आकर्षक मानिएको जलविद्युत् कम्पनीको शेयर बजार घट्दै

नेप्सेको तथ्याङ्कमा चिलिमे बाहेकका जलविद्युत् कम्पनीको अवस्था खराब


२९ कार्तिक २०७५, बिहीबार
chhilime 12

काठमाडौं, २९ कात्तिक । कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ ।

chhilime 12

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य रु २०० माथि रहेको छ । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् ।

शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीका शेयरमा समेत परेको छ । राम्रो भनिएका र ठानिएका कम्पनीको शेयरसमेत आधारभूत मूल्यको हाराहारीमा रहँदा त्यसले लगानीकर्तालाई नकारात्मक प्रभाव पारेको छ ।

कुनै समय जलविद्युत् कम्पनीको शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षणको थलो रहँदै आएको थियो । लामो समयदेखि ओरालो लागेको नेशनल हाइड्रोपावर कम्पनीको बजारमा प्रतिकित्ता शेयर रु ७७ मा खरीद बिक्री भएको छ ।

बुधबार सो कम्पनीको शेयर आधारभूत मूल्यभन्दा रु २३ कममा खरीद बिक्री भएको छ । यस्तै दिव्यश्वेरी हाइड्रोपावर कम्पनीको शेयरसमेत आधारभूत मूल्यभन्दा कममा खरीद बिक्री भएको छ । सो कम्पनीको प्रतिकित्ता शेयर रु ९७ मा खरीद बिक्री भएको स्टकको तथ्याङ्कले देखाएको छ ।

घट्दो बजारको प्रभाव खानीखोला हाइड्रोपावर कम्पनीलाई समेत परेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ९७ मा कारोवार भएको छ । आधारभूत मूल्यभन्दा तल झरेको सो कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्तालाई नकारात्मक प्रभाव परेको छ ।

चिलिमे जलविद्युत् कम्पनीको शेयर बाहेक अरु जलविद्युत् कम्पनीको अवस्था खराब रहेको नेप्सेको तथ्याङ्कले देखाउँछ । सरकारी स्वामित्वको चिलिमे कम्पनीको शेयर प्रतिकित्ता रु ६८८ मा कारोवार भएको छ ।

कुनै समय चिलिमे जलविद्युत् कम्पनीको शेयरमा पनि लगानीकर्ताको उल्लेख्य चासो रहने गर्दथ्यो । पछिल्लो दिनमा सो कम्पनीको शेयरमा समेत उच्च गिरावट आएको छ ।

स्टकका अनुसार अरुण काबेली जलविद्युत् कम्पनीको शेयर रु २१२, अरुण भ्याली हाइड्रोपावर कम्पनीको रु १२६, बरुण हाइड्रोपावर कम्पनीको शेयर रु १२१ मा खरीद बिक्री भएको छ । रु ५०१ मा थप सार्वजनिक निष्काशन गरेको बुटवल पावर कम्पनीको शेयर समेत घटेको छ ।

सो कम्पनीको शेयर प्रतिकित्ता रु ४६० मा खरीद बिक्री भएको छ । शेयर बजार ओरालो लाग्दा त्यसको प्रभाव छ्याङ्दी हाइड्रोपावरको शेयर रु १०८, कालिका पावर रु ११३, नेपाल हाइड्रो डेभलपर्स रु १२० मा खरीद बिक्री भएको छ ।

हिमालयन पावर पार्टनर रु २०५, ङादी ग्रुप पावर रु १२९, पञ्चकञ्या माई रु १२३, राधी विद्युत् कम्पनी रु १८० र रैराङ हाइड्रोपावरको शेयर प्रतिकित्ता रु १११ मा खरीद बिक्री भएको छ ।

यस्तै रिडी हाइड्रोपावरको शेयर रु १०५, सिनर्जी पावर डेभलपर्स रु १०० र युनाइटेड मोदीको प्रतिकित्ता रु १४३ मा खरीद बिक्री भएको छ । नेप्सेमा सूचीकृत सानिमा माई जलविद्युत् कम्पनीको कुनै तथ्याङ्क देखिएको छैन ।

धितोपत्र बोर्डमा १५ जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको तयारी गरिरहँदा दोस्रो बजारमा भने जलविद्युत् कम्पनीका शेयर निरन्तर ओरालो लागिरहेको छ ।

कात्तिक १६ गतेदेखि १९ गतेसम्म माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री ग¥यो भने बुधबारदेखि मध्य भोटेकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ४४ करोड बराबरको सीमित साधारण शेयर बिक्री शुरु गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७