कामपाका वडा कार्यालय भवन अब एकै स्वरुप र आफ्नै जग्गामा


२१ मंसिर २०७५, शुक्रबार
kathmandu Metro P4rarKAhMt

काठमाडौं, २१ मंसिर । काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालय भवन एउटै नमूनामा निर्माण गर्ने भएको छ ।

kathmandu Metro P4rarKAhMt

केही वडामा भूकम्पअघि पनि वडा कार्यालय भवन नभएको र भएका केहीको पनि भूकम्पका कारण क्षति भएकाले वडा कार्यालय भवन निर्माणको तयारीमा महानगर जुटेको हो ।

नयाँ निर्माण गरिने सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण गरिने र एउटा वडामा जसरी निर्माण गरिन्छ अन्य वडाले पनि सोही अनुरुप एकरुपता कायम गरी निर्माण गर्नुपर्ने कामपाले जनाएको हो ।

धेरै वडामा कार्यालय भवन भाडामा लिएर कामकाज भइरहेको छ, भवन नहुँदा काम गर्न कठिन हुनाका साथै सेवाग्राहीलाई सहज रूपमा सुविधा दिन पनि नसकिरहेकाले नयाँ भवन निर्माण गर्न लागिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

उनले भने, ‘भाडामा बसेर काम गर्दै आएका वडा नं ३, ४ र २६ वडाको कार्यालय भवनको निर्माण पुसको पहिलो सातामा शुरु गरिन्छ भने वडा नं ८, ९, १४ र ७ को भवन निर्माणका लागि बोलपत्र आह्वान भैसकेको छ ।

यही मंसिर अन्तिमसम्ममा निर्माणको जिम्मा कसलाई दिने भन्ने निर्णय समेत आइसक्ने प्रमुख शाक्यले बताए ।
सबै नयाँ भवन सम्बन्धित वडाका आफ्नै जग्गामा निर्माण गर्न लागिएको हो । एउटा कार्यालय भवन निर्माणका लागि रु दुई करोड ५० लाख लाग्ने अनुमान पनि कामपाको छ ।

चालु आवभित्रै सम्पन्न गर्ने गरी कामपाले सात वडामा नयाँ भवन निर्माण गर्ने तथा आफ्ना भवन भएका र भूकम्पका कारण सामान्य क्षति भएका केही वडाको तला थप गर्ने काम पनि अघि बढाइएको भौतिक पूर्वाधार महाशाखा प्रमुख नारायणबाबु भट्टराईले बताए ।

आफ्नो भवन नहुँदा काम गर्न समस्या भएपछि वडाले पहिचान गरेको खाली जग्गामा भवन निर्माण गर्न लागिएको छ । कूल ३२ वडा रहेको कामपामा हालसम्म वडा नं ३, ६ र २९ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको र वडा नं ३ मा १५ रोपनी, ६ मा १० रोपनी र २९ मा ९ रोपनी सार्वजनिक जग्गा छ ।

कामपाले चालु आव २०७५–७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेकामा भौतिक पूर्वाधार निर्माणका रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको थियो ।

केन्द्रको काम सात स्थानबाट हुँदा नागरिक मर्कामा

वडा कार्यालय भवन मात्रै होइन, कामपाको केन्द्रीय कार्यालयको भवन पनि विभिन्न सात स्थानमा छरिएर रहेको छ । यसरी कार्यालय भवन एकै स्थानमा नहुँदा सेवाग्राहीलाई समस्या परेको छ । हाल कामपामा १३ विभाग छ ।

भूकम्पअघि हालको हरिभवनबाट नागरिकलाई सेवा दिँदै आएको कामपाले भूकम्प गए लगत्तै राष्ट्रिय सभागृहबाट सेवा दिँदै आएको थियो । अहिले केही विभाग सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा र केही राष्ट्रिय सभागृहमा पनि छ ।

त्यस्तै वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा छन् ।

त्यस्तै नक्सा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाट नै सेवा दिँदै आएका छन् भने महानगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुन्धारामा रहेको जेडिए कम्प्लेक्समै बसेर काम गरिरहेकी छन् ।

शिक्षा विभाग सरेकोबारे जानकारी नहुँदा नागरिकले समस्या भोग्नाका साथै समयको बर्बादी पनि भइरहेको छ । महानगरका उपप्रमुख खड्गी यी सबै समस्या भूकम्पका कारण भएको बताउँछिन् ।

कामपाको केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि हरिभवन भत्काउने चर्चा चलेपछि सर्वोच्च अदालतमा मुद्दा परेको र अहिले उक्त मुद्दा विचाराधीन अवस्थामा रहेकाले ठोस निर्णय हुन सकेको छैन । केन्द्रीय कार्यालय र धेरै वडा कार्यालय भवन भाडामा लिएर काम गर्नुपर्दा हाल कामपाले मासिक लाखौँ रुपैँया भाडाका लागि गर्चिनु परेको छ ।

‘नागरिकलाई सास्ती दिने कामपाको उद्देश्य नभई कार्यालयका लागि भाडाको भवन खोज्ने क्रममा जहाँँ प्राप्त हुन्छ त्यहीँ लिइएको हो । महानगरमा धेरै विभाग छन्, त्यसमा प्रमुख र उपप्रमुखका लागि पनि त छुट्टै स्थान चाहियो, विकल्प नभएर नै नागरिकले समस्या भोग्नुपरेको हो’, कामपाका सूचना अधिकारी बसन्त आचार्यले भने ।

टेकुमा रहेको वातावरण विभागले भूकम्प अघिदेखि नै नागरिकलाई उक्त स्थानबाट सेवा दिँदै आए पनि अन्य विभाग भने भूकम्पपछि र केही त तीन महिनाअघि मात्र सुन्धाराबाट अन्यत्र सरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७