आज मुलुकभर पानी पर्ने, कुन–कुन स्थानमा हुँदैछ भारी वर्षा ?
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद् जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद् जन्य घटना भएको छ ।
अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरोमा परी ६ जनाले ज्यान गुमाइसकेका छन् २९ जना बेपत्ता भएका छन् । साथै पहिरोका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
६७ वटा पशुचौपाया मृत्यु भएको छ भने उक्त अवधिमा विपद्का घटनाबाट ९७ घरपरिवार विस्थापित भएका छन् । अविरल वर्षाको करण विशेष गरी पूर्वी पहाडी जिल्ला संखुवासभा, ताप्लेजुङ, भोजपुर लगायतका जिल्लामा धेरै असर गरेको देखिन्छ । मौसम भिवाको पूर्वानुमान अनुसार अझै २ दिन अविरल वर्षा हुने बताइएको छ । अहिले पनि मुलुकको बिभिन्न स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ । त्यसो त अहिले बिहान पनि मधेश र कर्णाली प्रदेशका एक दुई स्थान र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम विभागले जानकारी दिएका छन् ।
ठूलो वर्षा हुने भएको कारण सुरक्षित रहनुपर्ने पनि विभागको अनुरोध छ । आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली बादल भई विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ ।
बुलेटिनमा भनिएको छ– दिउँसो कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
मौसमविद्को अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ ।