दोहोरो आवेदनले माथिल्लो तामाकोशीको शेयर बाँडफाँटमा समस्या
आवेदन दिएका सबैले ४० कित्ता शेयर पाउने
काठमाडौं, ३० कात्तिक । माथिल्लो तामाकोशीको शेयरका लागि आवेदन दिएका सबैले ४० कित्ताका दरले शेर पाउने भएका छन् ।
तर, शेयर बाँडफाँटको काममा भने केहि ढिलाइ हुने भएको छ । कतिपय पहिले शेयर भएकाहरुले दोहोर्याएर आवेदन दिएपछि दोहोरिएका आवेदन हटाउनका लागि बिक्री प्रबन्धक नागरिक लगानी कोषले आवेदन जाँच गरिरहेको छ ।
कोषका मर्चेन्ट बैंकिङ विभागका प्रमुख रोशनजंग कार्की आवेदन दोहोर्याएर दिएपछि समयमै सर्बसाधारणका लागि खुला गरिएको शेयरको बाँडफाँट गर्न नसकिएको बताउँछन् ।
यसअघि कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि सेयर निष्काशन गरेको थियो ।
सो समयमा आवेदन दिएकाहरुले फेरि तेस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरिएको शेयरमा दोहो¥याएर आवेदन दिएपछि त्यस्ता आवेदकलाई हटाउने काम भइरहेको छ । कार्कीका अनुसार अहिलेसम्म १२ हजारको हाराहारीमा त्यस्ता आवेदकलाई छानिसकिएको छ ।
कार्कीले यसअघिका आवेदकलाई डिम्याट अनिवार्य नगरिएको कारण अहिले छान्न समस्या भएको बताए । उनले भने, ‘डिम्याट भइदिएको भए सिस्टम आफैले त्यस्ता आवेदन लिदैनथ्यो । डिम्याट लागू नगरिएकाले दोहोरीको आवेदन छान्न झन्झट भइरहेको छ ।’
तेस्रो चरणको शेयरमा ३ लाख ४६ हजार १ सय ६६ जनाको ६ अर्ब ७० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कोषले मंसिरको पहिलो साता शेयर बाँडफाँट गर्ने गरी काम अघि बढाएको छ ।
यदि सो समयमा पनि नसकिए दोस्रो सातामा भने बाँडफाँड हुने कार्की बताउँछन् । कोषका अनुसार आवेदन दिएका सबैले ४० कित्ता पाउने र केहीले ५० कित्ता पाउने छन् । कम्पनीले कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणको लागि शेयर निष्काशन गरेको थियो । सो शेयर अहिलेसम्म बाँडफाँट हुन नसकेको हो ।