आठ भन्सारबाट निर्यात शून्य


१८ मंसिर २०७५, मंगलवार
biratnagar vansar

काठमाडौं, १८ मङ्सिर । चालू आर्थिक वर्षको चार महीनामा देशभरका आठ भन्सार कार्यालयबाट कुनै पनि मालवस्तु निर्यात नभएको पाइएको छ ।

biratnagar vansar

भन्सार विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार ती भन्सारबाट कुनै पनि मालवस्तु निर्यात हुन नसकेको हो । विभागका अनुसार जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर, सिराहा, राजविराज र अर्को एक भन्सारबाट कुनै पनि मालवस्तु निर्यात हुन सकेको छैन । हाल देशभर २० भन्सार कार्यालय सञ्चालनमा छन् ।

चालू आर्थिक वर्षको पछिल्लो चार महीनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सबैभन्दा बढी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उक्त भन्सारबाट ३० दशमलव शून्य पाँच प्रतिशत बराबरको मालवस्तु निर्यात भएको छ ।

विमानस्थल भन्सारबाट आठ अर्ब ७९ करोड ८५ लाख ८५ हजार बराबरको निर्यात भएको छ । यस्तै विराटनगर भन्सार कार्यालयको हिस्सा २७ दशमलव ५८ प्रतिशत छ । उक्त भन्सार कार्यालयबाट आठ अर्ब सात करोड ६५ हजार बराबरको मालवस्तु निर्यात भएको छ । पूर्वाञ्चल क्षेत्रबाट विशेष गरी चिया, अलैची तथा अन्य कृषिउपज विदेश निर्यात भएको हो ।

तेस्रो स्थानमा मालवस्तु निर्यात गर्ने भन्सारमा वीरगञ्ज भन्सार पनि रहेको छ । सो भन्सारबाट १७ दशमलव ७६ प्रतिशत बराबरको मालवस्तु निर्यात भएको छ । कूल पाँच अर्ब २० करोड छ लाख ३९ हजार बराबरको सामान निर्यात भएको छ ।

पछिल्लो चार महीनामा नेपालमा चार खर्ब ८३ अर्ब ७५ करोड ७८ लाख ३२ हजार बराबरको आयात भएको छ । विभागका अनुसार सो अवधिमा २९ अर्ब २८ करोड १७ लाख ७० हजार बराबरको मात्रै निर्यात भएको छ । आयातको कूल हिस्सामध्ये वीरगञ्ज भन्सार अग्रस्थानमा छ । सो भन्सारबाट एक खर्ब ६६ अर्ब चार करोड ६० लाख ९८ हजार बराबरको आयात भएको छ ।

दोस्रो स्थानमा रहेको भैरहवा भन्सारबाट ८२ अर्ब ८४ करोड ८८ हजार ५०० बराबरको आयात भएको छ । यो कूल आयातको १६ दशमलव ९७ प्रतिशत हो । सबैभन्दा कम राजविराज भन्सारबाट २१ करोड ९३ हजार १०० बराबरको आयात भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७