भोट हाल्न काठमाडौंबाट आठ लाख मतदाता जिल्ला फर्किए


१० मंसिर २०७४, आईतवार
election nepal 1

काठमाडौं : पहिलो चरणअन्र्तगत आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट ८ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार दुई सातादेखि बाहिरिने क्रम बढेको छ ।

election nepal 1

‘हिमाली र उच्च पहाडी ३२ जिल्लामा हुने निर्वाचनमा मतदान गर्न दुई हप्तादेखि जिल्ला फर्किनेहरुको क्रम बढेको छ, करिब ८ लाख त फर्किसके,’ उनले भने । विकट जिल्लाहरूमा पुग्न लामो समय लाग्ने भएकाले पनि मतदान हुनुभन्दा धेरै पहिलेदेखि नै जाने क्रम बढेको यातायात व्यवसायीहरूको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो हप्ता (आइतबारदेखि शनिबार बेलुकीसम्ममा) ३ लाख मानिस बाहिरिएका छन् । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीका अनुसार पछिल्ला २–३ दिनदेखि काठमाडौंबाट बाहिरिने टाढा पुग्ने मतदाता नभई नजिकका जिल्ला जानेहरू हुन् । विशेषगरी दोलखा, सिन्धुपाल्चोक, रामेछाप, गोरखा, रसुवा, धादिङ, नुवाकोटका मतदाता एक दिनमै पुग्ने भएकाले अन्तिम समयमा गएको उनको भनाइ छ ।

शनिबार राति १२ बजेपछि यातायात बन्द
पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा शनिबार राति १२ बजेदेखि सार्वजनिक यातायात बन्द गरिएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । आइतबार राति १२ बजेसम्म यातायात बन्द रहनेछ । अत्यावश्यक सेवा, एम्बुलेन्सलगायत निर्वाचन आयोगबाट सवारी पास लिएका सवारीसाधनलाई भने आवातजावत गर्न दिइने महाशाखा प्रवक्ता मरासिनीले बताए ।

मुख्य राजमार्गमा समस्या छैन
सडक विभागका अनुसार आइतबार मतदान हुने जिल्ला आवातजावत गर्ने राजमार्गमा भने समस्या नभएको जानकारी दिएको छ । दसैँ–तिहारपछि देशभर सडक सुचारु रहेको विभागका सहप्रवक्ता रमेशकुमार सिंहले जानकारी दिए । धेरैका लागि समस्या बनेको मुग्लिन–नारायणगढ सडक सुचारु छ । उक्त सडकखण्डमा अहिले यात्रुबाहक बसलाई २४ घन्टा खुला गरिएको छ । त्यस्तै, ट्राफिक प्रहरीले शनिबार बेलुकीसम्म कुनै प्रकारको दुर्घटना नभएको जानकारी दिएको छ । ट्राफिक प्रहरीले सिटभन्दा बढी यात्रु राख्ने, बढी गतिमा हाँक्नेलाई जरिवाना गरिरहेको र व्यवस्थित बनाइरहेको दाबी गरेको छ ।

पार्टी कार्यकर्तादेखि विद्यार्थीसम्म बाहिरिए
मतदानमा भाग लिन घर जानेमा सबैभन्दा धेरै पार्टी कार्यकर्ता छन् । त्यस्तै, काठमाडौंबाट बाहिरिनेमा कर्मचारी, निजी कम्पनीमा काम गर्नेहरू र काठमाडौंमा बसेर अध्ययन गरिरहेका विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको यातायात व्यवसायीहरू बताउँछन् । जिल्ला फर्किने धेरैले ‘रिजर्भ’ सवारीसाधन प्रयोग गरेका छन् । कतिपय उम्मेदवारले नै घर फर्कनका लागि सवारीसाधनको व्यवस्था गरेका छन् । प्रायः सबै पार्टीले बस रिजर्भ गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७