नारायण गोपाल जस्तो गायक सम्भवतः देशले सय वर्षमा पनि पाउँदैन होला : प्रकाश सायमी

काठमाडौं, १९ मंसिर । नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत दिन सफल स्वर सम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ ।

‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भनी भन्नुपर्‍या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्‍या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकैछु बिथोल्न नआउ’, ‘यो मुटुलाई कसरी सम्झाइ बुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत दिन सफल नारायण गोपालले आफ्नो जीवनकालमा जति गीत गाए, सबै गीत त्यति नै उचाइका छन् ।

विसं २०१६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरे र त्यही बेलादेखि नै उहाँले आफ्नो साङ्गीतिक यात्र शुरु गरेका थिए । सबैभन्दा पहिला उनले साथी माणिकरत्न स्थापितको घरमा बसी उनका काका सिद्धिरत्न स्थापितसँग हिन्दी गीत गाउन सिकेका थिए । पहिलो पटक उनले त्रिचन्त्र क्याम्पसको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा तबला बजाएका थिए ।

उनका समकालीन अम्बर गुरुङले आफ्नो एक अन्तरवार्तामा नारायण गोपालका बारेमा भनेका छन्, ‘नारायण गोपाल धेरै पिउँथे, उनी खुला हृदयले गाउँथे र सबैलाई हसाउँथे पनि । उनको गीत जति उचाइमा छ, उनको मूर्तिको पनि कुनै मूल्य छैन ।’ उनलाई स्वर सम्राटको उपमा दिइरहँदा स्वयम् उनी आफूलाई स्वर सम्राट भन्न नरुचाउने व्यक्तित्व थिए ।

यो सम्झिने मन छ, म बिर्सु कसोरी
तिमी नै भनिदेउ ए… जाने निठुरी’

दिनेश अधिकारीको रचनामा नारायण गोपालले गाएको यस गीतमा पङ्कज सिग्देलले सङ्गीत दिएका थिए । आजभोलिका गायकले शब्दको चयन नै नगरी गाए जस्तो उनको स्वभाव नरहेको सङ्गीतकार बुलु मुकारुङ बताउँछन् ।

‘उहाँलाई कुनै शब्द मन नपरे, त्यो गीत गाउनु हुन्नथ्यो, त्यसैले कसै कसैले उहाँलाई घमण्डी गायक पनि भन्थे, यथार्थमा उहाँ त्यस्तो हुुनुहुन्न थियो’, मुकारुङ थप्छन्, ‘उहाँ बढी साहित्य जोडिएका गीत गाउन नै रुचाउनु हुन्थ्यो ।’

उहाँलाई कतिपयले बढी पिउने गायक पनि भन्ने गर्छन् । तर यथार्थमा उहाँलाई बद्नाम गराउन खोज्नेले त्यस्तो उपमा दिइएको हो । आजभोलि नपिउने त को नै होलान र !’, उनले आक्रोस पोखे ।

नारायण गोपालको भेट दार्जिलिङ यात्राका क्रममा त्यहाँका सङ्गीतकार तथा गीतकार गोपाल योञ्जनसँग भएको थियो । योञ्जनसँगको भेटले उनको जीवनमा नयाँ मोड लिएको थियो । भेटघाटकै क्रममा उनीहरुको मितेरी साइनो समेत जोडिएको थियो ।

नारायण गोपालले धेरैजसो योञ्जनका गीत नै गाएका थिए । उनलाई सीमा बाहिरका गीत गाउने पहिलो गायकका रुपमा लिइने गरिन्छ । योञ्जनसँगै उनले आसामका हरिभक्त कटुवालका गीत समेत गाएका थिए ।

‘जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ’ बोलको गीत उनले गाएका थिए । दार्जिलिङ यात्राका क्रममा नारायण गोपालको भेट पेमला लामासँग पनि भएको थियो । त्यो भेटघाटले प्रेमको रुप लिई विवाह समेत भएको थियो ।

पेमलासँगको प्रेमपछि विवाहका लागि प्रस्ताव राख्दा परिवारले नमानेपछि उनको परिवारिक सम्बन्धमा केही चिसोपना आएको थियो । जसका कारण उनी र श्रीमती परिवारबाट छुट्टिएर बस्नु परेको थियो । उनी निःसन्तान भए पनि उनी पारिवारिक कारणबाट कहिल्यै निरास भएनन् ।

विभिन्न व्यक्ति माथि उठ्न अरुको चाकडी गर्न निकै नै रुचाउने गर्छन् । अन्यभन्दा फरक शैलीका नारायण गोपालले भने कहिल्यै चाकडी गर्न रुचाएनन् । जो आफूसँग पनि चाकडी गर्न खोज्छ, उनी कहिल्यै पनि त्यस्ता व्यक्तिसँग सङ्गत गर्दैन थिए । सीमित व्यक्तिसँग मात्र मित्रता र सङ्गत गर्ने स्वभावका नारायण गोपाल निकै गम्भीर स्वभावको थिए ।

नयाँ व्यक्तिसँग निकै नै गम्भीर स्वभावको भए पनि उनी नजिकको व्यक्तिसँग निकै नै मिलनसार स्वभावको रहेको सङ्गीतकार भूपेन्द्र रायमाझी बताउँछन् । सङ्गीतकार रायमाझी भन्छन्, ‘उहाँको सद्भाव, भाइचारा र मिलनसार व्यवहारको कहिल्यै प्रशंसा गरेर सकिँदैन ।’

उनी नारायण गोपालले आफ्नो जीवनकालमा सीमित मात्र व्यक्तिसँग सङ्गत गरेको बताउँछन् । आफूले एक पटक भेटेको व्यक्तिलाई उनी कहिल्यै पनि नभुल्ने स्वभाव रहेको रायमाझी बताउँछन् ।

नारायणगोपालले आधुनिक मात्र नभई देशप्रेमका साथै चलचित्रमा समेत शब्द दिएका छन् । उनले गाएको ‘जाग लम्क चम्क हे नौजवान हो’ बोलको गीत आज पनि उत्तिकै कर्णप्रिय छ ।

‘नारायण गोपाल एकल साँझ’ ले उनलाई अझै चर्चाको शिखरमा पुर्‍याएको थियो । उनले आफ्ना समकालीन ‘तारादेवी’, ‘नातिकाजी’, ‘शिवशङ्कर’, ‘रत्नदास’, ‘प्रेमध्वज प्रधान’, ‘बच्चु कैलाश’ लगायतका गायक गायिकासँग पनि विभिन्न गीतमा स्वर दिएका छन् ।

‘हे कान्छा ठट्टैमा यो बैँस खेर जान लाग्यो, जाँदैन वाचा खेर पर्ख लिन आउँला’ बोलको गीतमा नारायण गोपाल र तारादेवीले स्वर दिएका थिए । आज यो गीतमा अन्य शब्द घुसाएर नयाँ रुप दिइएको छ ।

उनले माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, चाँदनी शाह, क्षेत्रप्रताप अधिकारी, रत्नशम्शेर थापा, कञ्चन पुडाशैनीलगायतको शब्दमा स्वर दिएका छन् । ‘वियोग’, ‘देशभक्ति’ र ‘आशा’ उहाँका गीतका प्रमुख विशेषता हो ।

उनले पहिलोपटक प्रेमध्वज र माणिकको सङ्गीतमा गीत गाएका थिए । राष्ट्रिय नाचघरका प्रमुख, बागीना पत्रिकाका प्रकाशक र सम्पादकलगायत ललितकला क्याम्पसमा समेत सहायक प्रमुखका रुपमा कार्यरत उनमा कहिल्यै पनि घमण्ड भने थिएन ।

नाचघरमा उनी कार्यरत रहँदा चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी सङ्गीतका क्षेत्रमा नाचघरमा काम गर्ने उद्देश्यले पुगेका थिए । सोही भेटमा नारायण गोपालले ‘अहिले खाली छैन, पछि काम पर्दा म आफैँ बोलाउँछु’ भनेको कुरा अझै सायमी स्मरण गर्छन् । पछि उनले विसं २०३९ मंसिर २१ गते सायमीलाई कार्यक्रम सञ्चालन गर्नका लागि बोलाएका थिए ।

स्वर सम्राट नारायण गोपालबारे आफ्नो धारणा व्यक्त गर्दै साहित्यकार प्रकाश सायमी । तस्विर : फाइल

सोही भेटघाटपछि दुई जनाबीच आत्मियता बढ्दै गएको उनी बताउँछन् । उनी भन्छन्, ‘सायद नारायण गोपाल जस्तो गायक अबको १०० वर्षपछि पनि जन्मन सक्दैन ।’ नारायणगोपाल जस्तो कामप्रति लगाव र झुकाव अहिलेका कुनै पनि कलाकारमा नरहेको उनी बताउँछन् ।

उनी थप्छन्, ‘उहाँ आर्थिक अभावमा कहिल्यै पनि अरुसँग सम्झौता गर्नु हुन्नथ्यो र आफ्नो प्रशंसा पनि रुचाउनु हुन्नथ्यो ।’ नारायणगोपालबाट अहिलेका गायकले धेरै कुरा सिक्नुपर्ने सायमीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्