बैठक होइन, शैलीलाई बहिष्कार गरिएको हो : वामदेव गाैतम


२३ मंसिर २०७५, आईतवार
Bamdev Gautam 2

पार्टीको बैठक बोलाउने, पटकपटक स्थगित गर्ने र बैठक बस्ने दिन पनि पर्खाएर अपमान गर्ने परम्परा बसेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार शीर्ष नेताले २२ मंसिर २०७५ मा केन्द्रीय सचिवालय बैठक बहिष्कार गरे । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बोलाइएको बैठकमा पनि कुराएर अपमान गरिएको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बहिष्कार गरेका हुन् ।

९ सदस्यीय सचिवालयमा ४ जना शीर्ष नेताले बैठक बहिष्कार गरेसँगै अध्यक्षद्वय ओली र प्रचण्डसहित ५ जनाको बहुमतले बैठक संचालन गरेको थियो । महासचिव पौडेल, सचिवालय सदस्यद्वय रामबहादुर थापा ‘बादल’ र ईश्वर पोखरेलले बैठक संचालनका लागि अध्यक्ष ओली र प्रचण्डलाई साथ दिएका थिए । बहिस्कार किन त ? नेता वामदेव गौतमसँगको कुराकानी :

तपाईंहरू चारजना नेताले किन बैठक छाडेर हिँड्नुभो ?
हामी किन हिँड्यौँ, सबैले देखेका छन् । धेरै कारण छन् । हामीले यो पार्टीलाई राजनीतिक पार्टीका रूपमा कसरी सञ्चालन गर्नुपर्छ भन्ने शिक्षा दिनका लागि बैठक हुनुभन्दा पहिल्यै निस्किएर हिँडेका हौँं, बैठक बहिष्कार गरेका होइनौँ ।

बैठक बोलाउने, ३ घन्टासम्म कुराएर बैठक स्थगित गर्ने, दुवैजना अध्यक्ष उपस्थित नहुँदा बैठकै नबस्ने, सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीका कारण बैठक सरेकोसरेकाे हुने, अब त्यो परम्परा तोड्नुपर्छ भनेर बैठक बहिष्कार गरेका हौँ ।

Bamdev Gautam 2
वामदेव गाैतम

नौमध्ये चार नेताले बैठकै छाडेर हिँडेपछि अध्यक्षहरूले सम्पर्क गर्नुभएन ?
मलाई चाहिँ पछि दुवै अध्यक्षले फोन गरेर फर्किनुस् भन्दै बोलाउनुभयो । तर, हामी कोही पनि गएनौँ । मैले फर्किन्नँ भन्ने जवाफ फर्काएँ । हामी निस्किएपछि ५ जनाको बैठकले २९ गते स्थायी समिति बैठक बोलाउने निर्णय गर्नुभएछ ।

तपाईंहरू हिँडे पनि पाँचजनाको बहुमतले निर्णय भएको छ, त्यसले के अर्थ राख्छ र ?
आजसम्म हाम्रो पार्टीमा दुईजना अध्यक्षमध्ये एकजना उपस्थित नहुँदा बैठक नबस्ने, अनौपचारिक भेला मात्रै गर्ने परम्परा थियो । अब त्यो परम्परा तोडियो । अबदेखि दुईमध्ये एक अध्यक्ष मात्र उपस्थित हुँदा पनि बैठक बस्छ, पार्टी सञ्चालन हुन्छ ।

हामी नै बैठक बसाउँछौँ । कोरम पुगेको स्थितिमा बैठक बस्छ, निर्णय गर्छ । हामीसँग बदला लिनकै निम्ति उहाँहरूले निर्णय गरेको भए पनि पार्टीलाई अगाडि बढाउने सिलसिलामा सकारात्मक पहल नै भएको छ भन्ने हामीले बुझेका छौँ । यसले पार्टीलाई राम्रै गरेको छ ।

त्यसो भए बैठकको निर्णय मान्नुहुन्छ ?
किन नमान्ने ? कोरम पुगेर गरेको निर्णय मानिन्छ नि । हाम्रै बारेमा या मेरै बारेमा पनि जे निर्णय बैठकले गरेको छ, त्यो मान्छु, तर निर्णय विधिवत् ढंगले गरिएको हुनुपर्छ । अबका दिनमा प्रधानमन्त्रीले समय निकाल्न सक्नुभएन भने बाहिर रहनुभएका अध्यक्षको नेतृत्वमा बैठक बस्छ, निर्णय गरिन्छ । हाम्रो उपस्थितिविनाको निर्णयले यो परम्परा बसालेकाले अब पार्टी सकारात्मक ढंगले अघि बढ्छ ।

यो प्रकरणले पार्टीमा के संकेत गरेको छ ?
चारजनाले बैठक बहिष्कार गरेको होइन, उहाँहरूको शैलीलाई बहिष्कार गरिएको हो । अध्यक्ष पदका कारण उहाँहरू वरिष्ठ हुनुहुन्छ । आन्दोलनको हिसाबले, अरू धेरै हिसाबले उहाँहरूको समकक्षी कमरेडलाई ३ घन्टासम्म कुराइएको इतिहास छ । मुख्य कुरा अबदेखि त्यस्तो स्थिति समाप्त भएको छ । कसैलाई कुराउनुहुने छैन, समयमा आउनुहुनेछ, त्यो परम्परा बस्छ ।

सरकारीनिवास बालुवाटारमा बैठक बसेकोमा पनि आपत्ति हो ?
शनिबार हामीले त्यो कुरा उठाउन पाएनौँ । तर, भविष्यमा उठाइनेछ । हरेक बैठक प्रधानमन्त्रीनिवासमा हुन सक्दैन, पार्टी कार्यालयमै बस्नुपर्छ भन्ने मेरो मान्यता हो । आगामी सचिवालय बैठकमा म यो कुरा राख्छु ।

प्रधानमन्त्री शक्तिशाली हुनुहुन्छ, प्रधानमन्त्रीकै अध्यक्षतामा प्रधानमन्त्री निवासमा बैठक बस्छ, अनि अनेक हिसाबले त्यो प्रभावित हुने स्थिति पार्टी कार्यालयमा बस्दा हुनेछैन, त्यसैले पार्टी कार्यालयमै बैठक बस्नुपर्छ । प्रधानमन्त्री पार्टी कार्यालय जान सक्नुभएन भने अर्को अध्यक्षको नेतृत्वमा बस्छ ।

प्रदेश कमिटी सदस्यहरूको नाम सार्वजनिकबारे तपाईंको के प्रतिक्रिया छ ?
त्यसरी नाम सार्वजनिक गर्नै हुन्नथ्यो । हामी स्थायी समितिमा दृढतापूवर्क मत राख्छौँ । त्यो परम्परा तोड्नुपर्छ । स्थायी समितिले अधिकार प्रत्यायोजन गरेको अवस्थामा मात्रै सचिवालयले निर्णय गर्न पाउँछ । स्थायी समितिले नै निर्णय गर्नुपर्छ भन्ने कुरा राखिन्छ । सार्वजनिक गरिएको नामको सूची स्थायी समितिबाट अनुमोदन गर्नुपर्छ ।

-नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७