कांग्रेसमा कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित हुने


४ पुष २०७५, बुधबार
maha samitee batihak bikash dware

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच पार्टीको केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित गर्ने सहमति भएको छ ।

maha samitee batihak bikash dware

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार साँझ अबेरसम्म बसेको शीर्ष नेताहरुको बैठकले यस्तो सहमति जुटाएको हो । यो सहमतिसँगै जारी महासहमतिको बैठक कम्तीमा दुई दिन लम्बिने भएको छ ।

मङ्गलबारको महासमिति बैठकमा निकै तनावको अवस्था आए पनि अन्ततः कांग्रेस नेताहरु सहमतिकै आधारमा पार्टीलाई एकताबद्ध बनाएर लैजान सहमत भएका छन् ।
बैठकपछि कुरा गर्दै उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसमितिको संख्या १६१ हुने र सभापति एक, उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई–दुई जना सबै निर्वाचित गर्ने विषयमा सहमति जुटेको बताए ।

पदाधिकारीको संख्या आठ र केन्द्रीय सदस्यको संख्या १५३ जना हुने छन् । पदाधिकारीमध्ये कोषाध्यक्ष मात्रै निर्वाचित केन्द्रीय सदस्यहरूबाट मनोनीत गरिने प्रावधान विधानमा राख्ने तयारी भएको छ ।

अहिले सभापति, महामन्त्री र कोषाध्यक्ष एक–एकजना मात्रै निर्वाचित हुने व्यवस्था छ
नेपालको संविधानअनुसार कांग्रेसले पार्टी संरचनामा समावेशीतालाई उच्च प्राथमिकतामा राखेर संविधानकै क्लष्टरअनुसार समावेशी बनाउने सुनिश्चित गरेको छ । जस अनुसार कम्तीमा ३३ प्रतिशत महिला कार्यसमितिमा रहने छन् । प्रस्तावित केन्द्रीय समितिमा २० प्रतिशत अर्थात् ३३ जना केन्द्रीय सदस्य सभापतिबाट मनोनीत हुने छन् भने बाँकी सबै निर्वाचित हुने छन् ।  

उपसभापति निधिले नेताहरुबीचको सहमतिलाई बुधबार दिनको १२ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरिने, त्यसबाट अनुमोदन गरेर महासमिति बैठकमा पेश गरिने बताउनुभयो । विधानमा सहमति भएपछि छपाइका लागि दिनुपर्ने भएकाले विधानमाथिको छलफल पुस ५ बाट मात्रै सुरु हुनेछ ।

छपाइ गरेर बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बस्ने महासमितिको बैठकमा विधान पेश गरिने छ । मंसिर २९ देखि सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा जारी बैठक बुधबार मात्रै त्यहाँ बस्ने भएको हो । बुधबारको बैठकले आर्थिक, राजनीतिक, सांगठानिक र कोषाध्यक्षको आय व्ययको विवरणलाई परिमार्जनसहित पारित गर्ने छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस ५ देखि पार्टी केन्द्रीय कार्यालयमा बैठक सञ्चालन गर्न टेन्ट राख्ने कार्य भइरहेको र अन्य तयारीलाई पनि तीव्र बनाइएको बताउनु भयो । बैठक पुस ६ गतेसम्म चल्ने सम्भावना छ ।

सभापति शेरबहादुर देउवा बैठकमा उपस्थित नभए पनि टेलिफोनमा पदाधिकारीको संख्या र निर्वाचन प्रणालीबारे जानकारी गराउँदा सहमति जनाएका थिए । वरिष्ठ नेता पौडेल पक्षले सबै पदाधिकारी निर्वाचित हुनुपर्ने अडान राख्दै आएको थियो । यो सहमतिबाट अन्योलमा परेको महासमितिको बैठकले पनि अब गति लिने भएको छ ।

जारी महासमितिको बैठकबारे जानकारी दिदै केन्द्रीय सदस्य प्रदीप पौडेलले विधानको अभावमा छलफल खल्लो भएको बताए । पदाधिकारीलाई जिम्मेवारीसँग जोडिएको छैन, छलफल नीतिगत विषयमा भन्दा पदाधिकारीको संख्यामा सीमित भएको जानकारी उनले दिए ।

विधानमा सहमति नहुँदा मंगलबार ३ बजेपछि मात्रै महासमितिको बैठक बस्न सकेको थियो भने बैठकमा माइक तानातान समेत भएको जानकारी सहभागीहरुले दिएका छन् । महासािमतिको बैठक बुधबार बिहान ९ बजे बस्ने छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७