काम गर्न नसक्ने कर्मचारीलाई हात जोडेर घर पठाइन्छ : मन्त्री पण्डित


३ मंसिर २०७५, सोमबार
lalbabu

काठमाडौं, ३ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अहिले कर्मचारीहरु जनताको सेवामा भन्दा आफ्नो सुविधामा मात्र केन्द्रित भइरहेको आरोप लगाएका छन् ।

lalbabu

कर्मचारीले आफूले दिने सेवाका बारेमा नै नबुझेको बताउँदै उनले अब जनताप्रति वफादार भएर काम नगर्ने कर्मचारीलाई हात जोडेर घरतिर विदाइ गर्ने चेतावनी दिए ।

ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ३३ औं आधारभूत प्रशासन प्रशिक्षण शुभारम्भ समारोहलाई उद्घाटन गर्दै मन्त्री पण्डितले नेपाल भनेको काठमाडौं मात्रै हो भन्ने मनोवृतिले कर्मचारीलाई गाँजेको बताए ।

‘धेरै राष्ट्र सेवकले नेपाल बुझेनन् । किनभने नेपाल के बुझे भने काठमाडौं हो, म जहाँ छु त्यही नै नेपाल हो भन्ने बुझे,’ मन्त्री पण्डितले भने ।

खटाएको ठाउँमा जान नखोज्ने प्रवृत्ति पनि समस्याका रुपमा रहेको उनको भनाइ छ । ‘प्रदेश नम्बर–१ मा केही समयअघि एक जना सचिवलाई पठाइएको थियो ।

बिहान प्लेनमा जानु भो, हाजिर गर्नु भो र भरे प्लेनमै फर्किनु भो,’ उनले भने, ‘अनि मलाई आएर भन्नु भो म तीन घण्टा काम गरेर आए अब सरुवा मिलाई दिनुपर्‍यो,’ मन्त्री पण्डितले थपे, ‘मलाई यस्ता राष्ट्र सेवक देख्दा घृणा लाग्छ ।’

मन्त्री पण्डितले सरकार कर्मचारीको वृति बिकास नरोकिने गरी समायोजनको तयारीमा रहेको उल्लेख गर्दै जानेको र सक्ने काम आफै गर्न र नपन्छाउन कर्मचारीहरुलाई आग्रह गरे । मन्त्री पण्डितले कर्मचारीहरुले हाजिर समेत नगर्ने गरेको भन्दै कर्मचारी अभाव आफै सिर्जना गरेको बताए ।

कर्मचारी धेरै भएकाले पनि सेवा सुबिधा बाँड्नु पर्ने बाध्यता रहेको उनले बताए । तर, सरकार भौगोलिक विकटतालाई हेरेर सरकार कर्मचारी समायोजनको तयारीमा रहेको उनले बताए ।

तर, मनोवृत्ति बिग्रेका कर्मचारी काठमाडौं जत्तिकै सेवा र सुबिधा भएको हेटौंडामा पनि कर्मचारी जान नमानेको उनले गुनासो गरेका छन् ।

मन्त्री पण्डितले मनचिन्ते सोचले ग्रसित भएर काम गर्न नसके अवस्थाका कर्मचारीलाई बिदा गर्न सरकार तयार रहेको पनि उल्लेख गरे ।

समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न सरकार लागि परेको उल्लेख गर्दै उनले सरकार कर्मचारी समायोजनमार्फत सम्पूर्ण राष्ट्र सेवकलाई वृत्ति विकासको ढोका खोलेर अगाडि बढ्नेतर्फ केन्द्रित भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७