सातै प्रदेशमा सरकार गठनको बाटो खुला, अब के हुन्छ प्रक्रिया ?
काठमाडौं । निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन प्रदेश प्रमुख समक्षलाई बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ ।
गएको मंसिर ४ गते भएको प्रदेश सभा सदस्य चुनावको परिणाम आज (शनिबार) एकसाथ सात वटा प्रदेश प्रमुखहरुलाई बुझाइएको हो । प्रदेश सभाका लागि भएको चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्ने व्यवस्था संविधानको धारा १८३ ले गरेको छ ।
पहिलो बैठक आह्वान गरेपछि संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ । प्रदेश सरकारको सभामुख तथा उपसभामुख चयन नहुञ्जेलसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् ।
प्रदेश सांसदहरुमध्येको ज्येष्ठ सदस्यको पहिचान प्रदेश सचिवालयले गर्नेछ । संवैधानिक व्यवस्था अनुसार सचिवालयले ज्येष्ठ सदस्यको पहिचान भएपछि ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखबाट शपथग्रहण गराउने कार्यक्रमको तयारीका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइन्छ ।
प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा १८२ को उपधार १ मा रहेको छ ।