कुमाल बस्तीमा निर्वाचनको चहलपहल अझै देखिएन


५ मंसिर २०७४, मंगलवार
kumal

पाल्पा : जिल्लाको बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदायमा चुनावी चहलपहल अझै देखिएको छैन । आगामी मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोट माग्न कुमाल बस्तीको गाउँमा अहिलेसम्म दलहरू नगएकाले त्यहाँका बासिन्दा बेखर जस्तै भएका हुन् । मतदाता शिक्षाका लागि कोही पनि गाउँमा नआएको उनीहरू बताउँछन् । kumal

“घरमा बिजुली छैन, रेडियो, टिभी पनि छैन हामीलाई चुनाव कहिले हो भन्ने थाहा नै भएन”, घोरबन्दाकी ४० वर्षीया ज्ञानीसरा कुमालले गुनासो गर्दै भने “ज्याला मजदुरी गरी गुजारा चलाउनुपर्ने बाध्यताले आफूहरूलाई चुनावसम्बन्धी कुनै जानकारी पनि छैन ।”
घोरबन्दाकी ३० वर्षीया जनीसरा कुमालले आफूहरू सामु चुनावको जानकारी गराउने कुनै पनि साधन नभएकाले हामी मजदुरी गरी जीविकोपार्जन गर्नेहरूलाई चुनाव कहिले हो र कहाँ कहाँ भोट हाल्ने भन्ने नै थाहा नभएको बताउनुभयो । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा मतदाताले भोट हाल्नुपर्ने भए पनि कसरी भोट हाल्ने भन्नेमा उनीहरूमा अन्योल छ ।
साँझ बिहान के खाउँ र के लाउँ भन्ने अति विपन्न समुदायका लागि निर्वाचनले कुनै प्रभाव पार्न सकेको छैन । आयस्रोत न्यून हुनेहरू दिनभर नै ज्याला मजदुरी गर्न बाध्य हुँदा निर्वाचनका बारेमा बेखबर भएका हुन् ।
सदरमुकाम तानसेनसँगै नजिकै रहेको घोरबन्दामा १२० घरपरिवार कुमाल बस्ती शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगार र आयआर्जनका अवसरबाट अझै पनि वञ्चित छ । चुनावका बेला विकासका लहर ल्याउने भने पनि नेताहरू चुनाव जितेपछि गाउँ नै नपस्दा यो बस्तीले विकासको गति लिन नसकेको हो ।
निर्वाचनका बेला आफूहरूलाई भोट बंैकका रूपमा प्रयोग गरे पनि चुनाव जितेपछि नेताहरू गाउँ फर्केर नआएपछि यहाँका मतदाता दुःखी भएका छन् । निर्वाचनले जिल्लाभर चहलपहल ल्याए पनि पाल्पाको कुमाल समुदायमा चुनावी सारगर्मी बढ्न सकेको छैन । आदिवासी जनजातिअन्तर्गत आर्थिकरुपमा विपन्न कुमाल समुदाय कला संस्कृतिमा भने धनी छ ।
स्थानीय बासिन्दा कान्छी कुमालले पहिला भोट माग्न घरमा आए पनि अहिले गाउँमा भोट माग्न कोही पनि नआएको बताउनुभयो । चुनावमा भोट हालेपछि जित्नेहरूले नहेरेकाले कुमाल बस्ती खानेपानीदेखि सडकसम्मका आधारभूत विकामा वञ्चित छ ।
जिल्लाको छहरा रैनादेवी, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिका र रामपुर नगरपालिकालगायतका स्थानमा कुमाल समुदायको बस्ती बाक्लोे छ । विसं २०६८ को जनगणनाअनुसार पाल्पामा कुमाल समुदायका पुरुष तीन हजार १०७ र महिला तीन हजार ६९५ गरी कूल जनसंख्या छ हजार ८०२ छ ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७