सार्वजनिक बसमै बेहोस बनाएर लुटियो नगद र सुन


२४ मंसिर २०७५, सोमबार
behos

मोरङ्ग, २४ मंसिर । सुनसरीका एक युवालाई सार्वजनिक बसमै वेहोस बनाएर नगद र सुन लुटिएको छ ।

behos

विराटनगर-काठमाडौँबाट विराटनगरका लागि छुटेको कोशी डिलक्स बसभित्र बेहोस बनाएर धनकुटाको साँगुरी गढी गाउँपालिका ३ घर भई सुनसरीको धरान उपमहानगरपालिका ११ मा बसोबास गर्दै आएका ३५ वर्षीय खगेन्द्र लिम्बूलाई लुटिएको हो ।

सुनसरीको इटहरीमा झर्ने गरी काठमाडौँको गोङ्गबुबाट ना ६ ख १५६१ नम्बरको यात्रुवाहक बसमा चढेका ३५ वर्षीय खगेन्द्र लिम्बूलाई विराटनगरमा बेहोस अवस्थामा आइतबार आफन्तको जिम्मा लगाइयो ।

यात्राकै क्रममा बेहोस भएको भन्दै बसका कर्मचारीले उनलाई विराट नगर बसपार्कमा ल्याएर आफन्तको जिम्मा लगाएका हुन् । उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिए पनि त्यहाँबाट रेफर गरेर थप उपचारका लागि लिम्बूलाई नोबेल शिक्षण अस्पताल पठाइएको थियो ।

नोबेलको आईसीयूमा राखेर उनको उपचार थालिएको छ । उपचारमा संलग्न नोबेलका चिकित्सक आशिष चौधरीले अहिलेसम्म बेहोस हुनुको कुनै कारण खुल्न नसकेको बताए ।

‘हाम्रै निगरानीमा राखेर ल्याबदेखि विभिन्न परीक्षणहरू गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म बेहोस हुनुको कुनै कारण खुल्न सकेको छैन ।’ बिरामीमा देखिने लक्षणका आधारमा मात्रै उपचार गर्ने काम भइरहेको डा. चौधरीको भनाइ छ । उनले कुनै वस्तु सुँघाएर बेहोस बनाएको हुन सक्ने पनि बताए ।

सोमबार दिउँसोबाट होसमा आएका लिम्बूले धनुषाको ढल्केबरमा ओर्लिएर चिया खाएर गाडीमा चढेपछि आफूलाई केही पनि थाहा नभएको बताएका छन् । उनले आफूसँग दुबईको सात सय रुपैयाँ र नेपाली २६ हजार रुपैयाँ साथमा रहेको जानकारी दिएको दाजु प्रेमकुमार लिम्बूले बताए ।

साथमा फेला परेको पैसा राख्ने पर्स भने खाली अवस्थामा फेला परेको तथा दुबईको सात सय, नेपाली २६ हजार रुपैयाँ र १० ग्रामको सुनको औँठी भने नभेटिएको दाजु प्रेमकुमारको भनाइ छ ।

उनले पैसा र औँठी फेला नपरे पनि साथमा रहेको मोबाइल तथा घाँटीमा लगाएको सुनको सिक्री चाँही भेटिएको जानकारी दिए । पत्नी सकुन्तलाका अनुसार डेढ वर्ष अघि वैदेशिक रोजगारीका लागि दुबई गएका खगेन्द्र दाजुकी छोरीको विवाहका लागि भनेर नेपाल फर्किएका थिए ।

दुबईबाट काठमाडौँ आइपुगेपछि खगेन्द्र घर आउनका लागि शनिवार साँझ इटहरीका लागि कोशी डिलक्स गाडी चढेका हुन् । तर बसका कर्मचारीले इटहरीमा ओराल्न खोज्दा बेहोस भएको पाइएपछि कसैलाई पनि खबर गर्न नसकेकाले विराट नगर बसपार्क ल्याएर मात्रै आफन्तलाई जानकारी दिएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७