निर्मला बलात्कार-हत्या काण्ड : थप चारको पनि डीएनए रिपोर्ट नेगेटिभ


३० कार्तिक २०७५, शुक्रबार
Nirmala Hatya kanda

काठमाडौं, ३० कात्तिक । छोरीले न्याय पाउनेमा झिनो आशा लिइरहेका बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबा–आमालाई पछिल्लो डीएनए परीक्षणको नतिजाले थप निरास बनाएको छ ।

Nirmala Hatya kanda

निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका क्रममा डीएनए परीक्षणका लागि पठाइएका थप चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रहरीको विधिविज्ञान प्रयोगशालाले पठाएको रिपोर्टमा चारै जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अनुसन्धानका क्रममा शंकाको घेरामा परेका थप ४ जनाको डीएनए पनि नमिलेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए ।

प्रहरीले शंकाको घेरामा परेका चार जनाको कात्तिक १३ गते डीएनए नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो । प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट आएको डीएनए रिपोर्ट निर्मलाको स्वाबमा रहेको डीएनएसँग म्याच नभएको उनले अनुसन्धानका क्रममा थप अरु कसैमाथि शंकाको अवस्था आए फेरि पनि डीएनए परीक्षण गर्न सकिने बताए ।

यसअघि, प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष विष्टको डीएनए परीक्षण गर्दा मेल खाएको थिएन भने दिलिपसिंह विष्ट र चक्रदेव बडुको समेत डीएनए मेल खाएको थिएन ।

अहिले निर्मलाको हत्या भएको साढे तीन महिना पुगिसक्दा समेत सुरक्षाकर्मीले हत्यारा पत्ता लगाउन सकेको छैन । पटक–पटकको अनुसन्धानले पनि घटनाको निचोडमा नपुर्‍याएपछि निर्मलाका बुबा–आमा छोरीको न्यायका लागि धर्ना बसेका छन् । अहिले उनीहरु नै चिसोका कारण बिरामी परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७