३ अर्ब मूल्यको सशस्त्र प्रहरीको ५२ रोपनी जग्गा खान भूमाफियासँग न्यायाधीश चोलेन्द्रशमशेर राणाको सेटिङ


१९ मंसिर २०७५, बुधबार

काठमाडौं, १९ मंसिर । दीपकराज जोशीलाई सरकारी जग्गा भूमाफियालाई सुम्पेको उजुरी हालेर प्रधानन्यायाधीशमा संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन हुनबाट रोकियो । तर अबको प्रधानन्यायाधीशको लाइनमा रहेका चोलेन्द्रशमशेर राणाले ३ अर्ब मूल्य पर्ने काठमाडौं हेपाली हाइटको सशस्त्र प्रहरीको ५२ रोपनी जग्गा भूमाफियाको पक्षमा फैसला गराउन लागेका छन् । 

बुढानीलकन्ठ नगरपालिका वडा नम्बर ७ साविक खड्का भद्रकालीमा पर्ने यो जग्गाको मुद्दामा आफ्नो पक्षमा फैसला गराउन मनोज भेटवाल, महेन्द्र श्रेष्ठ र बाबुराम श्रेष्ठले न्यायाधीश राणामार्फत् सेटिङ गरेका छन् ।


जसको पेशी मंगलबार थियो । तर चोलेन्द्रकै डिजाइनमा पेशी स्थगित गरिएको छ । न्यायाधीशद्वय इश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलास तोकिएकोमा मंगलबार बिहानको कजलिष्ट निकाल्दा राणाको डिजाइनमा स्थगितमा हालियो । राणा प्रधानन्यायाधीश भएपछि उक्त जग्गा आफ्नो पक्षमा पार्नेगरी भेटवाल र श्रेष्ठहरु लागेका छन् ।

भूमि ब्यवस्थापन तथा अभिलेख विभाग, मालपोत कार्यालय चावहिल र नापी कार्यालय चावहिल र सशस्त्र प्रहरी बललाई विपक्षी बनाएर गोपीलाल महर्जन, सन्तु महर्जन, शुक्ललक्ष्मी महर्जन र ज्ञानबहादुर महर्जनले निर्णय बदरका लागि २०७४ असार १९ मा सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । सशस्त्र प्रहरीको उक्त जग्गामा मुद्दा हाल्ने महर्जनहरु देखावटी पात्र हुन् ।

यसमा चोलेन्द्रशमशेर राणासँग सेटिङ मिलाउने काममा पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का लिएका मनोज भेटवाल, दीपक भेटवालका अतिरिक्त महेन्द्र श्रेष्ठ र बाबुराम श्रेष्ठ नामक बीचौलिया हुन् ।


मनोज भेटवाल एपेक्स बैंक घोटालामा समेत मुछिएका छन् । उनीविरुद्ध नेपाल प्रहरीको सीआइबीले बैंकिङ कसुरमा मुद्दा चलाएको छ । उनलाई पक्राउ गरी थुनामा नै राखिएको थियो । तिनै भेटवालले यो जग्गा हत्याउन ३ करोड रुपैयाँ एडभान्स चोलेन्द्रशमशेर राणालाई बुझाइसकेका छन् ।

आनाको ४० लाख पर्ने मूल्यवान उक्त जग्गाको न्यूनतम ३५ लाख आनाले नै हिसाब गर्दा पनि २ अर्ब ९१ करोड पर्न आउँछ ।

यो मुद्दामा २०७४ असोज ३०, २०७४ मंसिर ११, २०७४ पुस २०, माघ ११, चैत ८ पछि एकैचोटी ९ महिनापछि २०७५ मंसिर १८ मा पेशी तोकिएको थियो ।

त्यो पनि चोलेन्द्र राणाकै डिजाइनमा स्थगित भएको छ । उनी प्रधानन्यायाधीश भएपछि यो जग्गाको फैसला गरी ५२ रोपनी जग्गा हात पार्ने दाउमा भेटवाल र श्रेष्ठहरु छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७