‘ठमेललाई फ्री वाइफाई जोन बनाउँदैछौं’


१० पुष २०७५, मंगलवार
samir gurung 1


ठमेललाई पर्यटकीय हब बनाउन अहोरात्र लाग्दैआएका छन्–समीर गुरुङ । २ बर्षअघि ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा निर्वाचित भएका गुरुङले धेरै महत्वपूर्ण काम गरेका छन् । ठमेलमा ठूलादेखि साना सवारीको चापका कारण पर्यटकहरुलाई असहज अवस्था थियो । तर गुरुङले २०७४ कात्तिकमा स्थानीय निकाय र महानगरीय ट्राफिक प्रहरीसँग समन्वय गरी ठमेललाई सवारी साधनमुक्त क्षेत्र(भेइकल फ्री जोन) बनाए । यसअघि पटक पटक ठमेललाई भेइकल फ्री जोन बनाउन खोजिए पनि सफलता प्राप्त हुन सकेको थिएन ।

भेइकल फ्री जोन भएपछि धुलो र धुवाँ रहित ठमेलमा पर्यटकहरुको आकर्षण ह्वात्तै बढेको छ । त्यसबाहेक ठमेल क्षेत्रमा ढल निकास, खाल्डाखुल्डी पुर्नेदेखि सीसीटीभी राखेर सुरक्षा ब्यवस्था कायम गर्न पनि उनी अहोरात्र लागेका छन् । ठमेल पर्यटन विकास परिषदमा गुरुङको एक कार्यकाल आगामी माघमा पूरा हुँदैछ । उनले परिषदको नेतृत्वमा बसेर गरेको कामलाई हेरेर अर्को कार्यकालका लागि सर्वसम्मत रुपमा मौका दिनुपर्ने पक्षमा ठमेलका ब्यवसायीदेखि सरोकारवालाहरु छन् । यसैक्रममा उनीसँग ठमेलको पर्यटन विकासमा भएका कामहरुको बारेमा गरिएको छोटो संवादः

samir gurung 1


० ठमेलमा पर्यटकहरुको आगमन कस्तो छ ?
फ्री भेइकल जोन घोषणाले ठमेलको पर्यटन प्रबद्र्धनमा ठूलो योगदान पु¥याएको छ । म परिषदको अध्यक्ष भएपछि फ्री भेइकल जोन घोषणा गर्ने चुनौती थियो । फ्री भेइकल घोषणा गर्न सके धुँवा, ध्वनी प्रदूषणदेखि धुलो नियन्त्रण हुने र पर्यटकहरुको आकर्षण बढ्ने भएकाले सबैभन्दा बढी फोकस परिषदले यसैलाई ग¥यो । फ्री भेइकल जोन घोषणापछि पर्यटकहरुको आगमनमा बृद्धि भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६, १७, २६ र २७ का अध्यक्षज्यूहरु, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नागरिक समाज र स्थानीय बासिन्दासँगको सहकार्यकामा फ्री भेइकल घोषणा सफल भएको छ । फ्री भेइकल जोन घोषणापछि पर्यटक आगमनमा उल्लेख्य बृद्धि भएको छ ।

यो बर्षदेखि ठमेलमा विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) मनाउन सुरु गरिएको छ । नेपाल पर्यटन बोर्डले आगामी बर्षदेखि ठमेल पर्यटन परिषदकै आयोजनामा विश्व पर्यटन दिवस मनाउने निर्णय नै गरेको छ । पहिला ठमेलबाट ¥याली गरी पर्यटन बोर्डमा गएर बिसर्जन हुन्थ्यो । यस बर्षदेखि परिषदको प्रस्तावमा ठमेलमै महोत्सवका रुपमा मनाउन सुरु गरिएको छ । भ्रमण बर्ष २०२०को मूल नारा नै संस्कृति र पर्यटन प्रबद्र्धन भएकाले विभिन्न जनजाति समुदायलाई उनीहरुकै भेषभूषामा उतारेर कार्यक्रम सम्पन्न गरिएको थियो । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले महोत्सवमा मन्तब्य राख्नुका अलावा ठमेलका कुना कुनामा गएर अवलोकन गर्नुभएको थियो ।

ठमेल पर्यटन विकास परिषदमा तपाई अध्यक्ष भएपछि भएका कामहरु के के हुन् ?
ठमेलको सुरक्षा ब्यवस्थाका लागि सीसीटीभी क्यामरा जडान गरेका छौं । सुरुमा १९ वटा सीसी क्यामरा थियो । पछि ४० वटा थप सीसी क्यामरा जडान गरिसकेका छौं । जसका कारण पर्यटक लुटिने ठगिने क्रम पनि न्यून भएको छ । सीसी क्यामराका लागि आवश्यक सोलार पनि जडान गरिएको छ । फ्री भेइकल जोन घोषणा माथि नै उल्लेख भइसकेको छ ।

परिषदको नेतृत्वमा हाम्रो टीम आएपछि सुरुदेखि नै ठमेलको ढलनिकासको समस्या समाधान गर्न लाग्यौं । ढल ब्यवस्थापनपछि खाल्डाखुल्डी पुर्नेतिर लाग्यौं । क्वाबहाल क्षेत्रमा खाल्डाखुल्डी पुर्न बाँकी छ । त्यसमा पनि केही समयमै पुर्नेछौं । ठमेलको विकासका लागि हामी थ्री पी मोडल अर्थात् (पब्लिक प्राइभेट पार्टनरसीप) अवधारणालाई अगाडि बढाएका छौं । सुरक्षाका कामहरु, ब्यवसायलाई मर्यादित र ब्यवस्थित बनाउन सरोकारवालाहरुलाई राखेर चेतनामूलक गोष्ठी र विभिन्न कार्यक्रम गर्दैआएका छौं । परिषदले स्थानीय बासिन्दादेखि ब्यवसायी सबै सरोकारवाला स्टेक होल्डर राखेर १६ वटा उपसमिति बनाएको छ । ती उपसमितिहरुको सिफारिसमा परिषदले काम गर्दैआएको छ ।

पर्यटक आकर्षित गर्न सफा ठमेल हुनुपर्छ भन्ने मान्यताका साथ सरसफाइलाई ब्यवस्थित गर्न सबैलाई जागरुक बनाउने कार्यक्रम गर्दैआएका छौं । किचनबाट निस्कने फोहोरदेखि सबै फोहोर एकै ठाउँमा नराखी कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राखी ब्यवस्थित गर्न सबैलाई आग्रह गरेका छौं । यसलाई अभियानकै रुपमा अगाडि लाँदैछौं ।

० अध्यक्षका रुपमा यति धेरै काम गरिसक्नुभएछ, अब पुनः नेतृत्व पाएको खण्डमा ठमेलको विकासका लागि तपाईसँग के के योजना छन् ?
ठमेललाई फ्री वाइफाई जोन बनाउनेछौं । सुरक्षा ब्यवस्था अझै पूरा गर्न बाँकी छ । त्यो पूरा गर्नेछु । ५ सय वटा आधुनिक सीसी क्यामरा राख्ने योजना छ । क्यामरा जस्तै लाइभ प्रशारण गर्ने खालका आधुनिक प्रविधिका सीसी क्यामरा जडान गरिनेछ । जसले सबै ठमेलमा कहाँ के के भइरहेको छ सबै लाइभ देखिनेछ । त्यसपछि ठमेलबाट सिधै विदेशमा समेत कनेक्सन हुनेछ । ३–४ ठाउँमा स्क्रीन पनि राख्नेछौं ।

तारहरु ब्यवस्थापनको चुनौती छ, त्यसका बारेमा अध्ययन भइरहेको छ । जति केवुल नेटवर्कहरु छन्, सबैलाई एउटै फाइबरबाट जानेगरी सिष्टम विकास गर्दैछौं । जसले ठमेलको सुन्दरता बढाउनेछ । मठमन्दिरको मर्मतसम्भारदेखि पर्यटकीय वातावरण सृजना गर्ने काम गर्र्नेछु । पुराना रिक्साहरु रिफ्रेस गर्ने योजना पनि छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७