तीन घेरामा निर्वाचन सुरक्षा


१० मंसिर २०७४, आईतवार
election security

काठमाडौं : चार सुरक्षा निकायको समन्वयमा कडा सुरक्षाबीच आइतबार ६ वटा प्रदेशका ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । निर्वाचनमा म्यादी प्रहरीबाहेक सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी १ लाख ७० हजार सुरक्षाकर्मी सुरक्षार्थ खटिएका छन् । म्यादी प्रहरी मात्रै ९८ हजार २ सय ६८ जना चुनावमा खटिएका छन् । election security

चुनाव बिथोल्ने समूहले बुथ कब्जादेखि मतदानस्थलमा बम विस्फोट, मतपेटिका लुटपाट र उम्मेदवार अपहरण गर्नेसम्मका चुनौती आकलन गरेर सुरक्षाकर्मी खटिएका छन् । हाल चुनाव भइरहेका ३२ जिल्लामध्ये प्रदेश नम्बर ७ र ४ सुरक्षा चुनौतीका दृष्टिले अन्य प्रदेशको तुलनामा त्यति संवेदनशील मानिएका छैनन् ।
बाँकी चार प्रदेश क्रमशः १, ३, ५ र ६ नम्बर प्रदेश सुरक्षा चुनौतीका दृष्टिले संवेदनशील मानिएका छन् । जसअनुसार प्रदेश नम्बर १ का संखुवासभा, ताप्लेजुङ, पाँचथर, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा नेत्रविक्रम चन्द नेतृत्वको ‘विप्लव’ माओवादी चुनाव बिथोल्न सक्रिय हुने सूचनाका आधारमा सुरक्षाकर्मी खटाइएको छ ।
त्यसैगरी, प्रदेश नम्बर ५ को रुकुम (पूर्वीभाग) र रोल्पा, प्रदेश नम्बर ६ को रुकुम (पश्चिम भाग), जाजरकोट, जुम्ला र कालिकोटलाई पनि केन्द्रीय सुरक्षा समितिले अति संवेदनशील जिल्लाको सूचीमा राखेर सुरक्षाकर्मी परिचालन गरेको छ । प्रदेश नम्बर ७ का चुनाव हुने जिल्ला दार्चुला, बझाङ, बाजुरा र बैतडी विकट पहाडी जिल्ला भएकाले चुनाव बिथोल्ने समूहले मतपेटिका लुटपाट गर्न सक्ने र उम्मेदवारकै अपहरण गर्नसक्ने आशंकामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
चुनाव हुने जिल्लामा गृहसचिव मोहनकृष्ण सापकोटासँगै तीन वटा सुरक्षा निकायका प्रमुख र सेनाका वरिष्ठ अधिकृतले निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा सापकोटाले चुनावमा कुनै पनि कमीकमजोरी हुन नदिन सम्बन्धित जिल्लाका प्रहरी प्रमुख र प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । विशेषगरी मतदातालाई सजिलोसँग मतदानस्थलसम्म पुर्‍याउने, उम्मेदवारको सुरक्षा, मतपत्रको सुरक्षा र मतदान सकिएपछि मतपेटिका गन्तव्यसम्म सुरक्षित पुर्‍याउन कुनै किसिमको त्रुटि हुन नदिन सापकोटाले विशेष ध्यान दिन निर्देशन दिएका छन् ।
त्यसैगरी, मतदानस्थलवरिपरि शंकास्पद गतिविधि गर्ने जो-कोही भए पनि तत्काल नियन्त्रणमा लिएर सोधपुछ गर्नसमेत सुरक्षाकर्मीलाई निर्देशित गरिएको गृह मन्त्रालयले जनाएको छ । केन्द्रीय सुरक्षा समितिले तीन घेरामा सुरक्षा व्यवस्था मिलाएको छ । पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेना खटिएका छन् । राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी भने मतदानस्थलवरिपरि शंकास्पद गतिविधि गर्नेमाथि सूक्ष्म निगरानी गर्नेछन् । विभागका कर्मचारीसँगै तीन वटै सुरक्षा निकायबाट सादा पोसाकमा सुरक्षाकर्मी मतदानस्थलमा खटाइएको मन्त्रालयले जनाएको छ ।
निर्वाचन सुरक्षाबारे जानकारी दिन गृहले शनिबार साँझ गरेको पत्रकार सम्मेलनमा गृहसचिव सापकोटाले तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिँदै निरन्तर स्थल र हवाई गस्ती गरिने बताए । उनले भने, ‘निष्पक्ष, भयरहित र विश्वसनीय ढंगबाट चुनाव सम्पन्न गराउन चुस्त सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन बिथोल्ने कुनै घटना भए १० देखि ३० मिनेटमा सुरक्षाकर्मी घटनास्थल पुग्नेछन् ।
केन्द्रीय सुरक्षा निर्वाचन सेल र केन्द्रीय सुरक्षा समितिको समन्वयमा सुरक्षाकर्मी खटिनेछन् ।’ मन्त्रालयका अनुसार चुनावमा ६४ हजार सेना, ६८ हजार ६ सय ७८ जना प्रहरी, ४२ हजार ८ सय ९१ सशस्त्र प्रहरी र ९८ हजार १ सय ७६ जना म्यादी प्रहरी खटाइएको छ । उनले चुनाव व्यवस्थित गर्न क्षेत्रमा क्षेत्रीय प्रशासकोक कमान्डमा, जिल्लामा प्रमुख जिल्ला अधिकारीको कमान्डमा निर्वाचन सुरक्षा सेल गठन भएर काम थालिसकेको बताए ।
उनले विगतका चुनावमा गरिएका सुरक्षा अभ्यासको पनि विश्लेषण गरेर सुरक्षाकर्मी परिचालन गरेको बताए । उनले भने, ‘ढुक्कले मतदान गर्न मतदातासँग आग्रह गर्छु । सुरक्षामा कुनै त्रुटि नहुने व्यवस्था मिलाइएको छ ।’
मन्त्रालयका अनुसार अत्यावश्यक सवारीसाधन (एम्बुलेन्स, पानीका ट्यांकर, दूध बोक्ने गाडी, ग्यास, दमकललगायत), निर्वाचन कार्यालयबाट निर्वाचनकै लागि खटिने, प्रयोग हुने पासवाला सवारीसाधन, सुरक्षा निकायका सवारीसाधनलाई मात्रै गुड्न दिइने जनाएको छ ।

अन्नपूर्ण पाेष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७