जाजरकोटमा अनौठो अभियान : सासु-बुहारी अन्तरक्रिया


२३ पुष २०७५, सोमबार
sasu

जाजरकोट, २३ पुस । सासु र बुहारीबीच हुने द्वन्द्वलाई कम गर्न जिल्लाको नलगाड नगरपालिकाले सासु–बुहारी अन्तरक्रिया सञ्चालन गरेको छ ।

sasu

नगरपालिकाले प्रत्येक वडा, टोल पुगेर सासु, बुहारीलाई सँगैसँगै राखेर अन्तरक्रिया गर्दै आएको छ । गाउँभरीका सासु, बुहारीसँगै राखेर दैनिक अन्तरक्रियामार्फत आपसी समझदारी गर्दै भएका समस्यालाई खुलेर राख्नुका साथै एकले अर्कालाई राम्रोसँग बुझ्ने काम भएको नगरपालिकाले बताएको छ ।

नगर प्रमुख टेकबहादुर रावलले भने, ‘सासु, बुहारीको द्वन्द्वले नै घरमा अशान्ति र विभिन्न हिंसाजन्य काम भएकाले यसलाई कम गर्नु पहिलो काम हो, घर शान्ति नभई गाउँ शान्ति हुँदैन ।’

नगर प्रमुख रावलका अनुसार गाउँगाउँमा जति हिंसाका कुरा सार्वजनिक हुन्छन्, ती सबै सासु, बुहारीको द्वन्द्वकै कारणले गर्दा देखिने गरेको छ । अहिले प्रत्येक टोलमा गएर सासु, बुहारी, ससुरा समेतलाई सँगै राखेर छलफल गर्ने काम भइरहेको छ ।

छलफलका क्रममा अधिकांशले एकले अर्कालाई नबुझ्दा झगडा हुने गरेको बताएका छन् । झगडा समाधानका लागि सहजकर्ताको भूमिका खेल्ने अर्को व्यक्ति नहुँदा द्वन्द्व बढ्ने गरेको सहभागीले बताएका छन् । अहिले बुहारी भएको व्यक्ति भोलि गएर सासु नै हुने कुराको ज्ञान नहुँदा समस्या आएको अन्तरक्रियामा सहभागी ससुराहरूले बताएका छन् ।

घरमा असमझदारी बढ्दा, झगडाका साक्षी रहेका सानासाना बालबालिकामा मानसिकरूपमा असर पर्नुका साथै उनीहरूको स्वभाव पनि झगडालु हुने गरेको महिला तथा बालबालिका कार्यालयका प्रमुख सकुन्तला आचार्यले बताइन् ।

श्रीमान, श्रीमती, सासु, ससुरालाई सँगै राखेर नगरपालिकाका १३ वटा वडामा अन्तरक्रिया कार्य जारी राखेको आचार्यले बताइन् । अन्तरक्रियामा सहभागीले एकले अर्कोलाई दोष दिनुभन्दा समस्या कहाँ भएको हो त्यो कुरामा छलफल गर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७