र नै नक्कली भएका श्यामबाबु यादवलाई नियुक्ति गर्न लागिएको छ । उनी आयुर्वेद विभागको महानिर्देशक नभए आयुर्वेद अनुसन्धान तालिम केन्द्र कीर्तिपुरको निर्देशक बन्ने निश्चित भएको भन्दै हिंड्न थालेका छन् ।

आयुर्वेद अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक डा. सिद्धार्थ ठाकुर छन् । मन्त्री यादवले पद सम्हाल्नासाथ नरदेवी अस्पतालका प्रमुख डा. सबरी साहलाई हटाएर श्यामबाबु यादवलाई पठाएका थिए ।


त्यस्तै नरदेवी अस्पतालको प्रमुखमा भर्खरै बढुवा भएका डा. रामआधार यादवलाई ल्याउने तयारीमा मन्त्री यादव छन् । उनी भर्खरै ११ तहमा बढुवा भएका हुन् ।

आठौं तहका काभ्रेको आयुर्वेद केन्द्रमा कार्यरत डा. सुरेन्द्र यादवलाई सिंहदरवार बैद्यखानाको निर्देशकको जिम्मेवारी दिन लागिएको छ । समावेशीको नारा लगाउने संघीय समाजवादी फोरमका अध्यक्ष तथा मन्त्री यादवले मधेशी समुदायकैलाई पनि हटाएर यादवलाई मात्र जिम्मेवारी दिन लागेका छन् ।

चिनियाँ उपचार पद्धति अकुंपन्चरलाई पनि आयुर्वेद समूह नै हो भन्ने तर्क गर्दैआएका प्रदीप केसी पनि आयुर्वेद विभागको महानिर्देशक बन्न नेकपाका नेताहरुकोमा दौडधूप गरिरहेका छन् ।

अकुपंचर आयुर्वेद होइन भनेपछि उनीहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यो मुद्दा टुंगो लगेपछि अकुपंचर तालिम लिएका केसी र रामआधार यादव ११ तहमा बढुवा भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७