गोरखापत्र संस्थानको सल्लाहकारमा वरिष्ठ पत्रकार टीकाराम राई नियुक्त


२७ मंसिर २०७५, बिहीबार
Tika Ram Rai

काठमाडौं, २७ मंसिर:  सरकारले गोरखापत्र संस्थानको सल्लाहकारमा वरिष्ठ पत्रकार पत्रकार टीकाराम राईलाई नियुक्त गरेको छ । सरकारले गोरखापत्र संस्थानको व्यवस्थापन, मार्केटिङ तथा प्रिन्टिङसम्बन्धी मामिला हेर्नेगरी राईलाई सल्लाहकार पदमा नियुक्त गरेको हो ।

Tika Ram Rai
टीकाराम राई

गत सोमबार (२४ मंसिर २०७५) बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई सल्लाहकारमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानारी दिए । ‘काठमाडौं टूडे’, रेडियो सगरमाथा लगायतका सञ्चार संस्थाको नेतृत्व गरेका राई नेपाली आम सञ्चार क्षेत्रमा गहिरो ज्ञान भएका पत्रकार तथा विश्लेषक हुन् ।

राई अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गठित सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिका सदस्य थिए । सोही समितिले बनाएको राष्ट्रिय आमसञ्चार नीति, २०७३ लाई कार्यान्वयनका लागि बनाइएको राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय समितिमा पनि नियुक्त भएका थिए । उनीसँग नेपाल वातावरण पत्रकार समूहको कार्यकारी निर्देशकको रुपमा काम गरेको अनुभव छ ।

राई सञ्चार मन्त्रालयले गोरखापत्र संस्थान अध्ययन एवं छानवीन गर्न विष्णु रिजालको संयोजकत्वमा बनेको समितिको सदस्य हुन् । कागज खरिदमा अनियमितता गरेको निष्कर्षसहित समितिले प्रतिवेदन बुझाइसकेको छ ।

मुलुकी ऐन (अपराध) संहिताको प्रेस तथा अभिव्यक्ति स्वतन्ता अध्ययन कार्यदलको सदस्य रहेका उनी आमसञ्चार नीति मस्यौदा समितिमा विज्ञ सदस्य हुन् ।

राईले यो नियुक्तीलाई गोरखापत्र संस्थानको आन्तरिक जीवनलाई गुणत्मक परिवर्तन गर्ने महत्वपूर्ण अवसरको रुपमा आफूले सदुपयोग गर्ने बताए । पत्रिकालाई व्यावसायिक, स्तरीय, आधुनिक प्रविधिमैत्री र प्रतिस्पर्धात्मक बनाउनमा योगदान गर्ने उनको भनाई छ । गोरखापत्र संस्थान भित्र शुसासन कायमका लागि पनि आफू लाग्ने राईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७