५६ हजार दोलखाबासीले माथिल्लो तामाकोशीको रकम फिर्ता पाउँदै


१ पुष २०७५, आईतवार
money

काठमाडौं, १ पुस । दोलखाका झण्डै ५६ हजार स्थानीयले माथिल्लो तामाकोशीको शेयर बाँडफाँडपछि बढी भएको रकम फिर्ता पाउने भएका छन् ।

money

लामो समयपछि दोलखावासीले आइतबारदेखि पैसा फिर्ता पाउन थालेका हुन् । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर खरिदका लागि स्थानीयवासीको बढी भएको रकम प्रत्येक बैङ्कबाट आइतबारदेखि वितरण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ ।

सह–निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा पाएको सनराइज क्यापिटल लिमिटेडले विभिन्न कारणले फिर्ता रकम नपाएका झण्डै ५६ हजार दोलखालीको नाममा जिल्लाका सम्पूर्ण बैङ्कमा चेक पठाएको हो ।

उक्त चेक शुक्रबार नै सबै बैंकमा पठाइएकोले आइतबारदेखि रकम वितरण शुरु भएको छ । आफ्नो बैंक खातामा अहिलेसम्म पनि फिर्ता रकम नआएको भए दोलखावासीले यसअघि शेयर फारम बुझाएको बैंकमा पुगी रकम लिन सक्ने आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिएका छन् ।

पैसा फिर्ता लिन शेयर आवेदन फारमको अर्धकट्टी लिई यसअघि फारम बुझाएको बैंकमा जानुपर्नेछ । शेयर बाँडफाँड भएको डेढ महिनासम्म ५६ हजार दोलखावासीले बाँकी रकम फिर्ता पाएका थिएनन् । खाता नम्बर नमिलेको, केवाइसी अपडेट नभएको, नाम नमिलेकोलगायतका कारण लगानीकर्ताले पैसा फिर्ता पाएका थिएनन् । दोलखावासीको शेयर कात्तिक १४ गते बाँडफाँड गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७