वाइड बडी जहाजले दैनिक १६ घण्टा उडान भर्ने


१० मंसिर २०७५, सोमबार
Nepal Airline second wide Boady Air d4cXoZhXSw 1

काठमाडौं, १० मंसिर । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियाको अनियमितबारे सर्बत्र चर्चा पाइरहेका बेला निगम स्वयम्ले भने आन्तरिक व्यवस्थापन र सेवा सुदृढीकरणलाई युद्धस्तरमा अघि बढाएको जनाएको छ ।

Nepal Airline second wide Boady Air d4cXoZhXSw 1

जहाज किन्दा सार्वजनिक खरीद व्यवस्था र निगमको विनियावली विपरीत गरेको भन्दै खरीद प्रक्रियामा आशंका उब्जिएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तालुकदार मन्त्रालय र निगम पदाधिकारीसँग छलफल गरिसकेको छ ।

महालेखा परीक्षकको ५५ वार्षिक प्रतिवेदनले जहाज खरीद प्रक्रियामा त्रुटी औंल्याएपछि पछिल्लो समय यो विषय सडकदेखि संसदीय समितिमा पुगेको छ । जहाज खरीद प्रक्रियामा कुनै खोट नभएको निगमका अधिकारीले स्पष्टिकरण दिएका छन् ।

झण्डै एक महिनादेखि सञ्चार माध्यमले निगमको जहाजबारे विभिन्न समाचार सम्प्रेषण गर्दै आएका छन् । निगमले हालै श्वेतपत्र जारी गरी उच्च वित्तीय जोखिममा परेको जनाएको थियो । निगमको कूल कर्जा रु ३९ अर्ब ३८ करोड र सम्पत्ति करीब रु ५० अर्ब रहेको छ । निगमले जहाज खरीद गरेबापत रु एक अर्ब १३ करोड त्रैमासिक रुपमा ब्याज तिर्दै आएको छ ।

जहाज खरीद प्रक्रियामा अनियमतताको आशंका, व्यावसायिक योजनाको अभाव, जहाज ‘ग्राउण्डेड’ गरेको आदि विषयमा निगमको चर्को आलोचना भइरहेको छ । यता दुई वाइड बडी ए ३३०–२०० जहाजको नयाँ गन्तव्य विस्तार तथा प्रभावकारी बजारीकरणका लागि योजनाबद्ध कार्यक्रम बनाइएको निगमका पदाधिकारीले जनाएका छन् ।

वाइड बडी जहाजलाई जापान चीनका साथै केही महिनाको अन्तरालमा दक्षिण कोरियाको सियोल र साउदी अरबको रियादमा उडान भर्ने तयारी गरेको हो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आगामी फेब्रुअरीसम्म जापानको ओसाका र मार्च महिनामा चीनको ग्वाञ्झाओ उडाउने गरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

वाइड बडी जहाजलाई चीन जापानलगायत गन्तव्यमा उडान भर्न निगमले धमाधम तयारी गरिहरेको छ । निगमका अध्यक्ष खरेलका अनुसार वाइड बडी जहाजले फेब्रुअरीको पहिलो सातादेखि ओसाका सातामा तीन उडान गरिनेछ भने त्यसको एक महिनापछि ग्वाञ्झाओमा पनि सातामा तीन उडान भर्ने तयारी छ । जापान उडानका लागि १५ दिनभित्र कर्मचारीको व्यवस्था गरिने छ ।

व्यावसायिक हिसाबले जापानको राजधानी टोकियो नजिकको नारिता अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलमा आगामी छ महिनाभित्र वाइड बडी उडाउने निगमले जनाएको छ । जापानलगायत लामो गन्तव्यमा दैनिक १५ देखि १६ घण्टा वाइड बडी उडाउने तयारी गरिरहेको निगमका अध्यक्ष खरेलको भनाइ छ ।

बजारमा जे जस्तो हल्ला आए पनि निगमको आर्थिक अवस्था सन्तोषजनक रहेको दाबी गर्दै उनले पहिला रु २५ अर्बको व्यापार गर्दै आएको निगमलाई दुई वाइड बडी जहाज खरीदपछि थप रु २५ अर्ब व्यापार थपिएकाले आर्थिक असन्तुलन देखिएको बताए ।

‘वाइड बडी नयाँ गन्तव्यमा चलाउन नसक्दा आर्थिक समस्या परेको हो । नयाँ गन्तव्य जाने प्रक्रियामा रहेकाले छ महिनाभित्र निगम सुधारको अवस्थामा आउनेमा हामी विश्वस्त छौँ । अहिले नै आत्तिनुपर्ने अवस्था छैन’, उनले भने ।

निगम सञ्चालक समितिका सदस्य समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले वाइड बडी जहाजले लामो गन्तव्यमा उडानका लागि व्यावसायिक योजनाका साथ अघि बढेको उल्लेख गरे ।

उनले हाल भारतको नयाँदिल्ली, कतारको दोहा, थाइल्याण्डको बैंकक र हङ्कङ उडान भर्दै आएको वाइड बडी जहाजले छिट्टै जापान, चीन, दक्षिण कोरिया, रियादलगायत गन्तव्यमा उडान भर्ने र क्रमशः युरोप गन्तव्यमा पुर्‍याइने बताए ।

सचिव देवकोटाका अनुसार वाइड बडीले हालका गन्तव्यमा छदेखि आठ घण्टा उडान गरिरहेका छन् । सातामा क्रमशः हङकङ र बैंककमा तीन दिन, चार दिन र दिल्लीमा दुई दिन उडान हुँदै आएको छ । यात्रुको चाप हेरेर धेरै यात्रु भए वाइड बडी र कम भएमा न्यारो बडी जहाजबाट उडान गरिँदै आएको सचिव देवकोटाले जानकारी दिए ।

निगमले सन् २०१४ देखि न्यारो बडी जहाजबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ । न्यारो बडी औसत दैनिक १४ घण्टा उड्छ । नयाँ दिल्लीमा दैनिक दुई, बैंग्लोरमा सातामा तीन, मुम्बईमा तीन र मलेशियामा सातामा चार उडान हुँदै आएको छ ।

सचिव देवकोटाले अहिलेसम्मको योजनाअनुसार जापान र चीनमा उडान भर्न सके वाइड बडीबाट १२ घण्टा र पछि रियाद र दक्षिण कोरियाको सिओल जान सकिए बढीमा १६ घण्टासम्म उडान गर्न सकिने बताए । अहिले वाइड बडीको अकुपेन्सी ७० र न्यारो बडीको ८५ प्रतिशतभन्दा बढी रहेको छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानलाई दुई थान वाइड बडी ए ३३० जहाज, दुई वटा न्यारो वडी ‘ए’ ३२० जहाज र एक वटा बोइङ जहाज रहेका छन् । आन्तरिक उडानका लागि तीन वटा टुइनटर, दुई वटा एमए–६०, चार वटा वाई–१२ इ विमान छन् । निगमले अन्तर्राष्ट्रियतर्फ आठ र आन्तरिकतर्फ २२ गन्तव्यमा उडान भर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७