अन्तर्वार्ता दिइरहेकै बेला उपप्रधानमन्त्रीको अनुहारमा युवतीले पानी छ्यापी दिएपछि…


४ आश्विन २०७७, आईतवार
leovaradkarr 20200920092434

डब्लिन, ४ असोज । आयरल्याण्डका उपप्रधानमन्त्रीले अन्तर्वार्ता दिइरहँदा एक अपरिचित युवती छेउमै पुगेर उपप्रधानमन्त्रीको मुखमा पानी छ्यापिदिएकी छन् ।

डब्लिनस्थित एक पार्कमा उभिएर अन्तर्वार्ता दिइरहेका उपप्रधानमन्त्री लियो भरादकारको छेउमै पुगेर ती युवतीले गिलासको पानी मुखभरी छ्यापेर भागेकी थिइन् । फेस मास्क लगाएकी ती युवतीले साथमा ‘स्केट बोर्ड’ समेत च्यापेकी थिइन् । उनको यस्तो हर्कतको भिडियो सामाजिक सञ्जालमा व्यापक रुपमा फैलिएको छ ।

उपप्रधानमन्त्री लियोले कोरोनाभाइरसका कारण सरकारले लगाएको प्रतिबन्धबारे ‘द गार्जियन’का लागि अन्तर्वार्ता दिइरहेका थिए । स्थानीय मिडियाका अनुसार ती युवतीको पूर्ण रुपमा पहिचान खुलेको छैन । भिडियोमा देखिए अनुसार ती युवती सेतो गिलासमा पेय पदार्थ बोकेर पाखुरामा स्केट बोर्ड च्याप्दै अन्तर्वार्तास्थलमा अन्तर्वार्ता क्र्यू नजिकै पुगेकी थिइन् ।

केही बेरमै उक्त गिलासको पानी लियोको अनुहारमा छ्यापेपछि तुरुन्तै भागेकी थिइन् र भारतीय मूलका उपप्रधानमन्त्री लियोले यसबारे पत्रकार सम्मेलनको क्रममा प्रतिक्रिया दिएका छन् । उनका अनुसार ती युवती आउनुअघि उनी अन्तर्वार्ता दिएर केही बेर उभिरहेका थिए ।

‘राम्रो कुरा के भने, त्यो घटना हुनुभन्दा पहिले नै हामीले काम सकिसकेका थियौँ,’ लियोले भनेका छन् । गार्जियनका अनुसार उपप्रधानमन्त्री लियोले यस घटनापछि थप सुरक्षाको माग गरेका छैनन् ।

लियोले सुरुमा ती महिला आफ्नो स्केट बोर्डका कारण पप गायिका अभ्रिल लाभिग्ने जस्तो देखिएको बताए । ‘सुरुमा त उनी अभ्रिल लाभिग्ने हुन् कि जस्तो लागेको थियो । त्यो स्केट बोर्ड र अरु हुलियाले गर्दा त्यस्तै देखियो । तर दुर्भाग्यवश् हैन रहेछ । उनीसँग एक गिलास पानी थियो, जुन मेरो अनुहारमा छ्यापिदिइन् । र मेरो कोटमा पोखियो,’ लियोले भने ।

आयरल्याण्डका अरु धेरै राजनीतिकर्मीले यस घटनाको विरोध गरेका छन् । केही नेताहरुले लियोमाथिको यो आक्रमण लोकतन्त्रमाथिको आक्रमण हो पनि भनेका छन् । आइरिस प्रहरीले भने यस घटनाबारे थप छानविन गरिरहेको जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७