गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी


४ पुष २०७५, बुधबार
vdc

पर्वत, ४ पुस । महाशिला गाउँपालिकाले एकै पटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो ।

vdc

गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा १५ दिन घरमै बसेर उत्पादनमा समय खर्चने योजनासहित रोजगारी प्रदान गरेको हो । गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीका अनुसार सबैभन्दा बढी २२० जनालाई सडक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ ।

उनीहरुले सडक मर्मत, स्तरोन्नतिलगायतका काम गर्नेछन् । बीस जनालाई शिक्षक स्वयंसेवक बनाइएको छ भने २७ जनालाई विद्यालय स्वयंसेवक बनाएर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा खटाइनेछ ।

गाउँ प्रहरीको रूपमा ३४ जनालाई गाउँरक्षक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ । यस्तै १० जनालाई विद्युत् स्वयंसेवक, १० जनालाई प्लम्बर, पाँच जनालाई सहकारी स्वयंसेवक, ११-११ जनालाई कृषि र पशु स्वास्थ्य स्वयंसेवक, पाँच जनालाई जनस्वास्थ्य स्वयंसेवक तथा ६ जनालाई सामाजिक परिचालकको रोजगारी दिइएको छ ।

गाउँपालिकाले पहिलो चरणमा ३७० जनालाई सीपमूलक तालीमसहित ‘महासिला विकास स्वयंसेवक’ का रूपमा भर्ना गरे पनि दोस्रो चरणमा सीपमूलक तालीमसहित ३६६ जनालाई छनोट गरिएको प्रमुख प्रशाकीय अधिकृत किसान क्षेत्रीले बताए ।

महाशिला गाउँपालिकामा दुई हजार २०० भन्दाबढी परिवार बसोबास गर्दै आएका छन् । गाउँपालिकाका अध्यक्ष राजु पौडेल १५ दिनसम्म गाउँपालिकाले खटाएको काम गरेपछि मासिक रु ६ हजार तलब दिइने बताए ।

‘गाउँपालिकाभित्र आवश्यक पर्ने शिक्षकदेखि सबै जनशक्ति तयार गर्न यस्तो अवधारणा अघि सारिएको हो’, उनले भने । रोजगारी पाएका सबैको न्यूनतम रु पाँच लाख बराबरको दुर्घटना बीमा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७