पर्यटकीय गन्तव्यमा सूचीकृतसँगै पुम्दीकोटवासी उत्साहित


२८ कार्तिक २०७५, बुधबार
pokhara 2

पोखरा, २८ कातिक । पोखरा महानगरपालिका–२२ पुम्दीकोटलाई सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेसँगै यस क्षेत्रको विकास हुने आशा जगाएको छ ।

pokhara 2

पर्यटकीय गन्तव्य बनाउन पुम्दीकोटमा शिव भगवान्को १०८ फिट अग्लो मूर्तिसहितका संरचना बनाउन थालिएको छ । यहाँबाट पोखरा उपत्यकासहित हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ ।

पुम्दीकोटको सम्भावनालाई उजागर गर्न संरचना निर्माण गर्न लागिएको सो अभियानका संयोजक एवं पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

‘सरकारले यसलाई प्रवद्र्धन गर्नुपर्ने गन्तव्यमा सूचीकृत गरेपछि हामी उत्साहित भएका छौं’, उनले भने । पुम्दीकोट पोखराको मुख्य बजारक्षेत्रबाट झण्डै १३ किमी दक्षिण पश्चिममा रहेको छ ।

यसअघि यहाँ २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित २० रोपनी जग्गा दान प्राप्त भएको थियो । अभियानलाई साकार पार्न उद्योगपति कमल जैनले महादेवको मूर्ति निर्माण गर्न सहयोग गर्ने भएका छन् ।

वीरगञ्जका उद्योगपति मुरलीधर रुङ्गटा र समाजसेवी एवं अभियानका संयोजक बरालले रु एक-एक करोड सहयोग गर्नुभएको छ । त्यस्तै अन्य व्यक्तिले रु २५ लाख सहयोग गरेका छन् ।

‘गुरुयोजना तयार गरी त्यसअनुरुप काम अघि बढाएका छौं’, समितिका सहसचिव प्रकाश बरालले भने । गुरुयोजनाअनुसार सबै काम सम्पन्न गर्न रु ४० करोड लाग्ने अनुमान गरिएको छ । मूर्ति र त्यसको आधार निर्माण गर्न मात्र रु १८ करोड लाग्ने बराल बताउँछन् ।

मूर्तिको वरिपरि १०८ शिवलिङ्ग निर्माण गरिनेछ । परिसरमा १०८ स्वर्गद्वारी सिँढी, रुङ्गाटा बैकुण्ठ हल, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थललगायत संरचना निर्माण गरिने छ ।

पुम्दीकोटबाट फेवातालसहित पोखरा, अन्नपूर्ण, माछापुच्छ«ेलगायतका हिमशृङ्खला एकसाथ देख्न सकिन्छ । प्रकृतिको अनुपम दृष्यले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको पोखरा महानगरपालिका–२२ का वडा सदस्य मात्रिका बराल बताउँछन् ।

पूर्वाधार निर्माण गर्न आर्थिक वर्ष २०७३÷७४ मा पर्यटन मन्त्रालयले रु २० लाख विनियोजन गरेको थियो । चालु आवमा मन्त्रालयले रु ८० लाख विनियोजन गरेको छ । पोखरा महानगर र समितिबीच ५०-५० प्रतिशत सहभागिता कार्यक्रमअन्तर्गत रु छ करोडको सम्झौता भएको छ । चालु आवमा रु तीन करोडको काम भइरहेको छ । सो काम तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

मूर्ति निर्माणस्थल र त्यस आसपासमा पूर्वाधार विकासका क्रममा विगतमा पनि स्थानीय विकास मन्त्रालय, साविक जिल्ला विकास समिति, खानेपानी तथा सुपरीवेक्षण कार्यालयलगायतले सहयोग गरेको थियो ।

समुन्द्र सतहदेखि झण्डै एक हजार ५०० मिटरको उचाइमा रहेको पुम्दीकोटमा दृष्यावलोकनका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा भ्यूटावर निर्माण गरिएको छ । पोखराको छोरेपाटनदेखि पुम्दीकोटसम्म पुग्ने मार्गलाई व्यवस्थित गर्ने समितिको योजना छ । पर्यटकलाई लक्ष्य गरी चार पदमार्गलाई समेत व्यवस्थित गर्न लागिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७