सभामुख देवराज घिमिरेले लिए राष्ट्रपतिबाट शपथ
काठमाडौँ । सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (शुक्रबार) बिहान राष्ट्रपति कार्यालय शीतल निवासका राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखमा निर्वाचित घिमिरेलाई शपथ गराएकी हुन् ।
यस्तै नव निर्वाचित सभामुख घिमिरेले स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका छन् ।
आज उनले विज्ञप्ति निकालेर सभामुख पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराएका हुन् ।
प्रतिनिधि सभाको हिजो बिहीवारको बैठकमा नेकपा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भएका थिए ।