ओलीको गाडी कहिले पुग्ला सिंहदरवार !


१७ पुष २०७४, सोमबार
kp sarma oli

काठमाण्डौं : माओवादीसँगको गठजोडमा चुनाव जितेका एमाले अध्यक्ष केपी शर्मा ओली अबको सिंहदरबार सम्हाल्ने दावेदार हुन् । चुनाव जितेको चिट पाएपछि अघि बढेको ओलीको गाडी अहिले देउवाको रेडलाइटले रोकिएको छ ।kp oli 1 1

चुनाव जितेको आधा महिना भए पनि ओलीको गाडीको अन्योल उस्तै छ । अर्थात तत्काल अगाडि नबढ्न देउवाले देखाएको रेडलाइटका कारण ओलीको गाडी जाममा फसेको छ । संविधानका धारा, उपधारा बुझेपछि देउवालाई अझै डेढ महिना सत्तामा बस्न पाइन्छ भन्नेमा ढुक्क लागेको छ । अझ निर्वाचन आयोगको अर्को निर्णयसँगै देउवालाई केहि दिन भए पनि सिंहदरवार बस्ने सौभाग्य मिलेको छ । मंसिरमा चुनावको बेला भोट दिने मतदातालाई के लागेको थियो भने मतगणना सकिए लगत्तै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ । चुनाव जितिन्छ भन्दै तालमेल गरेर हिंडेका एमाले र माओवादीका नेताहरुले त पुसमा वामपन्थीको सरकार बन्छ बन्छ भनेर भाषण गरेका थिए । तर, उक्त भाषण सेलाउँदै गएको छ । अहिलेको स्थितिले तत्काल सरकार गठनको बाटो खुल्ने देखिंदैन । नयाँ सरकार गठन नहुने भएकाले देउवा र उहाँका ६३ जना मन्त्रीहरु ढुक्कले गाडीमा झण्डा फहराउँदै हिंडिरहेका छन् ।

राष्ट्रियसभा गठनपछि मात्र समानुपातिकको परिणाम सार्वजनिक हुने र त्यसपछि मात्र सरकार गठनको प्रक्रिया शुरु हुने भएकाले अब माघमा सरकार बन्दैन भन्ने कुरा सबैले बुझि सकेका छन् । संविधान अनुसार संघीय संसदमा दलहरुको तर्फबाट ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजापछि मात्रै प्रतिनिधिसभा समानुपातिक तर्फको नतिजा सार्वजनिक हुने र त्यसपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने स्पष्ट जस्तै भइसकेको अवस्था छ ।

प्रक्रियाकै पासो

निर्वाचन आयोगको पछिल्लो तयारी अनुसार नयाँ सरकार बन्न कम्तिमा फागुनको पहिलो हप्तासम्म कुर्नुपर्ने छ । संविधान र कानुनले नै निर्वाचन प्रणालीलाई जटिल बनाएको हो ।

नयाँ सरकार गठन हुन प्रतिनिधिसभा बन्नुपर्छ । प्रतिनिधिसभाको लागि समानुपातिक तर्फका प्रतिनिधि चयन हुनुपर्छ । संघीय संसदमा हरेक राष्ट्रिय दलबाट एक तिहाई महिलाको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसैले ओलीको गाडी गुडिसकेको भए पनि संवैधानिक प्रक्रियाले सिंहदरवारको यात्रामा ढिलाइ हुने पक्का जस्तो भएको छ । संघीय संसद भनेको प्रतिनिधिसभा र राष्ट्रियसभा हो । त्यसैले संघीय संसदमा एक तिहाई महिलाको प्रतिनिधित्व पूरा गर्न राष्ट्रियसभा गठन हुनुपर्छ । अनि राष्ट्रियसभा सदस्य छान्न प्रदेशसभा बन्नुपर्छ । प्रदेशसभा बनाउन सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्छ । त्यसपछि मात्र राष्ट्रियसभाको चुनाव हुन्छ ।

यसरी हेर्दा नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्न अझै निकै काम फत्ते गर्न बाँकी छ । दलहरु आफैले बनाएको सविधानले नै यस्तो घुमाउरो बाटो देखाएको हो । आफैले बनाएको संविधानको यो व्यवस्था बुझ्न नेताहरुलाई दुई हप्ता भन्दा बढि लाग्यो । चुनाव सम्पन्न गर्ने आयोगलाई प्रष्ट हुन पनि उत्तिकै समय लाग्यो । संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनअघि राष्ट्रियसभा गठन हुनुपर्छ भन्नेमा त लगभग सबै प्रष्ट भैसकेका छन् । तर राष्ट्रियसभा कहिलेसम्म गठन भैसक्छ भन्ने चाहिँ अझै टुंगो छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७