प्रदेश सरकारप्रति बढ्दै दातृ निकायको चासो


३० कार्तिक २०७५, शुक्रबार
state 5 1

बुटवल, ३० कात्तिक । प्रदेश नम्बर–५ को विकास र समृद्धिका लागि विदेशी दातृ निकायले चासो देखाउन थालेका छन् ।

state 5 1

दातृ निकायका प्रतिनिधिहरुले के कस्ता क्षेत्रमा सहकार्य गरेर काम गर्न सकिन्छ भनेर प्रदेश सरकारसँग छलफल गरेका हुन् ।

उनीहरुले संघीयताको कार्यान्वयन, प्रदेश सरकारको सञ्चालनको अवस्थालगायत विषयमा समेत प्रदेश सरकारसँग छलफल गरेका छन् । सोही क्रममा मुख्यमन्त्री शङ्कर पोखरेलसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले बिहीबार मुख्यमन्त्रीको कार्यालयमा भेट गरेका छन् ।

भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम, समृद्धिका लागि प्रदेशको प्राथमिकता, नेपालको विकासमा अमेरिकाले गरेको सहयोगबारे छलफल भएको थियो ।

मुख्यमन्त्री पोखरेलले तीन तहको चुनावपछि प्रशासनिक पुनर्संरचनाले प्रशासनिक संघीयता कार्यान्वयन हुने र वित्तीय संघीयता कार्यान्वयन भएपछि संघीयता पूर्णरुपमा कार्यान्वयन हुने जानकारी राजदूत बेरीलाई गराएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

भेटमा मुख्यमन्त्रीले प्रदेश–५ ‘मिनी नेपाल’को रुपमा रहेको भन्दै यो प्रदेशमा हिमाल, पहाड र तराई रहेको र नेपालका अरू सबै प्रदेशका विशेषता रहेको मुख्यमन्त्रीले राजदूतलाई जानकारी गराए ।

शहरीकरणलाई व्यवस्थित गर्न र कृषि उत्पादनको बजारलाई सुनिश्चित गर्न महानगरीय पूर्वाधार विकासको नमूना अघि सारिएको, प्रदेशको गरिबी हटाउन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अघि सारिएको मुख्यमन्त्रीले जानकारी गराएका थिए ।

राजदूत बेरीले नेपालको संघीयता कार्यान्वयनमा अमेरिका सरकारले गर्नसक्ने सहयोगबारे जिज्ञासा राख्नका साथैे अमेरिकाले २५० वर्षदेखि संघीयताको अभ्यास गर्दै आएको र अझै धेरै गर्न बाँकी रहेको बताएका थिए ।

राजदूत भएर आएपछि पहिलोपल्ट लुम्बिनी भ्रमण गरेकोमा मुख्यमन्त्रीले पोखरेलले राजदूत बेरीलाई धन्यवाद दिएका थिए ।

त्यसैगरी बिहीबार नै मुख्यमन्त्रीलाई बेलायती सहयोग नियोग डीएफआईडी अन्तगर्तको रोजगारका लागि सीप कार्यक्रमका टोलीनेता बाल्जित भोराले भेट गरेका थिए ।

भेटमा रोजगार सिर्जना, सीप विकास र आर्थिक वृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यका लागि प्रदेश सरकारसँग मिलेर कार्यक्रम गर्नेबारे छलफल भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७