सातै प्रदेशका उपसभामुखहरूको गुनासो, ‘हामी अन्यायमा पर्‍यौं’


२ पुष २०७५, सोमबार
radhika tamang

काठमाडौं, २ पुस । सातै प्रदेशका उपसभामुखहरूले आफूहरू अन्यायमा परेको बताएका छन् । उनीहरूले भूमिकामा मात्र नभएर मर्यादाक्रममा आफूहरू अन्यायमा परेको गुनासो पोखेका छन् । सङ्घीय संसद् सचिवालयले सोमबार आयोजना गरेको अन्तरक्रियामा सातै प्रदेशका उपसभामुखहरूको सबैको एकै खालको समस्या सुनाएका हुन् ।

radhika tamang

उपसभामुख ठुलो जिम्मेवारीको पद हो, वृत्ति विकासका लागि यो ठुलो अवसर र चुनौतीका रूपमा लिएका छौँ, ‘सभामुख बिरामी परेको बेला र पालो दिन पर्दा मात्रै उपसभामुखलाई सभा सञ्चालन गर्न दिने अभ्यास सुधार्नपर्ने उनीहरूको भनाइ थियो । ‘जनताका कुरा अरू सांसद जसरी कड्केर राख्न पनि पाइन्न, यो कार्यकाल सकिएपछि अहिलेकै भूमिकाले जनतामा जाँदा बास पनि पाइन्न कि जस्तो छ,’ उपसभामुखहरूको सामूहिक धारणा थियो ।

कतिपय सार्वजनिक कार्यत्रममा सहभागी हुने क्रममा सम्बोधन त परै जाओस् बस्ने कुर्सीसम्मको व्यवस्था नहुँदा असजिलो अनुभव लागेको घटना सुनाउँदै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले भनिन्, ‘बिरामी र आवश्यकता परेको बेला मात्र भूमिका किन !’

प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले मुलुकका सातै प्रदेशसभामा महिलालाई मात्र उपसभामुखको जिम्मेवारी दिए पनि आफूहरूले यसलाई उपलब्धिकै रूपमा लिएको धारणा व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘बोल्न पनि नमिल्ने, भूमिका पनि नहुने, मूर्ती बसेजस्तो बसिरहनुपर्ने, बजेट पनि नहुने रहेछ, अनुभवको कमीले होला कडा रूपमा प्रस्तुत हुन सकिएको छैन ।’

प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले विगतमा सक्रिय जिम्मेवारीमा रहेर काम गरेको अनुभवका आधारमा यो पद पाए पनि उपसभामुखमा रहँदा खुम्चिएको अनुभव भएको गुनासो पोखिन् । उनले भनिन्, ‘विशिष्ट भनिए पनि आफूले नियुक्त गरेको प्रदेश सचिवभन्दा उपसभामुखको मर्यादा क्रम तल छ, धेरै जिम्मेवारी खोज्दा सभामुखले अन्यथा लिन सक्ने अवस्था आउन सक्छ, खुम्चिएर बस्दा वृत्ति विकासमा अवरोध हुन पुग्दछ ।’

प्रदेश नं ७ का उपसभामुख निर्मूल जोशी, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती, प्रदेश नं ५ का उपसभामुख कृष्णा थारू, प्रदेश नं २ का उपसभामुख उमा देवले सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वयका साथ कानुन निर्माण गरेर विकास र समृद्धि हासिल गर्ने कार्यक्रम बनाएर अघि बढ्न आवश्यक रहेको सामूहिक धारणा व्यक्त गरेका छन् । महिलासँग सम्बन्धित समाचार सानो, भित्री पातामा नदेखिने स्थानमा छाप्ने प्रवृत्तिमा सुधार ल्याउन सुझाव दिँदै उनीहरूले सभ्य र समतामूलक समाज निर्माणमा योगदान पुग्ने ढङ्गबाट समाचार सम्प्रेषण गर्न पत्रकारलाई सुझाव दिएका छन् ।

प्रदेश उपसभामुखका जिज्ञासाको जवाफ दिँदै प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्वाहाङफे र राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले विषयवस्तुप्रति अद्यावधिक, मिडिया मैत्री, सक्रिय र ऊर्जाशील भएर काम गर्न उनीहरूलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७