दुई प्रतिष्ठानमा राजावादीहरुलाई नियुक्तीकाे तयारी : नेकपा निकट सांस्कृतिककर्मीहरू आक्रोशित


११ पुष २०७५, बुधबार
Khagendra Rai

काठमाडौं , ११ पुस : पञ्चायती पृष्ठभूमिका व्यक्तिहरूलाई खाली दुई प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त गर्ने तयारी भित्रभित्रै चलेपछि नेकपाका कार्यकर्ताहरूमा असन्तुष्टि चुलिएको छ ।

Khagendra Rai
जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई

सांस्कृतिक क्षेत्रमा क्रियाशील नेकपाका नेता–कार्यकर्ताले नेपाल संगीत तथा नाट्य र ललितकला प्रज्ञा प्रतिष्ठानमा आन्दोलनबाट आएका परिवर्तनकामी व्यक्तिहरूलाई लैजानुपर्ने कुरा चर्को रूपले उठाए पनि पहिला पञ्चायतलाई समर्थन गर्ने र पछिल्लो समय भने नेपाली कांग्रेससँग निकट रहेका व्यक्तिहरूलाई कुलपति बनाउन लागिएको बुझिएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कुनै समय राजा महेन्द्रको प्रिय ठानिएका व्यक्ति यादव खरेलको लगभग पक्कापक्कीजस्तै भइसकेको बताइन्छ । पछिल्लो समय भने खरेल कांग्रेसनिकट बुद्धिजीवीमा गनिँदै आएका छन् । उनको नाममा सरकारले लालमोहर लगाइसकेको थाहा पाएपछि लामो समयदेखि वामपन्थी आन्दोलनमा क्रियाशील सांस्कृतिककर्मीहरू क्षुब्ध बन्न पुगेका छन् ।

खरेल ततकालीन शाही नेपाल चलचित्र संस्थानको महाप्रबन्धक र नेपाल परिवार नियोजन संघको कार्यकारी प्रमुख, कांग्रेस नेतृत्वको सरकारका पालामा चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष र नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ भइसकेका छन् । दुई वर्षअघि उनलाई सञ्चार मन्त्रालयले नेपाली चलचित्रसम्बन्धी नीति तयार पार्न संयोजक नियुक्त गरेको थियो ।

तत्कालीन एमालेनिकट जनसांस्कृतिक महासंघले सिफारिस गरेका व्यक्तिलाई लत्याएर खरेललाई नियुक्त गर्न लागेपछि संस्कृति विभागका इन्चार्ज खगेन्द्र राईले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘प्रगतिशील खेमाले भने संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा जनकलाकार रायनको नाम सिफारिस गरेको थियो । कुलपतिका लागि रायन, रामेश र श्याम तमोटको नाम आए पनि रामेशले भने कुलपति बन्न अनिच्छा प्रकट गरेका थिए ।’

आफूलाई कुलपति बनाउन चाहनेहरूलाई उनले भनेका थिए, ‘मैले यो बीचमा धेरै काम गर्नुपर्नेछ, एकेडेमीमा गएपछि म आफ्नो काम गर्न भ्याउँदिनँ । बरु, मेरो साटो रायनलाई बनाउन पहल गर्नुहोला, उनी कुलपति बने भने मेरो पनि सहयोग रहनेछ ।’ त्यसपछि तत्कालीन एमाले र माओवादी केन्द्रको जनसांस्कृतिक संस्थाले रायनलाई कुलपति बनाउन जोड गरेका थिए । नेकपाका नेता मणि थापालगायत पनि रायनलाई कुलपति बनाउनेमा सकारात्मक बनेका थिए ।


तर, एकाएक खरेलको नाम आएपछि सांस्कृतिककर्मीहरू सरकारको आलोचना गर्न अग्रसर देखिएका छन् । कुलपतिमा शम्भुजित बाँस्कोटाको पनि नाम आएको थियो । तर, उनी अमेरिकाको डीभीवाला रहेको कुरा थाहा पाएपछि उनको सम्भावना टरेको छ । कुलपति बन्ने दौडधुपमा उनी पनि लागेका थिए ।

उपकुलपतिमा भने हरिहर शर्माको नाम अगाडि आएको बताइन्छ । वामपन्थी खेमाका नभए पनि नाट्य क्षेत्रमा लामो योगदान गरेका कारण उनलाई उपकुलपति बनाउने सम्भावना बढेको बताइन्छ । सदस्य–सचिवमा भने श्याम तमोटको नाम आएको छ । तर, स्वाभिमानी स्वभावका तमोट पञ्चायती पृष्ठभूमिका कुलपतिको नेतृत्वमा एकेडेमीमा जालान् कि नजालान्, यसै भन्न नसकिने बताइन्छ । प्राज्ञ परिषद् सदस्यहरूमा अशोक राई, देशभक्त खनाल, नमुना शर्मा, धीरेन्द्र प्रेमर्षिलगायतको चर्चा छ ।

यसैगरी, ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा विवादास्पद व्यक्ति विजय थापाको नाम अगाडि आएको छ । पञ्चायतकालदेखि नै एकेडेमीमा जमेर बसेका थापा २०६२/६३ को जनआन्दोलनको विरुद्धमा लागेका थिए । जनआन्दोलनको विरोध गर्दै उनले विज्ञप्ति निकालेका थिए । तर, तिनै व्यक्तिलाई कुलपति बनाइन लागिएको बताइन्छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रका कलाकर्मीहरूले भने कुलपतिमा केके कर्माचार्यको नाम सिफारिस गरेका थिए । कर्माचार्यको नाममा टिपेक्स लगाइने समभावना बढी रहेको बुझिएको छ । त्यस्तै, सदस्य सचिवमा लालकाजी लामाको नाम सिफारिस भए पनि उनको पनि कमै सम्भावना रहेको बताइन्छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले एक हप्ताअघि नै पूर्णता पाइसकेको छ । तीनवटै प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै बनाउने भनिए पनि पछिल्लो समयमा भने तीनवटै प्रज्ञा प्रतिष्ठान गठन गर्न सरकार इच्छुक देखिएको थियो । तीनवटा प्रज्ञा प्रतिष्ठानलाई गाभ्दा जनआन्दोलन २०६२/६३ को भावनाविपरीत हुने भन्दै विरोध भएपछि सरकार तीनवटै प्रज्ञा प्रतिष्ठान गठन गर्न तत्पर देखिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७