चक्रपथमा सडक विभागले खनेर छाडेको खाल्डामा जाकियो जीप


२ पुष २०७५, सोमबार
Untitled 5 1

काठमाडौं, २ पुस । सडक विभागको लापर्वाहीका कारण आज राजधानीको चक्रपथमा एउटा जीप दुर्घटनामा परेको छ ।

Untitled 5 1

राजधानीको गोंगबु चक्रपथमा सडक विभागले खुला छोडेको खाल्डोमा परी उक्त निजी जीप (एसयूभी) दुर्घटनामा परेको हो । सोमबार बिहान ८ बजे सामाखुसीबाट गोंगबुतिर जाँदै गरेको बा १४ च ९६३७ नम्बरको गाडी गोंगबु चोक पुग्न २० मिटर बाँकी रहँदै फर्काएर गरेर पुनः सामाखुसीतर्फ मोडिन खोज्दा सडक विभागले त्यतिकै छोडेको खाल्डोमा परेको हो ।

१० वर्षदेखि गाडी चलाउँदै आएका काठमाडौंका युद्धबहादुर चौलागाई आफूले सडकको बीचमा रहेको अगाडिको खाल्डो नै नदेखेर दुर्घटनामा परेको बताएका छन् । उनले भने, यो सडकमा निरन्तर गाडी चलाउँदै आइरहेको छु, तर, कहिले खाल्डो खनेर छाडिएको थियो भने थाहा नै भएन ।’

स्थानीयबासी विकास आचार्यका अनुसार सडक विभागले खनेर छोडेको खाल्डोमा परेर दुर्घटना भइरहेको जानकारी दिएका छन् । दुर्घटनामा परेको जीपलाई प्रहरीले क्रेन ल्याएर खाल्डोबाट बाहिर निकालेको छ ।

विभागले राजधानीका धेरै जसो ठाउँमा खाल्डो खनेर त्यसै छोड्ने गरेको छ । यसअघि पनि बल्खुमा सडक विभागले खुला छोडेको खाल्डोमा परेर साइकल यात्रीको मृत्यु भएको थियो । सडकमा खनेको खाल्डा त्यतिकै छाड्नु सडक विभागको चरम लापर्वाही भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७