नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक


२ पुष २०७५, सोमबार
khopre leck

म्याग्दी, २ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोप्रालेक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ ।

khopre leck

समुदायले पूर्वाधार निर्माण र प्रचार प्रसार गरेर खर्कलाई पर्यटकीय गन्तव्यस्थलमा रुपान्तरण गरेका हुन् । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोप्रामा स्वदेशी र विदेशी पर्यटकको चाप बढेको त्यहाँ रहेको सामुदायिक लजका प्रबन्धक नवीन पुनले बताए ।

असोज–कात्तिकको पछिल्लो याममा करीब एक हजार पर्यटक आएका छन् । सन् २०१७ मा एक हजार विदेशी पर्यटक आएका थिए । प्राकृतिक, जैविक र भौगोलिक हिसाबले पनि मनमोहक खोप्राबाट मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरि, धौलागिरि, गुर्जालगायतका दर्जनाैं हिमश्रृङ्खलालाई नजिकबाट अवलोकन गर्न पाउनु यहाँको प्रमुख विशेषता हो ।

खोप्राबाट सूर्योदयको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडी बस्तीको अवलोकन गर्न सकिन्छ । ५० भन्दा बढी प्रजातिका जडीबुटी तथा हिमाली वनपैदावारका साथै एक दर्जन प्रजातिका लालीगुराँस पाइन्छन् ।

मृग, घोरल, डाँफेलगायत जङ्गली जनावर र पशुपंक्षीको अवलोकन गर्न सकिने पाउद्धारका अगुवा भीमबहादुर तिलीजाले बताउनुभयो । समथर भूगोलको चरनमा पालिएका चाैंरी, गाई, बाख्रा र भेँडाका बथानले पर्यटकलाई लोभ्याउने गरेको छ ।

एकै ठाउँमा प्रकृतिको धेरै किसिमका सौन्दर्यको अनुभव लिन पाएको गत हप्ता खोप्रा भ्रमणमा गएकी बागलुङकी प्रमिला कुँवरले बताइन् । पहाडको टाकुरामा रहेका भिरालो पाखोबाट पृष्ठभूमिमा देखिने दन्तलहरझैं हिमाल, तलतिरका वन, टाढाटाढाका मनमोहक पहाडी भूगोल एवं ग्रामीण बस्तीहरु, बिहानीमा देखिने सूर्योदयले मन छोएको पोखराकी प्रशन्न खड्काले बताए ।

वसन्त ऋतुमा खोप्रा वरपरका पाखो लालीगुराँस फुलेर रङ्गिन्छ । बर्खायाममा रङ्गीबिरङ्गी बुकी फुलेर वातावरणमा उमङ्ग थपिन्छ । बादलले एकैछिनमा हिमाललाई ढाक्ने र केही समयमा खुल्ने गरेको दृष्य बादल र हिमालले लुकामारी खेलेजस्तो लाग्छ ।

खोप्रामा सूचना प्रविधिका अभियन्ता महावीर पुनले बेतारे इण्टरनेटको रिपिटरटावर, मौसम सूचना केन्द्र सञ्चालन गरेका छन् । खोप्रा, वयली, डाँडाखर्कका सामुदायिक लजमा पुनकै पहलमा ५० किलोवाट क्षमताको घोस्केखोर लघुजलविद्युत् परियोजना निर्माण गरी २४सै घण्टा विद्युत् आपूर्ति गराइएको शिखका अगुवा बागवीर पाइजाले बताए ।

पर्यटकको चाप बढेपछि विसं २०६५ मा स्थापना भएको २४ जना क्षमताको सामुदायिक लजको क्षमता विस्तारको तयारी गरिएको छ । अहिले क्षमताभन्दा बढी पर्यटक आउँदा टेन्टमा सुत्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७