निर्मला हत्या काण्ड : पक्राउ परेका रावलले स्वीकारे हत्या, आइजीपीको अगाडि यसरी खोले मुख


२० मंसिर २०७५, बिहीबार
Nirmala panta

काठमाडौं, २० मंसिर । झण्डै चार महिनादेखि सिङ्गो प्रहरी संगठन र सरकारको टाउको दुखाइको विषय बन्दै आएको बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घण्टा निष्कर्षतिर अगाडि बढ्न थालेको छ ।

Nirmala panta

प्रहरीले पक्राउ गरेका बालिका पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन् । केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेको प्रहरीले दावी गरेको छ ।

गए राति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले जानकारी दिएको छ ।

सीआईबीले रावलसँग गए राति १० बजेदेखि बिहान २ बजेसम्म बयान लिएको जनाइएको छ । सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकारेको स्रोतले जनाएको छ । घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ । यसको रिपोर्ट भने शुक्रबार मात्र आउने बताइएको छ ।

रावलसँगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरिएको जनाइएको छ । उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । निर्मलाका छिमेकी रावलका बुबा आमा भारतमा बस्दै आएका छन् ।

निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो ।

रावललाई महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ । गए रातिको साविति बयानमा आईजीपी खनालका साथमा सिआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीलगायत सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७