सरकारी सुविधाबाट वञ्चित हुँदै मुटुरोगी


२ मंसिर २०७५, आईतवार
veri anchal hospital

बाँके २ मङ्सिर । उपचारका लागि भेरी अञ्चल अस्पतालमा आएका मुटुका बिरामी राज्यले दिने सेवाबाट वञ्चित भएका छन् । सरकारले कार्डियोलोजी विभागलाई सूचीकृत गर्न ढिलाइ गरेका कारण साविक मध्य तथा सुदूरपश्चिमाञ्चलका सयौँ मुटुरोगी सरकारी सेवाबाट वञ्चित भएका हुन् ।

veri anchal hospital

मुटुरोगका बिरामीलाई एक लाखसम्मको उपचारमा सहयोग गर्ने नीति राज्यको छ तर संस्था सूचीकृत नहुँदा उपचारका लागि भेरी अञ्चल अस्पतालमा आउने मुटुरोगका बिरामीले उक्त सेवा पाउन नसकेको अस्पतालले जनाएको छ ।

संस्था सूचीकृतका लागि भेरी अञ्चल अस्पतालले तीन महिनाअघि स्वास्थ्य मन्त्रालयमा रहेको सामाजिक सेवा तथा नर्सिङ महाशाखामा पत्र पठाए पनि अहिलेसम्म दर्ता नभएको अस्पतालका निमित्त मेडिकल सुरपरिटेण्डेन्ट वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले बताएका छन् ।
मुटुरोगको उपचारका लागि क्याथल्याब सञ्चालन ढिलो गरी सञ्चालनमा आएकाले सरकारले रकम विनियोजनमा ढिलाइ भएको उनले जानकारी दिए । ‘‘सूचीकृत भएको भए मुटुरोगका बिरामीले सहजरुपमा उपचार पाउने थिए । सूचीकृत नहुँदा राज्यले दिएको सुविधाबाट सर्वसाधारण वञ्चित भएका छन्,’ उनले भने ।

सरकारी ढिलासुस्तीका कारण भेरी अञ्चल अस्पतालले बिरामीलाई सुविधा दिन नसकेपछि बिरामी काठमाडौं र भारतका महङ्गा अस्पतालमा उपचार गराउन बाध्य भएका छन् । मुटुरोगले थलिएका गरीब परिवारका बिरामी शल्क्रिया गराउन नसकेर थलिएको अस्पतालका इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. कृष्ण अधिकारीले बताए ।

उहाँले काठमाडौँका निजी अस्पताल र भेरी अञ्चल अस्पतालले सूचीकृतका लागि एकैसाथ निवेदन दिएको बताए । ‘सँगै निवेदन दिएका निजी अस्पताल सूचीकृत भइसके तर पश्चिम नेपालका बिरामीलाई सेवा दिने भेरी अस्पतालले अझैँ पाउन सकेन,’ उनले भने, ‘भेरी अञ्चल अस्पतालमाथि पक्षपात भएको छ ।’

‘काठमाडौंस्थित गङ्गालाल अस्पतालले डेढ लाख पर्ने शल्यक्रिया भेरी अञ्चल अस्पतालले ७० हजारमा गर्दै आएको छ’ डा अधिकारीले भने । उनले भेरी अञ्चल अस्पतालमा उपचार गराउन आउनेमध्ये प्रायजसो गरीब हुने गरेको ताए ।
‘हुने खाने सिधै काठमाडौं र भारतका महङ्गा अस्पताल जान्छन्, उपचारका लागि यहाँ आउने प्रायःजसो गरीब र निमुखा मात्र हुन्छन्,’ डा. अधिकारीले बताए । उनले सस्तोमा शल्यक्रिया गराउन समेत बिरामीले नसकेको जाकारी दिए । शल्यक्रिया र मुटुमा लाग्ने उपकरण महङ्गो पर्ने भएकाले उपचारमा धेरै खर्च लाग्ने गरेको डां अधिकारीको भनाइ छ ।

अन्य रोगभन्दा धेरै जटिल र संवेदनशील भएकाले उपचार जटिल हुने उनले बताएका छन् । ‘सरकारी सुविधा पाएको भए उपचारमा बिरामीलाई केही राहत मिल्ने थियो,’ उनले भने, ‘मुटुरोगको उपचारमा भेरी अस्पतालले उच्च प्रविधिसहित सेवा दिन थालेको छ ।’

जनरल कार्डियोलोजी, बहिरङ्ग सेवा, इनडोर, हृदयाघात उपचार, इकोकार्डियोग्राफी, इनसर्टिभ कार्डियोलोजी सेवा भेरी अस्पतालले दिँदै आएको निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा राजन पाण्डेले जानकारी दिए । भेरी अस्पतालले उच्च प्रविधिसहितको क्याथल्याबसमेत सञ्चालनमा ल्याएको छ ।

भेरी अस्पतालमा दैनिक सरदर ३० जना मुटुरोगका बिरामी उपचारका लागि आउने गरेका छन् । टाढा टाढाका बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । आर्थिकरुपले सम्पन्न व्यक्तिहरु राजधानीलगायत विदेशमा समेत उपचारका लागि जाने गरेपनि सर्वसाधारण व्यक्तिका लागि यस भेरी अञ्चल अस्पतालले आधारभूत स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७