‘हाइड्रो हब’ बन्दै अपी हिमाल गाउँपालिका


३ मंसिर २०७५, सोमबार
chameliya

दार्चुला, ३ मंसिर । सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिका जलविद्युतको हब बन्दै गएको छ ।

chameliya

चमेलिया नदीको उद्गमस्थलका रुपमा रहेको अपि हिमाल गाउँपालिकालाई जलविद्युतका माध्यमाबाटै चिनाउने गाउँपालिकाको योजना छ । चैतभित्र अपि हिमाल गाउँपालिका– ५ मकरीगाडसम्म सडक निर्माण गरिँदैछ ।

सो क्षेत्रमा सन् २०१९ भित्र मकरीगाड जलविद्युत् आयोजना प्रालिले १० मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । सो आयोजनाका उपकार्यकारी निर्देशक करनबहादुर चन्दका अनुसार सो क्षेत्रका दुई परिवारलाई जग्गाको मुआब्जा वितरण गरिएको छ ।

‘सडक निर्माण हुने वित्तिकै उपकरण ढुवानी गरिने छ’, चन्दले भने । निजी क्षेत्रबाट निर्माण हुन लागेको मकरीगाड जलविद्युत् आयोजना निर्माणको लागि रु दुई अर्ब पाँच करोड लागत अनुमान गरिएको छ ।

यस्तै मंसिरभित्र अपि हिमाल गाउँपालिका–३ घट्टे खोलामा एक सय किलोवाट क्षमताको आयोजना निर्माण गरिँदैछ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, गाउँपालिका र विभिन्न निकायको सहयोगमा सो आयोजना निर्माण गर्न लागिएको हो ।

आयोजना बनाउन शक्ति इञ्जिनीयरिङ प्रालिसँग रु तीन करोड ४२ लाखको सम्झौता गरिएको उपभोक्ता समितिका अध्यक्ष नन्दनसिंह धामीले बताए । 

‘वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु दुई करोड ८५ लाख सहयोग गर्नेछ’, उनले भने । गाउँपालिकाले रु एक करोड ९० लाख उपलब्ध गराउने छ । ‘४० लाख भुक्तानी गरिसकेका छौँ’, गाउँपालिकाका अध्यक्ष धर्मानन्दसिंह मन्यालले भने । अहिले खम्बा र तार खरीदको काम भइरहेको छ ।

यस्तै अपि हिमाल गाउँपालिका– ३ कटेलीगाडमा १० किलोवाट क्षमताको आयोजना निर्माण थालिएको छ ।

सो आयोजना निर्माण गर्न वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले रु १९ लाख, गाउँपालिकाले रु पाँच लाख तथा अन्य रकम प्रदेश सांसद विकास कोषबाट खर्च गरिने विद्युत् उत्पादन समितिका अधयक्ष मदन कार्कीले बताए । सो आयोजना निर्माण गर्न रु ५७ लाख खर्च हुने अनुमान गरिएको छ ।

यसैगरी अपि हिमाल गाउँपालिका–६ मज्जेखोलामा एक सय किलोवाट विजुली निकाल्न बोलपत्र आह्वान गरिएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, प्रदेश सरकार तथा स्थानीय तहको सहयोगमा सो आयोजना निर्माण गर्न लागिएको निर्माण समितिका अध्यक्ष धनसिंह धामीले बताए । ‘गाउँपालिकाले रु एक करोड ७२ लाख सहयोग गर्ने आश्वासन दिएको छ’, उनले भने ।

चमेलिया नदीबाट ८५ मेगावाट क्षमताको माथिल्लो चमेलिया आयोजना निर्माण गर्न निजी क्षेत्रले चासो देखाएको छ । नेपाल सरकारको लगानीमा ३२ मेगावाट क्षमताको क्षत्तिगाड जलविद्युत् आयोजना निर्माणबारे अध्ययन भइरहेको छ ।

निजी क्षेत्रबाटै निर्माण गर्ने गरी ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया र २० मेगावाट क्षमताको तल्लो चमेलिया निर्माणबारे समेत अध्ययन भइरहेको गाउँपालिकाका अध्यक्ष मन्याल बताउँछन् ।

यसअघि ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेको छ । अपि हिमाल गाउँपालिका भएर बग्ने चमेलिया नदीसँगै क्षत्तिगाड, मकरीगाड, छुमछुम गाड, मज्जेगाडलगायत खोलाबाट विद्युत् उत्पादन गर्न सकिने अत्याधिक सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७