अधिकृतदेखि सहसचिवसम्मको विज्ञापन खोल्दै लोकसेवा, कर्मचारी संख्यामा अन्योल


२८ कार्तिक २०७५, बुधबार
loksewa

काठमाडौं, २८ कात्तिक । सरकारको आग्रहमा विज्ञापन रोकेको लोकसेवा आयोगले मंसिर अन्तिम साता विभिन्न पदको विज्ञापन खुलाउने भएको छ ।

loksewa

नियमित कार्यतालिका अनुसार असोजमा खोल्नुपर्ने विज्ञापन सरकारको आग्रहमा आयोगले दुई महिना पछि सारेको थियो ।

नयाँ कार्यतालिकाअनुसार मंसिर २६ गते विज्ञापन खोल्ने गरी आयोगले तयारीको काम गरिरहेको स्रोतले जानकारी दिएको छ । मन्त्रालय र निकायहरूमा आवश्यक पर्ने कर्मचारी संख्याको विवरण मागिसकिएको आयोगका प्रवक्ता सहसचिव किरणराज शर्मा बताउँछन् ।

‘मन्त्रालयहरूले अहिलेसम्म कर्मचारी संख्याको विवरण पठाएका छैनन्,’ उनले भने, ‘मन्त्रालयहरूलाई विवरण पठाउन आग्रह गर्दै आयोगले पत्राचार गरिसकेको छ, जुन आयोगको नियमित काम हो ।’

मन्त्रालय तथा निकायहरूले आवश्यक कर्मचारी संख्याको विवरण पठाइनसकेकोले कति संख्यामा कुन तहका कर्मचारीको लागि विज्ञापन खोल्ने यकिन गर्न आयोगलाई समेत समस्या भइरहेको बताइएको छ ।

‘आयोगले कर्मचारी छनोट गर्ने काम गर्छ,’ उनले भने, ‘कर्मचारी माग गर्ने वा नगर्ने भन्ने मन्त्रालयहरूको कुरा हो । अझै महिना दिन जति समय भएकोले कर्मचारी माग गर्ने विवरण आउँछ होला ।’ आयोगले अधिकृतदेखि सहसचिवसम्मका पदका लागि विज्ञापन गर्न लागेको छ ।

संविधानमा प्रदेश लोकसेवा गठन गर्ने व्यवस्था भए पनि संघीय संसदले आधार र मापदण्ड तय नगर्दा प्रदेश लोकसेवा गठन हुन सकेको छैन । प्रदेश लोकसेवा गठन नहुँदासम्म प्रदेश र स्थानीय तहमा जाने कर्मचारी पनि आयोगले नै छनोट गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७