शिक्षक सेवा आयोग : तीन महिनापछि खुल्ला विज्ञापनको यसरी हुँदैछ कापी परीक्षण


२४ पुष २०७५, मंगलवार
teacher aayog

काठमाडौं, २४ पुस । शिक्षक सेवा आयोगले परीक्षा लिएको तीन महिनापछि बल्ला खुल्लातर्फ कापी परीक्षण थालेको छ ।

teacher aayog

शिक्षक सेवा आयोगले सोमबारबाट खुल्ला विज्ञापनको कापी परीक्षणको काम थालेको जनाएको छ । काठमाडौं उपत्यकाका छुट्टा छुट्टै तीन स्थानमा कापी परीक्षण शुरु भइरहेको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिएका छन् ।

काठमाडौंको विश्व निकेतन र रत्नराज्य विद्यालय तथा भक्तपुरस्थित आयोगकै कार्यालयमा सोमबारबाट कापी परीक्षणको काम शुरु भएको उनले बताएका छन् । नतिजा प्रकाशनको काम चाँडै सक्ने गरी आवश्यक परेमा अन्य स्थानमा पनि परीक्षणको ब्यवस्था गर्न सकिने उनको भनाई छ । यसअघि ताहाचलस्थित जनप्रभात माविमा परीक्षण गरिएको थियो ।

गएको असारमा भएको खुल्ला विज्ञापनको परीक्षा असोजमा भएको थियो । माविको असोज ११ गते, निमाविको १२ र प्राविको १३ गते परीक्षा लिइएको थियो । यही बीचमा अस्थायी शिक्षकको परीक्षाको प्रक्रियागत काम सक्नु पर्दा खुल्लाको काममा केही प्रभाव परेको आयोगका पदाधिकारीले जानकारी दिएका छन् ।

आइतबार काठमाडौं उपत्यकाको लिखित नतिजा प्रकाशन गरेसँगै अस्थायीको लिखितको नतिजा सार्वजनिक गर्ने काम सकिएको छ । त्यसपछि आयोगले खुल्लाको कापी परीक्षण थालेको हो ।
कूल १२ हजार ७ सय ३९ पदका लागि भएको विज्ञापनमा २ लाख ८२ हजारले आवेदन गरेका आयोगले जनाएको छ । प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ पदमा आयोगले विज्ञापन गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७