घुस र कमिसन हावी हुँदा प्रहरी बदनाम


२३ मंसिर २०७५, आईतवार

काठमाडौं, २३ मंसिर । पछिल्लो समय नेपाल प्रहरीका अधिकृत तथा तल्लो तहका प्रहरीहरू अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्टीङ अप्रेसनमा धमाधम पक्राउ पर्न थालेका छन् । तर पनि कमिसन र घुस लिन अझै उनीहरू डराएका छैनन् ।

nepal police

विशेष गरेर घुमुवाका रूपमा परिचालित सिभिल प्रहरीहरू र मुद्दा शाखामा कार्यरत प्रहरीहरू बढी घुस र कमिसन लिने कार्यमा संलग्न भएको देखिन्छ । घुमुवा र मुद्दामा बस्नेहरू अधिकांशतः वर्षौंवर्षदेखि बसिरहने भएका कारण पनि उनीहरूको गैरकानुनी कार्य गर्नेहरूसँगको सम्बन्ध नजिक हुने गर्दछ र त्यसैको फाइदा उनीहरूले उठाउने गर्दछन् । आवधिक सरुवाको नियम कडाइका साथ लागू नगर्दा प्रहरीमा घुस लिने क्रम बढेको छ । एकातर्फ प्रहरी संगठनले अपराधीहरू पत्ता लगाउन नसकेको आरोप लागेर प्रहरी संगठन नै बदनाम भइरहेका बेला घुस र कमिसनका कारण पनि पछिल्लो समय प्रहरी झनै बदनाम हुँदै आएको छ ।
निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणदेखि पूर्वराजदूत केशव झासम्मको प्रकरणसम्म आइपुग्दा प्रहरीले अभियुक्त पक्राउ गर्न नसकेपछि प्रहरीको अनुसन्धानमाथि नै औँला उठ्न थालेको बेला यसै सातामात्रै दुई जना असईहरू घुस प्रकरणमा पक्राउ परेपछि निलम्बन हुन पुगे । झापामा धरौटीमा छुटेका व्यक्तिलाई थुनामुक्त गर्न १५ हजार रूपैयाँ मागेपछि असई उत्तमकुमार कार्की निलम्बित भएका छन् । अभद्र व्यवहारसम्बन्धी मुद्दामा मेचीनगर–१३ का यादव भट्टराईलाई जिल्ला प्रशासन कार्यालयले ८ हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश दिए पनि प्रहरीले घुस मागेपछि यो कुरा बाहिर आएको थियो ।
इलाका प्रहरी कार्यालय, अनारमनीले मंसिर १० मा भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा छुटाइदिए वापत भन्दै प्रहरीले पीडितसँग १५ हजार रूपैयाँ लिएको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय, झापाले अनुसन्धान थालेको थियो । घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा समिति नै गठन भएको थियो । समितिको प्रारम्भिक अनुसन्धानले घटनामा प्रहरी चौकी, चारआलीमा कार्यरत प्रहरी सहायक निरीक्षक उत्तमकुमार कार्कीको संलग्नता देखिएपछि उनलाई निलम्बन गरेको हो । घटनामा इप्रका अनारमनीका प्रहरी नायब निरीक्षक उत्तम कार्की पनि संलग्न भएको आरोप लागेको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको छ ।
यसैगरी साढे ६ हजार घुस लिएको आरोपमा अर्का असई निलम्बनमा परेका छन् । सीमा नाकामा तस्करी गर्ने व्यवसायीसँग घुस लिएको अभियोगमा पर्सा प्रहरीले प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद साहलाई निलम्बन गरेको छ । उनी प्रहरी चौकी गुणगाईंमा कार्यरत थिए । उनलाई गत शनिवार जिल्ला प्रहरी कार्यालयको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको थियो । एक व्यवसायीसँग छ हजार पाँच सय घुस लिइरहेको बखत साह पक्राउ परेका थिए ।
एसपी दर्जाका अधिकृतले असईलाई निलम्बन गर्न नसक्ने कानुनी व्यवस्था भएका कारण निलम्बनका लागि २ नम्बर प्रदेश कार्यालयलाई सिफारिस गरेपछि प्रदेश प्रमुख डिआइजी हरि पालले साहलाई निलम्बन गरेका छन् । केही दिनअघिमात्रै पनि बारा एसपीले घुमुवाका रूपमा परिचालन गरेका एक हवल्दारहरू घुस लिँदै गर्दा पक्राउ परेपछि उनकै बयानका आधारमा अर्का हवल्दार पनि अहिले अख्तियारको हिरासतमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७