फेरि अर्को लफडामा रवि लामिछाने


२० पुष २०७५, शुक्रबार
Rabi Lamichane

काठमाडौं, २० पुस : सधै चर्चामा आइरहने सञ्चारकर्मी रवि लामिछाने फेरि विवादमा तानिएका छन् । पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएसँगै रवि विवादमा परेका हुन् । रविले श्रीमतीसँग डिभोर्स गरेको सामाजिक सञ्जालबाट खुलाएका छन् । तर, इशाले भने त्यसको खण्डन गर्दै भनेकी छिन्, ‘अर्को एकजना महिलासँग इन्गेजमेन्ट गरेपछि मलाई दबाब दिएर डिभोर्स गराए ।’

Rabi Lamichane

रविले २३ बर्ष र १५ बर्षका दुईवटी छोरीकी आमा ईशासँग वैवाहिक सम्वन्ध बिच्छेद गरेका छन् । तर, श्रीमती ईशाले भने रविको दबाबमा सम्बन्ध बिच्छेद गर्नु परेको बताएकी छिन् । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् ।

श्रीमती ईशाले डिभोर्सको कारण खुलाएपछि लामो प्रष्टीकरणको शैलीमा उनले श्रीमतीसँग डिभोर्स भएको खुलाएका छन् । तर, उनले घुमाउरो भाषामा आफ्ना दुई छोरीकी आमा ईशालाई आरोपित समेत गरेका छन् । भनेका छन्, ‘मेरो डिभोर्सका कारण अनेक र लाजमर्दा छन्। ‘

आफ्नो डिभोर्सका कारण एक होइन, अनेक र लाजमर्दा रहेको बताएका छन् । लेखेका छन्, ‘अमेरिका मै रहदा अलग बसेका हामी बिगत १० वर्ष देखि नै अलग छौं । कारण र घटना एउटा होइन अनेक छन् । जति छन् । ती अत्यन्तै लाज मर्दा छन् । ती बिदेशी मुलकी पुर्व प्रेमिका र मेरो बिचमा एक सन्तान पनि छ ।’ कस्तो लाजमर्दा कारण हो ? त्यो भने उनले खुलाएका छैनन् ।

उनले सांकेतिक रुपमा श्रीमतीप्रति आरोपित गर्न खोजेका छन् । लेखेका छन्, ‘दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र।तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौ जुन गल्तीले सारा घटनाहरु घटे र हाम्रो बिवाह भएको वर्षहरु त बढे तर सम्बन्ध कहिलेपनि अघि बढेन ।’

रविकी पूर्वपत्नी ईशाले भने चलचित्र विकास बोर्डमा कार्यरत एक डिभोर्सी महिलासँग लागेर रविले आफूलाई जबरजस्ती डिभोर्स दिएको गुनासो गरेकी छन् । लामिछानेले आफुलाई मात्र नभई अरु महिलालाई पनि बरबाद पारेको उनको दाबी छ । सञ्चार माध्यमहरुलाई उनले भनेकी छिन्, ‘मसँगै हुँदा पनि उस्ले अरु दुईवटा महिला राखेको थियो । एकजना अमेरीकी महिलाको नाम लैला सर्जाद हो । त्यो महिलातर्फ पनि रविको एउटा छोरो छ ।’ विदेशी मुलका श्रमतीबाट एक सन्तान रहेको रविले स्वीकार गरेका छन् ।

रबिले आफूलाई दबाब दिएको पनि ईशाले बताएकी छिन् । उनले भनेकी छिन्, ‘तिमिहरुको ममिले डिभोर्स नदिए अमेरीकाको सबै घर मै लिन्छु, अनी तिमिहरुको बिजोग हुन्छ भनेर छोरीहरुलाई धम्कायो त्यसपछि मैले छोरीहरुको मुख हेरेर, उनीहरुको भविष्य सम्झेर मेरा खुसी डिभोर्स पेपरमा बन्धक राखेँ ।’

डिभोर्सका लागि रविका सहयोगी र उनले विहे गर्न लागेका महिलाहरुको सहयोगी हात धोएर लागेको इशाको दाबी छ । उनले भनेकी छिन्, ‘मलाई रातदिन च्याटमा रविलाई छाडि दे रविलाई भने । उनीहरुले पनि पैसामा मलाई पन्छाउन लागि परेका हुन् ।’

रविले भने ईशासँग डिभोर्स गर्दा आफ्नो सबै सम्पत्ति सुम्पेको दाबी गरेका छन् । लेखेका छन्,‘मैले आफ्नी पूर्वपत्नीसहित आफ्ना सन्तानलाई अमेरिकाजस्तो देशमा आफू नेपाल बसेर सम्पूर्ण आफ्नो जायजेथा सुम्पेर, अझै अमेरिका बस्दाको पुरै व्यवस्थापन यतिबेलासम्म पनि गर्दै आएको छु । अदालतमा न्यायाधीशका सामुन्ने राजीखुशीले मसँग भएको र सायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रोहबरमा सम्वन्धविच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिनँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७