छोरीले नै छोराभन्दा बुढा आमाबुबालाई हेर्न सक्छन्


१० पुष २०७५, मंगलवार
manisha koirala
फाइल फोटो

मेरो घरमा पनि एक जना सहयोगी हुनुहुन्छ। उहाँको चार छोरी र एक छोरा छन्। उहाँको व्यवहारमा म जहिल्यै पनि विभेदपूर्ण देख्छु। छोरोलाई राम्रोसँग राख्ने, छोरीलाई घरको अन्य कामहरु धेरै लगाउने। अहिले दबाब दिएपछि उहाँले आफ्ना छोरीलाई स्कूल पठाउन थाल्नुभएको छ। कुराकानीमा भन्ने गर्नुहुन्छ, ‘छोरीहरु त विवाह गरेर, यो घर छाडेर गइहाल्छन्, बुढेसकालमा साथ दिने त छोराले नै हो नि।’

manisha koirala

मनिषा कोइराला 

हामीले यस्तो सोचलाई परिवर्तन कसरी गर्ने? छोरीलाई पढाएर सक्षम बनाउन सक्यौँ भने, सम्मानित जीवन दिन सक्यौँ भने, आत्मविश्वास भरिदिन सक्यौँ भने छोरीले नै छोराभन्दा बुढा आमा बुबालाई हेर्न सक्छन् जस्तो लाग्छ मलाई। माफ गर्नुहोला, सायद मैले यस्तो भन्नु त हुने थिएन। तर सत्य यही हो।

जकडिएको पुरातनवादी सोचका कारण हाम्रो समाजमा यस्तो भइरहेको छ। हाम्रो घर–समाज परिवर्तनका लागि यस किसिमका अन्तक्रिया हुनु पर्छ। तर महिलाहरुले पनि शिक्षा र आर्थिक स्वतन्त्रता पाए भने स्वतन्त्र र सम्मानित जीवन आफै जिउन सक्छन्। महिला र पुरुष दुबै मिलेर नै समाज परिवर्तन गर्नसक्छौँ जस्तो लाग्छ मलाई।

छाडा छड्के नजरहरु हामीमा परिरहन्छन्

त्यत्रो सार्‍हो समस्या चाहिँ मैले भोग्नु परेन। मैले आफ्नो पुस्तकको एउटा अंशमा लेखेको छु, ‘नट वन्ली थ्रु मेल गेज’ भनेर। मेरो विचारमा हाम्रा सुन्दरताहरु सबै पुरुषकै दृष्टिकोणबाट हेरिन्छन्। तपाईं ‘ग्ल्यामर फिल्ड’ को भइसकेपछि तपाईंलाई बस्तुको रुपमा हेरिन्छ। त्यसो त पुरुषहरु पनि महिलाजस्तै बस्तुबद्ध हुन्छन्।

डान्स गर्ने, शरीर देखाउने नै हुन्छन्। तर महिलाका सन्दर्भमा चाहिँ सामाजिक दृष्टिकोण अलि फरक छ। महिलालाई अलि धेरै दबाब हुन्छ। केटाकेटी हुँदादेखि नै बाटोमा हिँड्दा महिलाहरुलाई अरुले चिमोट्ने, गाडीमा चढ्दा ठेलिदिने गर्छन्। भिडमा हिँड्दा आफूलाई सुरक्षित राख्नुपर्ने समस्या केटीहरुले भोगिरहेको दिनचर्या हो।

महिलाहरु प्राय: सुरक्षित महशुस गर्दैनन्। तपाईं चाहे नायिका हुनुस् या सामान्य महिला– यसले कुनै फरक पार्दैन। तर अलि निर्लज्ज र छाडा किसिमका छड्के नजरहरु हामीमा परिरहन्छन्। यसले साँच्चै असहज बनाउँछ। मलाई लाग्छ, महिलाहरु पनि राजनीतिमा लाग्नुपर्छ। किनभने, नीति निर्माण र निर्णय लिने क्षमताका महिलाहरु भयो भने महिला अधिकारको क्षेत्रमा धेरै टेवा पुग्छ।

{पोखरामा जारी ‘लिटिरेचर फेष्टिवल’मा बलिउड अभिनेत्री मनिषा कोइरालाले राखेको विचारको सम्पादित अंश}

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७