‘बहिनी जाने हो ? कति पैसा लिन्छौं ?’

हिंसाविरुद्ध बोल्न थाले पीडित महिला

ललितपुर, १९ मंसिर । आफन्तलाई लिन बसपार्क पुगेकी शर्मिला कँडेललाई एक पुरुषले मोटसाइकलमा आएर सोधे ‘बहिनी जाने हो ? कति पैसा लिन्छौं ?’

महिलामाथि हिंसा झल्काउने सांकेतिक तस्विर

उनलाई झनक्क रीस उठ्यो र ती पुरुषलाई उल्टै प्रतिप्रश्न गरिन्, ‘‘बरु तपाईं चाँहीं भन्नुहोस् कति पैसा लिनुहुन्छ ?’’ ती पुरुष बोलेनन् र सरासर आफ्नो बाटो लागे । गाउँदेखि काठमाडौँसम्म अनि आफन्तदेखि नचिनेकासम्मको हिंसा उनले धेरै सहिन् ।

अहिले भने उनी हिंसाको प्रतिवाद गर्न थालेकी छन् । उनले भनिन्, ‘हिंसा गर्नेलाई चुप लाग्दा फेरि पनि आफैंलाई वा अरुलाई हिंसा गर्छ तर हामीले प्रतिवाद गर्‍यौँ फेरि उसले हिम्मत गर्दैन ।’

बाल्यकालदेखि नै हिंसा सहँदै आएका महिला खुलेर हिंसाको विरोध गर्न थालेका छन् । हिंसा सहँदा पटक-पटक दोहोरिने भए पनि हिंसाको विरुद्ध आवाज उठाउँदा हिंसा अन्त्य हुने पीडित बताउँछन् । घर परिवारमा महिलाले बोल्नु हुँदैन सबै कुरा सहनुपर्छ भनेर सिकाएकै कारण पीडा भोगेको भन्दै उनीहरुले अहिले भने हिंसाका विरुद्ध आवाज उठाउन थालेका हुन् ।

लोकदोहोरी गायिका समेत रहेकी कँडेलको इच्छा नहुँदा नहुँदै सात कक्षामा पढिरहँदा विवाह भयो । विवाहपछि उनले कहिले दाइजोको निहुँमा त कहिले छोरा नपाएको भन्दै पटक-पटक हिंसा सहनुपर्‍यो । गर्भवती हुँदा समेत श्रीमानले प्रत्येक रात जबरजस्ती गर्दा समेत उनले माइतीको इज्जत राख्न भन्दै आवाज उठाउन सकिनन् ।

एउटी छोरीलाई जन्म दिएपछि श्रीमान् र उनको परिवारले उनलाई झुक्काएरै गर्भपतन गराउन पोखरा पुर्‍याए । सहमति पत्रमा हस्ताक्षर गर्दा थाहा पाएरै त्यहाँबाट भागेको दिन सम्झँदा उनी अहिले पनि भक्कानो फुटाउँछिन् ।

फर्किएपछि श्रीमानले उनलाई घाँसको भारीसहित भीरबाट धकेलेर लडाउन प्रयास गरे । उनले भनिन्, ‘लडेको ठाउँमा माइती पट्टिका आफन्तले भेटेर मात्रै बाँच्न सकें ।’ कहिले छोरी मान्छे भएर जन्मेपछि सहनै पर्छ भनेर त कहिले विद्रोह गर्दा माइतीको इज्जत जान्छ भनेरै उनले धेरै वर्ष मौनतामा बिताइन् ।

सन्तानलाई नै जोगाउन नसक्ने भएपछि भने उनले घर छाडिन् । दोहोरी साँझमा पहिले वेयटर र पछि गायिकाका रुपमा काम गर्न थालिन् । उनले भनिन्, ‘हिम्मत गरेर बोलेकैले अहिले दुई छोरी पढाउन सकेकी छु ।’

शर्मिला जस्तै ललितपुरकी शशीकला सुवेदीले पनि कहिले परिवारकै सदस्य त कहिले आफन्त र कहिले छिमेकीबाट हिंसा भोग्नुपरेको थियो । दिदीहरुको १३ वर्षमा बिहे भएपछि उनको पनि चाँडै बिहे गरिदिने परिवारको इच्छा थियो । उनले भने पढाइ पूरा गर्ने इच्छा राखिन् । प्रवेशिकापछि मामाघरमा बसेर पढ्दा उनीमाथि मामाकै कुदृष्टि पर्‍यो । विद्यालय पढाउँदा पढाउँदै उनले ट्युसन पढाउन थालिन् ।

ट्युसन पढ्ने विद्यार्थीको अभिभावकले गलत दृष्टिले हेर्न थाले । परिवारले उनको इच्छा विपरीत सौता र छोराछोरी भएकालाई विवाह गरेर दिए । उनले सन्तानको इच्छा राखे पनि पूरा भएन । उनले भभिन्, ‘श्रीमानले सन्तान नचाहेका रहेछन्, जबरजस्ती गर्भपतन गराए ।’’ आमा बन्ने अधिकार खोसिँदा पनि उनी बोल्न सकिनन् ।

सिङ्गो जिन्दगी सहेर बसे पनि अहिले उनी खुलेर हिंसाका विरुद्ध बोल्न थालेकी छन् । आफूले जस्तै पीडा अरुले भोग्न नपरोस् भनेर पनि उहाँ हिंसाका विरुद्ध बोल्न प्रेरित गर्न थालेकी हुन् । उमेरमा बोल्न नसकेका कुरा कपालका रौं फुल्दै जाँदा बोल्ने हिम्मत आएको देबु पराजुली बताउँछिन् । पाँच वर्षको हुँदा पोलियोबाट पीडित भएपछि उनले धेरै अवसरबाट वञ्चित हुनुपर्‍यो ।

अहिले काठमाडौँ जस्तो विकसित शहरमा त भौतिक पूर्वाधार छैन भने त्यतिबेला उनलाई बाबु आमाले विद्यालयसम्म बोकरै पढाएका थिए । उनले भनिन्, ‘डुँडीलाई बोकी बोकी पढाएर के चैँ गर्ने हो र ? भनेर गाउँले र आफन्तहरुले भन्दा बुबा रुनु भएको मैले धेरै पटक देखेको छु ।’

जागिरमा लिखितमा नाम निस्कँदा समेत धेरै पटक अपाङ्गता भएकै कारण उनी अन्तरवार्तामा छनोट भइनन् । उनका उमेरका सबैको विवाह हुँदा पनि अपाङ्गता भएकै कारण उनको विवाह भएन ।

अहिले पनि उनलाई सामाजिक सञ्जालका साथी भेट्न हुरुक्कै हुन्छन् । उनीहरु भेटेपछि भने अपाङ्गता देखेपछि आफैँ टाढा हुन थाल्छन् । उनले भनिन्, ‘एउटी राम्री केटी देख्नेले मलाई देख्दा कस्तो प्रतिक्रिया दिन्छन् भन्ने बुझ्नकै लागि म भेट्ने गर्छु ।’

शताब्दीऔँंदेखिको महिलाको मौनताको इतिहास विस्तारै मेटिदैछ । सानैदेखि भविष्यमा ‘अरुको घरमा जानुपर्छ’ भन्दै परिवारले महिलालाई मौन बस्न सिकाउँछ । विवाहपश्चात पनि कहिले आफ्नो त कहिले माइतीको इज्जतका लागि मौन बस्नेहरु खुलेर हिंसाविरुद्ध बोल्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्