पर्यटन प्रवधर्न गर्न गुरुयोजना


२९ कार्तिक २०७५, बिहीबार
ilam 1

इलाम, २९ कात्तिक । पर्यटन प्रवधर्न गर्ने उद्देश्यले सिद्धिथुम्काका बासिन्दाले गुरुयोजना बनाउन लागेका छन् । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल भए पनि प्रचार हुन नसकेकाले गुरुयोजना नै बनाएर उनीहरूले काम अघि बढाउन लागेका हुन् । 

ilam 1

हालै सम्पन्न ‘सिद्धिथुम्का पर्यटन महोत्सव’ पछि गुरुयोजना निर्माण कार्यान्वयन गरिने महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईंले जानकारी दिए । यस क्षेत्रमा रहेका १० पर्यटकीयस्थललाई आधार बनाएर योजना निर्माण गरिने भएको छ ।

‘प्रचार प्रसारका क्रममा यस क्षेत्रमा सडक निर्माण तथा विस्तारको कामदेखि पर्यटकीयस्थललाई आकर्षित बनाउने खालका काम गर्ने योजना ल्याउन लागेका हौं’, गुरागाईंले भने, ‘बजेटको आकार चाहिँ केही ठूलो होला जस्तो छ ।

हामीले यसका लागि देउमाई नगरपालिका र प्रदेश नं १ सरकारसँग समेत कुरा गरिसकेका छौँ ।’ सूर्योदय अवलोकन गर्न सकिने सिद्धिथुम्काका साथै सिद्धिदेवीस्थान, खान्द्रुङ गुफा, गुफाभित्र रहेका ५० मिटरभन्दा बढी लम्बाइका पाँच सुरुङहरू, अजम्बरे डाँडा, देवीथुम्का डाँडा, ५० मिटरजति अग्लो दुईतले पङेलुङ झरना, पाल्सेम डुब्लिङ गुम्बा, किराँतेश्वर शिवालय मन्दिरलगायत यहाँ अबिस्थित छन् ।

पर्यटन महोत्सव
‘आन्तरिक पर्यटनमा जुटौँ, समृद्ध सिद्धिथुम्का निर्माण गरौँ’ भन्ने मूल नाराका साथ यस क्षेत्रमा गएको कात्तिक २५ गतेदेखि २७ गतेसम्म ‘सिद्धिथुम्का पर्यटन महोत्सव’ आयोजना गरियो ।

जिल्लाको देउमाई नगरपालिका–७, साविक सिद्धिथुम्कामा गएको कात्तिक २५ गतेबाट शुरु भएको महोत्सवमा तीनै दिन छुट्टाछुट्टै कार्यक्रम गरिएको थियो ।

महोत्सवमा स्थानीयस्तरका सांस्कृतिक रहनसहन, जातीय झाँकी तथा स्थानीय खानाको समेत प्रदर्शन गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष गुरागाईले बताए ।

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ विसं २०६५ देखि गर्दै आइएको र महोत्सवमा करीब रु २० लाखको कारोबार भएको र बाह्य र आन्तरिक गरी दुई हजार ५ सय पर्यटकले महोत्वसव अबलोकन गर्नाका साथै पर्यटकीय क्षेत्रको अवलोकन गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७