उपत्यकाका ट्याक्सीको अनुगमन गर्न सादा पोसाकमा प्रहरी, तीन सय चालक कार्वाहीमा


२९ मंसिर २०७५, शनिबार

काठमाडौं, २९ मंसिर । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कार्वाही तीव्र पारिएको छ ।

ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कार्वाही गरेको छ । लगातार पाँच पटकसम्म कार्वाही परेमा चालक अनुमतिपत्र ६ महिनाका लागि निलम्बन गर्न सकिने कानूनी व्यवस्थाअनुसार सो अभियान थालिएको प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्था विभागसँगको समन्वयमा मंसिर २० गतेबाट नियम विपरीत चल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने योजनाअनुसार अभिलेख राख्न शुरु गरेको हो ।

सो अभियानअन्तर्गत अहिलेसम्म ३०० बढी चालक कार्वाहीमा परेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी खाली भएर पनि यात्रु चढाउन नमान्ने १८९ जना चालकलाई कार्वाही गरिएको छ ।

यस्तै भाडा मोलमोलाइ गर्ने ९८ जना, मिटर बिगार्ने र प्रयोजनविपरीत प्रयोग गर्ने २० जनालाई कार्वाही गरिएको सापकोटाले बताए । मंसिर महिनाभरिमा भने ७६५ ट्याक्सी चालक कार्वाहीमा परिसकेको उनको भनाइ छ ।

निलम्बन प्रक्रियामा भने मंसिर २० गतेपछिको कार्वाहीमा परेका ट्याक्सी चालकमा मात्र लागू हुनेछ । पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्नेको अनुमतिपत्र नै निलम्बन हुने गरी विशेष अभियान शुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तको भनाइ छ ।

उनीहरुलाई सादा पोशाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न थालिएको छ । अभियानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५० भन्दा बढी सादा पोशाकका ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

पहिचान हुने बित्तिकै उनीहरुलाई महाशाखामा ल्याइने, रु तीन हजार जरिवाना तिराइने र उनीहरुको अभिलेख राखिनेछ । लगातार पाँच पटकसम्म रु तीन हजारका दरले जरिवाना लाग्ने र त्यसपछि अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिश गरिने प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७