कुश्मामा छन् ६ रोमाञ्चक पुुल !


२० मंसिर २०७५, बिहीबार
high pool

कुश्मा, २० मंसिर । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ यहाँका प्राकृतिक छटा तथा मानव निर्मित संरचनाका कारण पछिल्लो समय पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ ।

high pool

दुई पवित्र नदी मोदी र कालीगण्डकीले खियाएका कारण बनेका गल्छिनाबाट ओर्ली–उक्ली गरेर कुश्मा पुग्न झण्डै डेढ घण्टा लाग्छ । टाढाबाट हेर्दा कुश्मा, ज्ञादी, बलेवा र फलेवास एउटै समथर उपत्यकाको रुपमा देख्न सकिन्छ ।

झट्ट हेर्दा ठूलै उपत्यकाको झल्को दिने यो ठाउँ यिनै दुई नदीका कारण प्राकृतिक रुपमा विभाजन भएको छ । विकासका दृष्टिकोणले ऊर्जा नदीको रुपमा परिचित मोदी र पुराणमा समेत पवित्र नदीको रुपमा वर्णित कालीगण्डकी यहाँको अथाह सम्भावना बोकेका नदीहरु हुन् ।

शुरुमा यी अग्ला डाँडाबाट पुल राख्ने परिकल्पना गर्नेहरुसमेत धेरैको नजरमा ‘पागल’ सावित हुन्थे । अन्ततः विदेशमा रहेको यो प्रविधि नेपालमा पनि भित्रियो । विसं २०६७ मा नेपालकै अग्लो पुलको नामबाट कुश्मा–ज्ञादी झोलुङ्गे पुलले प्रख्याति कमाएपछि पर्यटकीय नगरी कुश्मामा अरु पुलहरु थपिँदै गए र कुश्माले अग्ला पुलको इतिहास रच्दै गयो ।

विसं २०७० मा कुश्मा–कैया झोलुङ्गे पुल दोस्रो पुलको रुपमा निर्माण भयो भने विसं २०७३ मा तेश्रो पुलको रुपमा कुश्मा–मुडिकुवा झोलुङ्गे पुल निर्माण भयो । यो सँगै तीन वटा लामा र अग्ला झोलुङ्गे पुल निर्माण भइसकेका छन् । अर्को कुश्मा–खरेहादेखि अधिकारीफाँटसम्मको करीव ३०० मिटर लामो पुल मोदीखोलामाथि निर्माण भइरहेको छ ।

त्यसैगरी नेपालकै प्रविधिज्ञहरुद्वारा निर्माण गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल २०६९ सालमा सञ्चालनमा आयो । यसले आन्तरिक अध्ययन, अवलोकनका लागि आउने पर्यटक तथा वाह्य पर्यटकहरुलाई राम्रै आकर्षण गर्न सकेको छ । यो प्रविधि नेपालमै पहिलो पटक भित्र्याइएको यान्त्रिक पुलका अध्यक्ष होमनारायण श्रेष्ठ बताउँछन् ।

पर्यटकलाई लक्ष्य गरेर गत वर्षदेखि निर्माण प्रारम्भ गरिएको कुश्मा–नेपाने साहसिक पुल (ह्याङ्गिङ पुल) तथा बञ्जी यस वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । यो साहसिक पुलमा करीव ८० मिटर फल्याक बिछ्याउने काम भइरहेको छ । अबको दुई महिनाभित्रै यो पुलको निर्माण कार्य सकिने सञ्चालक राजु कार्की बताउँछन् ।

एशियाकै दोस्रो अग्लो बञ्जी (प्राकृतिक भू– बनोटका आधारमा विश्वकै प्रथम अग्लो दावी गरिएको) को रुपमा निर्माण भइरहेको सो साहसिक पुल नदीदेखि २१५ मिटरको उचाइमा निर्माण भएका कारण पर्यटकको रोजाइमा पर्ने विश्वास कार्की व्यक्त गर्छन् ।

निर्माणाधीन र निर्माण सम्पन्न भएका ६ वटा लामा र अग्ला पुलले कुश्मा यतिबेला पर्यटकीय क्षेत्रमा अग्लिएको छ अर्थात् आफ्नो परिचय विश्वसामु दिन सफल भएको छ ।

व्यापारिक ‘हब’को रुपमा विकास हुन नसकेपछि पर्यटकीय स्थलका पहिचान बनाउन यहाँ ठूल्ठूला होटलहरु समेत निर्माण भइरहेका छन् । यहाँका अग्ला र लामा पुल प्रेमिल जोडीहरुका लागि समेत गतिलो गन्तव्यको रुपमा विकास भइरहेका छन् ।

‘पुलका कारण यहाँको पर्यटन वृद्धि भइरहेको छ, अब कुश्मालाई पर्यटकीय शहरको रुपमा विकास गर्नुको विकल्प छैन’, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा भन्छन्, ‘हामीले पर्यटकलाई लक्ष्य गरेर भौतिक संरचना निर्माण गर्न, पर्यटकमैत्री व्यवहार गर्न तथा सोही अनुसारको व्यापार व्यवसाय गर्न व्यवसायीहरुलाई आह्वान गरेका छौं ।’

कुश्मा बजारलाई यतिबेला नेपालकै अग्ला र लामा पुलै पुलहरुले अड्याएको छ । यहाँको मुख्य आयस्रोत पर्यटन बन्दै गएको छ । नगरलाई कसरी पर्यटकीय गन्तव्य बनाउने भन्नेबारेमा स्थानीयवासीहरु जागरुक देखिन थालेका छन् ।

कुश्मा बजारमा रहेका यी तीन प्रविधिका पुलहरुबाट फरक फरक तीन अनुभव (स्वाद) लिन सकिन्छ । कुश्मा–ज्ञादी, कुश्मा–कैया र कुश्मा–मुडिकुवा झोलुङ्गे पुलबाट विभिन्न प्राकृतिक दृष्य तथा छटा अवलोकन गर्दै नेपालकै अग्ला र लामा पुल तरेको अनुभव बटुल्न सकिन्छ ।

त्यस्तै, यहाँकै प्रविधिज्ञहरुले निर्माण गरेको नेपालकै पहिलो कुश्मा–बलेवा यान्त्रिक पुलबाट केबुलकारमा यात्रा गरेको अनुभव बटुल्न सकिन्छ ।

यो पुल केबुलकार मोडलमा निर्माण गरिएको छ । सुरक्षित कारहरु तारमा झुण्डाइएको र सोही कारभित्र बसेर तारको माध्यमबाट वारपार गर्न सकिने प्रविधि जडान गरिएको छ । यसको एउटा कारमा आठजनाले यात्रा गर्न सकिन्छ । यसमा दुई वटा कारहरु जडान गरिएका छन् । यो पुल पर्वत उद्योग वाणिज्य संघको पहलमा निर्माण भएको हो ।

गत वर्षदेखि निजीस्तरबाटै निर्माण प्रारम्भ गरिएको कुश्मा–नेपाने साहसिक पुल ह्याङ्गिङ पुल) तथा बञ्जी जम्प निर्माणको अन्तिम तयारीमा भए पनि हेर्न आउनेहरुको अहिल्यैदेखि भीड लाग्न थालेको छ । यस साहसिक पुलमा बञ्जी जम्प, स्वीङ, स्काई साइक्लिङलगायतका गतिविधि सञ्चालन गरिने सञ्चालक युवराज जोशी बताउँछन् ।

उनका अनुसार यो पुल सहजै तर्न समेत गाह्रो पर्छ । विशेष गरी विदेशी पर्यटकलाई लक्ष्य गरेर यो साहसिक ह्याङ्गिङ पुल निर्माण गर्न लागिएको हो । कुश्मा आउने पर्यटकहरुले दृष्यावलोकनसहित अग्लो–लामो, केबुलकार र ह्याङ्गिङ (साहसिक) पुल गरी तीन वटाबाट फरक फरक स्वाद चाख्न पाउने छन् ।

पछिल्ला दिन आन्तरिक पर्यटकका अलावा विदेशी पर्यटक र समूह, संस्था तथा विद्यालय, महाविद्यालयका भ्रमणहरुले पुल क्षेत्र व्यस्त रहने गरेको छ ।

अध्ययन र मनोरञ्जनका लागि आउने पर्यटक

नेपालकै अग्ला, लामा, केबुलकार मोडलका गरी चारवटा पुल बनिसकेका र अर्को एक साहसिक पुल निर्माणको चरणमा रहेको कुश्माबजार आन्तरिक पर्यटकहरुको पहिलो रोजाइमा पर्न थालेको छ ।

यहाँबाट मनोरम प्राकृतिक छटा, पहाडी श्रृङ्खला, खोंच, चट्टान, पवित्र नदीलगायतका प्राकृतिक सौन्दर्यसँगै फिस्स हाँसेको जस्ता देखिने हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ ।

हरियाली भू–बनोट, समथर उपत्यकाझैं थपक्क बसेकोे जमीनका कारण पनि यहाँको आकर्षण बढेको हो । लामा र अग्ला पुलको प्रविधि, यान्त्रिक पुल, साहसिक पुल लगायतका संरचनाहरुको अध्ययन, अवलोकन र मनोरञ्जन गर्न आउने पर्यटकहरु पनि उत्तिकै छन् ।

पर्यटकीय शहर पोखरा नजीकै रहेको हुनाले र र माटोको शहर मुस्ताङ जाने– आउने बाटो परेका कारण पनि अध्ययन, अवलोकन र मनोरञ्जनका लागि यात्रा गर्नेहरु एउटै खर्चमा कुश्मामा झरेर मनोरञ्जन गर्न यी पुलहरु बरदान साबित भएका छन् ।

पछिल्लो समय यी अग्ला पुलहरु मृत्युका कारण समेत बनेका छन् । अहिलेसम्म अग्ला पुलबाट हाम फालेर आधा दर्जनभन्दा बढीले आत्महत्या गरिसकेका छन् ।

धार्मिक पर्यटक

मुक्तिनाथ दर्शनका लागि आउने–जाने नेपाली मात्र होइनन् भारतीय पनि छन् । समय समयमा भइरहने हवाई दुर्घटनाका कारण मुक्तिनाथ जाने–आउने धार्मिक पर्यटकहरुसमेत सडक मार्गबाट आवतजावत गर्न थालेका छन् । पहाडी श्रृङ्खला छिचोल्दै जानुपर्ने भएका कारण हवाई यात्रामा जोखिम हुने भएकाले सडक यात्रा उपयुक्त हुने उनीहरुको तर्क छ ।

मुस्ताङको मुक्तिनाथ, बेनीको गलेश्वरधाम, महारानीथान, बागलुङको कालिका मन्दिर, पञ्चकोट धाम, कुश्माको गुप्तेश्वर, अलपेश्वर, कुश्मा कालिका, शिवालय, दुर्लुङकोट दर्शन गर्न आउने तथा पुराणमा वर्णित मोदीवेणी दिव्यधाम दर्शन गर्न आउने पर्यटकहरुको आवातजावत गर्ने बाटो परेका कारण कुश्मामा झरेर पुल हेर्ने दशर्कहरु बढ्न थालेका छन् ।

होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठका अनुसार कतिपय आन्तरिक तथा वाह्य पर्यटकहरु दिउँसोको खाना कुश्मामा खाएर पुल अवलोकन गर्ने हुन्छन् भने कोही बेलुका बास बसेर बिहान पुलको अवलोकन गरी फर्कने हुन्छन् ।

मुक्तिनाथ जाने–आउने बाटोसँगै पुल रहेका कारण पनि पर्यटकको मन तान्न सफल भएको अर्का होटल व्यवसायी विषमकुमार श्रेष्ठको बुझाइ छ । उनी भन्छन्, ‘पुलका लागि मात्रै आउने पर्यटक पनि छन् तर, एउटै खर्चमा धार्मिक यात्रा पनि हुने, पुल पनि हेर्न पाइने भएपछि पर्यटकहरु पुलमा ओइरिन थालेका हुन् ।’

पोखराको सेती नदी नुहाइसकेर काली नदी नुहाउन आउनेहरु पनि अग्ला पुलहरुको मज्जा लिन चुकेको देखिँदैन । धार्मिक महत्वका दिनहरुमा धेरै वृद्धवृद्धा अग्ला पुलमा लौरी टेकेरै वारपार गर्ने र डिलमा बसेर टहलिने गरेको पाइन्छ ।

साहसिक पर्यटक 

कुश्माबजारसँगै रहेको कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्न सकिन्छ । यहाँ वर्षा यामका दुई महिना बाहेक अन्य समयमा विदेशी पर्यटकहरुलाई र्‍याफ्टिङ गर्न ल्याइने गरिएको छ । वार्षिक हजारौं पर्यटकहरु जलयात्राको मज्जा लिन्छन् ।

उसो त दुर्लुङकोटबाट मौसम मिलाएर प्याराग्लाइडिङ पनि सञ्चालन गर्ने गरिएको छ । यसको व्यावसायिक सञ्चालनका लागि समेत युवा वर्ग लागिपरेका छन् । साहसिक बञ्जी, स्वीङ निर्माणको काम अन्तिम चरणमा छ ।

एशियाकै दोस्रो अग्लो बञ्जी तथा पहिलो स्वीङ, विश्वकै अग्लो दावी गरिएको स्काई साइक्लिङ निर्माण भएपछि प्याराग्लाइडिङ, र्‍याफ्टिङ, बन्जी र स्वीङका लागि आउने साहसिक पर्यटकहरुले समेत कुश्मा भरिभराउ हुने अपेक्षा गरिएको पर्वत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हरिओम शर्मा लामिछाने बताउँछन् ।

साहसिक पर्यटनका कारण यहाँको भविष्य थप उज्ज्वल बन्दै गएको लामो समयदेखि फोटो पत्रकारिता गर्दै आएका युवा पत्रकार आरके अदिप्त गिरी बताउँछन् । उनको कथनमा अहिले पनि साहसिक पर्यटनले कुश्मालाई विश्वसामु चिनाइरहेको छ भने बन्दै गरेका नयाँ संरचनाले साहसिक पर्यटनको क्षेत्रमा अरु नयाँ आयाम थप्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७