१८ महिना अगाडिदेखि नै आइजीपी बनाउने चलखेल

पाललाई बनाउन ब्यापारीहरुको सक्रियता


१९ मंसिर २०७५, बुधबार
sumargi

काठमाडौं, १९ मंसिर । नेपाल प्रहरीमा २७ औं आइजीपी हुन १३ महिना बाँकी छँदै २८ औं आइजीपीका लागि चलखेल सुरु भएको छ ।

१३ महिनापछि २०७६ फागुनमा वर्तमान आइजीपी सर्वेन्द्र खनाल ३० बर्षे सेवावधिका कारण अवकाश हुनेछन् । उनको अवकाशपछि पाँच महिनाको लागि डीआइजीद्वय ठाकुरप्रसाद ज्ञवाली र तारणीप्रसाद लम्सालमध्येबाट एक २७ औं आइजीपी हुनेछन् ।

यो समूहपछिको २८ औं आइजीपीका लागि अहिलेदेखि नै डिजाइन सुरु भएको छ । २०७६ फागुनमा नेपाल कम्युनिष्ट पार्टीकै सरकार हुने र बरिष्ठ पनि भएकाले डीआइजी ज्ञवाली नै आइजीपी हुने संभावना बढी देखिन्छ । ।

sumargi 1


ज्ञवालीपछिको आइजीपी एक नम्बरका डीआइजी शैलेश थापा क्षेत्री हुन्छन् भन्ने अनुमान सबैले गरेका छन् । तर यो अनुमानमात्र हुने देखिन्छ । विवादास्पद ब्यापारी र ठेकेदारहरुले हरि पाललाई आइजीपी बनाउनका लागि नै डीआइजी बढुवामा २ नम्बरमा ल्याउन सफल भइसकेको तथ्य खुल्न थालेको छ ।

चार नम्बरका एसएसपी हरि पाललाई असोज अन्तिममा डीआइजी बढुवा गर्दा २ नम्बरमा ल्याइएको हो । तीन नम्बरका एसएसपी प्रद्युम्न कार्कीलाई ४ नम्बरमा लगिएको छ । बरिष्ठताका आधारमा दोस्रो नम्बरमा रहेका निरजबहादुर शाहीलाई तेस्रो बरियतामा धकेलिएको थियो ।

यसरी दोस्रोलाई तेस्रो नम्बर र तेस्रोलाई चौथोमा धकेलेर पाललाई दोस्रो नम्बरमा ल्याउने खेल ब्यापारी अजयराज सुमार्गी पराजुली, ठेकेदार दीपक भट्ट, ब्यापारी आङछिरिङ शेर्पा र दीपक मल्होत्राका ब्यापारिक पार्टनर पूर्वडीएसपी सुरेन्द्रबहादुर सिंहले खेलेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार १ नम्बरका शैलेश थापा क्षेत्री भए पनि उनी चलखेलमा त्यति पारंगत नभएका, कार्यक्षेत्रको कम अनुभव र फिल्डमा कमजोर ब्यापारी र बिचौलियाहरुले पाललाई प्रहरी नेतृत्वमा पु¥याउन दोस्रो नम्बरमा बढुवा गराउन सफल भएका हुन् ।

डीआइजी थापा क्षेत्रीप्रति गृहमन्त्री रामबहादुर थापा र आइजीपी खनाल दुवै सकारात्मक भएकाले अहिले नै पाललाई २ नम्बरमा ल्याउने ब्यापारी ठेकेदार प्रयास सफल हुन नसकेको बताइन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त भएका लोकमानसिंह कार्कीका नातेदार सुरेन्द्रबहादुर सिंह नेपाल प्रहरीबाट नक्कली प्रमाणपत्र प्रकरणमा तानिने भएपछि डीएसपीबाट राजीनामा दिएर हिंडेका हुन् । पाल र उनको घर दार्चुला नै भए पनि उनीहरुबीच पहिला पानी बाराबार थियो ।

तर पछि ठेकेदार दीपक भट्टले शैलेश थापा हुनुभन्दा हरि पाल ठीक छ, उतैको हो भनेर उनीहरुको मिलाप गराएका थिए । सुरेन्द्रबहादुर सिंहले नै पाललाई सुमार्गीसँग कनेक्सन गराएका हुन् । पुख्र्यौली घर दार्चुला भए पनि सुरेन्द्र सिंह र उनका दाजुभाइ दीपक सिंह, महेशबहादुर सिंहहरु पछि हेटौंडा सरेका हुन् ।

पाललाई २ नम्बरको डीआइजी बनाउन ब्यापारीदेखि ठेकेदारले लगानी गरेर २ नम्बर प्रदेशको प्रहरी प्रमुखमा पनि उनीहरुकै जोडमा सरुवा गरिएको स्रोतको दाबी छ । २ नम्बर प्रदेशमा बढी सीमा नाका भएकाले पनि मालदार मानिन्छ । उनी तस्करीको लाइन चलाएर कमाउनका लागि नै २ नम्बरमा सरुवा भएका हुन् ।

प्रधानमन्त्री केपी ओलीका निकट ब्यापारी हुँ भन्दै नियुक्तिदेखि ठेक्कापट्टा र बढुवामा चासो देखाउने आङछिरिङ शेर्पाकी बहिनी बन्दीनिमा शेर्पालाई केही बर्षअघि करोडौं रुपैयाँ ठगी प्रकरणमा कारबाही नगरी जोगाउने काम पालले गरेका थिए ।

बन्दीनिमाले ठगी गरे पनि त्यतिबेला अपराध महाशाखाका एसपी पालले उल्टै पीडितलाई सास्ती दिएर उनको पक्षमा काम गर्दा विवादमा परेका थिए । विवादमा परेकै कारण तत्कालीन आइजीपी कुवेरसिंह रानाले कारबाही गर्न खोज्दा महानगरीय आयुक्त कार्यालयका एआइजी नवराज ढकालले पालको पक्षमा लबिङ गरी कारबाहीबाट जोगाएका थिए ।

त्यसपछि उनलाई महाशाखाबाट प्रहरी प्रधान कार्यालयको समाचार कक्षमा सरुवा गरिएको थियो । पाल इन्स्पेक्टर हुँदादेखि नै आङछिरिङसँग उनको घनिष्ठता बढेको प्रहरी स्रोत बताउँछ । त्यही घनिष्ठताकै कारण आङछिरिङले उनलाई बढुवामा २ नम्बरमा ल्याउन र २ नम्बर प्रदेशमा सरुवा गराउने काम गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७