अल्झिएको एक ढिक्का आँसु


प्रकाशित मिति : September 26, 2017

कसैले सोध्यो भनेके होला भयको दर्शन ? भयको मनोबिज्ञान ? भयको सीमा ?
ठाडै भनिदिन्छुथाहा छैन ।किन निभय मात्र भय हो मेरा लागि । केवल त्रास । केवल अनिश्चितता । केवल त्रासद शन्नाटा । मैले भोगेको त्यही हो । गुड्दै गरेको मोटरसाइकल एकाएक अनकन्ट््रोल हुन्छ अनि पछारिन्छ । अघि पछिका पनि उसै गरी धरमरिन्छन् अनि भकाभक ढल्छन् । त्यसपछि शुरु हुन्छ शन्नाटा साथै भयको एकछत्र राज । केही सेकेन्डमै भयले यसरी छोप्छ कि म ढुन्मुनिदै समाउन पुग्छु नजिककै एक अपरिचितको हात । निरन्तर डगमगाइरहेको छ जमिन । वरपरका अग्ला घरहरु हावामा हल्लिएको पातझैँ फिल्फिलाउदै छन् ।
( यसै बखत हो मैले साहै नराम्रोसँग भयको सामना गरेको । त्यसकारण भय मात्र भय हो मेरा लागि । )


सामान्य दिन छ शनिवारको । असामान्य भइदिन्छ अचानकै त्यो सामान्य दिन । सायद प्रत्येक डरलाग्दो घटना एउटा सामान्य दिनमा नै घट्छ कि ? जसरी घट्छ कोत पर्व, जसरी हुन्छ राजा बिरेन्द्र बंश बिनाशको हत्या काण्ड अथवा जसरी आउछ १२ बैशाख २०७२ शनिवारको बिनाशकारी महाभुकम्प । सामान्य समय कहिलेकाही यसरी नै असामान्य पनि भइदिनेरहेछ ।

स्वीकार वा इन्कार गरौँ, जीवन अप्रत्यासित घटनाहरुकै श्रृखला रहेछ । कल्पे जस्तो जिन्दगी र योजना अनुसारको काम भए दुःख र पीडाको सायदै अस्तित्व हुन्थ्यो होला । तर बेफिक्रि जीवनले लाउछ र टेरपुच्छर ।.यस्तै त भयो १२ बैशाख २०७२ को शनिवारीय मध्यान्हमा । गइत गयो महाभुकम्प ।

टक्कै अडिन्छ चलिरहेको जीवन । भसक्कै हुन्छन् लामो इतिहास बोकेका धरोहरहरु ।  झ्याप्पै निभिजान्छन् धेरैका जीवन । अँध्यारिन्छन् करोडौ मन । म आफैले पनि मुस्किलले ज्यान जोगाउछु । सबैलाई आफ्नै ज्यान प्यारो । काठमाण्डौलाई त्यस्तै छाडेर पुगिजान्छु आफ्नै गाउँ धादिड. छत्रेदेउराली ४ को खोके कामिटार । काठमाण्डौंबाट केवल १५ किलोमिटरको दुरीमा रहेको शान्त मेरो गाउँ ।  शान्त त रहेछ तर पहिलेको जस्तो सुन्दर शान्त नभई मसानको जस्तो त्रासद सन्नाटामा विलिन । ४० घर धुरीमा धरमरिदै मुस्किलले ठडिरहेका केही बाहेक सबै माटोमा ।  मन त अमिलिन्छ नै यस्तो देख्दा । भय र अनिश्चितताले उस्तै जकडेको देख्छु यहाँ पनि जसरी जकडेकोछ राजधानीलाई । आफ्नो पीडा त छदैछ एकातिर तर आँखा अघिल्तिरको भट्टराई गाउँ झन् गहिरो शोकमा डुबेको छ । थामिन्छ कसरी र छिमेकिको मन । म त्यतै दौडिन्छु ।

घटनाको केही मिनेट अघिसम्म पनि जीवन जीवन जस्तै थियो । गाहे, तीतो, गुलियो, अनि मीठो पनि । खेतमा काक्रासँगै हलक्कै बढेको मकैँका हरिया पातहरु बैशाखे बतासमा सुस्त हल्लिरहेका थिए । पाक्दै गरेको काफल गेडीको सन्देश काफल पाक्यो भन्दै चरीले दिदै थियो । किसानहरु निकै ब्यस्त थिए मेलापात र लगाएको विकास ( काउली, काक्रा, सिमी, टमाटर आदि ) टिप्न । तरकारीले राम्रै भाउ पाएकोमा किसानहरुको मन गद्गद थियो ।  बैशाखे चर्को घाममा पनि धेरै जना खेतबारीको चटारोमै अल्झिएका थिए । स्कुले केटाकेटी केही दिन पछि शुरु हुने नयाँ शैक्षिक सत्रका लागि सरसफाइमा मा लागेका थिए । कोही भने बिहानीको मेला सकेर हतार हतार गाँस टिप्दै थिए । तरएकाएक डग्मगाउँछ सारा गाउँ । कोही खेतबारी मै लाट्टिन्छन् । कोही घरभित्रै लडिजान्छन् । कोही चिच्याउदै बाहिर दौडिन्छन् । केही क्षणमै भट्टराई गाउँको २१ घर धुरी गर्लम् गर्लम् ढल्दै धुलोको कुहिरी मण्डलमा पुरिन्छ । ती घरहरु भित्र भएका सबै जसो लड्दै पढ्दै बाहिरीए पनि एउटा घरको ४ जन घरभित्रै पुरिन्छन् । एक मिनेटको अन्तरालमा नै जीवन अर्कै हुन्छ ।
अनि जीवन सोचे जस्तो छ त ?त्यही ढलेका घरहरुबाट निस्किएको धुलोको मुस्लो जस्तो पो हो कि जीवन एकै छिनमा वायुमण्डलमा विलाइ जाने । एक सेकेण्ड अघिसम्म पनि आफैसँग भएको सासको त्यान्द्रोलाई फ्यास्सै छाड्नु पर्ने ।.

खवटे अनुहार, तिलचामले केश, झुस्स उम्रिएको दाह्री जुड.्गा, औंलाको चेपमा मस्त धुवाँइरहेको पाइलट चुरोट, फत्तक्क गलेको स्वर र अबरुद्ध गलाबाट निस्कदै गरेको गहैं बोली । उनी शिव भट्टराई ।  आँखै अघि घरको भित्ता गर्लम्मै ढलेर थिच्यो बुहारी र नातिनीलाई । मैले केही गर्न सकिन ।
उनको स्वरमा कम्पन छ । झर्ने तर्खर गर्दै अल्झिएको छ आँसु आँखै डिलमा । त्यही अल्झिएको एक ढिक्का आँसुले उनको पीडाको गहिराई बोल्दैछ । म एकछिन मौन अडिन्छु । साँच्चै कति कठिन हुँदो हो त्यो क्षण जब आँखा अघि आफन्तलाई मृत्युले झम्टिन्छ अनि आफु केवल रमिते हुन्छौ ।. सायद यही नै हो मानिसको क्षमताको सीमा ।

जीवन लगभग टुड.गिने क्षणसम्म सास धान्दा भयको कुन सीमा पार गर्नु पर्दो हो ? शिवले भने भयका सारा सीमा पार गर्दै थामिरहे आफ्नो सास । घटनाको साढे दुई घन्टापछि अर्धचेत अवस्थामा बाहिर निकालिन्छन् उनी । तर त्यस्तो अवस्थामा पनि आफ्नो पीडा भन्दा आँखै अघि ढलेको भित्ताको झल्कोले उनी मर्माहत हुन्छन् । अर्को घटनाले त उनलाई अधमरो नै बनाइहाल्छ । झन्डै चुडिन्छ जीवनको डोरी । उनकी बुहारी र नातिनी मात्रै हैन छोरो पनि त्यही घरमै पुरिएछन् । तीन घण्टा पछि तीन जनाको मृत शरीर निकालिन्छ अफ्नै घरबाट । भर्खरै बोल्ला जस्ता अनुहार सबैकै । सजिलै मृत्युलाई आत्मसाथ गरे जस्ता ।

जम्मा चार बर्षकी नातिनी प्रसिद्धिको कुरो उप्क्याउदा फेरि एक पटक भक्कानिन्छन् शिब । थामिनु पनि कसरी र मन ।. पुतली जस्तै प्रसिद्धिकाको मीठो बोली बिलाएको छ । उनको चंचले भाव र नानाथरीका उत्सुक प्रश्न्हरु सदाको लागि बिदा भएका छन् । उनको उपस्थितिले उज्यालिएको घर आज खण्डहर भएको छ । नियति कहिलेकाही यति क्रुर पनि भइदिदो रहेछ । कुवेलामै झरेको एउटा कोपिलाझैं प्रसिद्धिका । मेरो त मन चोइटिएको छ, त्यो परिवारको कसरी अडिनु र झन् । प्रसिद्धिका जेठो छोराकी छोरी । दिन आएपछि त्यस्तै पो हुन्छ कि । कहिल्यै आन्टीसँग नसुत्ने उनी त्यस दिन खाना खाएपछि आन्टीसँगै पछि लागेर सुत्छिन् । सुतेको पन्ध्र मिनेट पनि नहुदै भुकप्म जान्छ । भुकम्पसँगै उनीहरु पनि जान्छन् सदाका लागि ।

शिबको बृद्ध आँखामा जमिरहेकै छ आँसुको पोखरी । उनको यो गहिरो पीडामा मैले केवल लामो सुस्केराले साथ दिन सकेकी छु । जम्मा जम्मी कल्पनै मात्र त गर्न सक्छु म एउटा बृद्ध बाबुको पीडा जसको चार महिना पहिले मात्रै बिवाह बन्धनमा बाधिएका २८ बर्षे छोरो प्रकाश र २२ बर्षे बुहारी सृजना गुमेको छ । दुःख पनि कस्तो कस्तो रुप फेरेर हामीसँग जिस्किन आइपुग्छ ।. बरा ती भर्खरै जीवन शुरुवात गर्दै गरेका नवबिवाहित जोडी ।. थिए होलान् मुरीका मुरी सपना र योजनाहरु, महत्वाकाक्षाहरु …

केही बर्ष कुवेतमा काम गरी फर्केका जोशिला र महत्वाकांक्षी प्रकाश । नाम जस्तै उज्यालिरहन सकेनन् । अस्ताइगए । संगालेका सारा सपना त्यसै छाडी अकस्मात् टुड.्गिन्छ उनको जीवन । सबैथोक हावासरी अदृश्य हुन्छ । गहिरो सास लिदै बोल्छन् शिब  अब त सोचिसाध्य छैन । सारा सपनाहरु अधुरै रहे ।
पक्का हो । उनका छोरा, बुहारी र नातिनीले बाँच्नु पर्ने जीवन अधुरै रह्यो । उनीहरुका खुसी र दुःखहरु प्नि थाती भए ( हुने भए अर्को जुनीको लागि ) । १२ कक्षा पास गरेकी बुहारीको पढ्ने इच्छा त्यस्तै भयो । प्रसिद्धिकाले सिक्दै गरेको कखरा पनि टुड.्गियो । सबै कुरा थाती रहे । यहाँ रहेनन् त केवल बाँच्नु पर्ने ती जीवनहरु ।
हाम्रो केही घण्टाको बातचित पछि भने शिबको स्वारमा अलिकलित सहजता आएको हो कि जस्तो लाग्छ । यथार्थलाई क्रमिकरुपमा आत्मसाथ गरेको जस्तो बुझ्छु । उनी आफ्नै लागि मीठो सहानुभुति बोल्छन् । जानेले छाडेर गए पनि आफु त बाँच्नै पर्ने रहेछ । अब सम्झनामै बित्ने भए बाँकी दिनहरु ।

बाँच्नु त पर्छ नै । रोएर सुकीनजाने रहेछ पीडाको मुहान । बैरागिएर मात्रै पनि त नछोटिने रहेछ आफ्नो आयु । यो अभिशाप भनौ या वरदान जस्तो आइलागे पनि बेहोर्नु पर्ने नै रहेछ आफ्नो अवस्था । जानेहरुले भोगेर गए आ आफ्नो भाग । नहुने रहेछ हाम्रो हातमा जन्म र मृत्यु ।
त्यसैलेबिस्तारै सम्हालिदैछन् छन् शिब । केही समयको हाम्रो भलाकुसारीमा लगभग आठ खिल्ली पाइलट चुरोट सल्काउछन् उनी । भुलाउछ कि भा धुवाँले उनको बिथोलिएको मन । चुरोट च्यापेकै हात उठाएर मलाई बिदा गर्छन् । म भने एक पटक फेरि निह्याल्छु उनी बसिरहेको छाप्रो । परालमा ओछ्याइएको तन्नाको बिछ्याउना । लडिरहेका केही बेजोडी चप्पलहरु । भन्किरहेको झिँगाको झुण्ड । अनि उनको मन जस्तै अस्तब्यस्त छरिएका केही कपडाहरु…

प्रतिक्रिया दिनुहोस्